कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिटीलाई नर्विचको झट्का

एएफपी

लन्डन — बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा आइतबार एभर्टनलाई ३–१ ले पराजित गरेको छ । कालुम विल्सनले दुई गोल गर्दै बर्नमाउथलाई विजय दिलाए ।

म्यानचेस्टर सिटीले शनिबार राति लिगमा जनवरीयताको पहिलो हार बेहोरेको थियो । उसलाई हालै बढुवा पाएको नर्विच सिटीले ३–२ ले स्तब्ध पार्‍यो । सिटीको यो हारपछि लिग तालिकामा लिभरपुलले पाँच अंकको अग्रता खोलेको छ । लिभरपुलले न्युकासललाई ३–१ ले हराएको थियो ।


क्यारो रोडमा सिटीको कमजोर रक्षापंक्ति छर्लङ्ग देखिएको थियो । ‘आज पक्कै पनि क्लबका लागि विशेष दिन सावित भयो,’ नर्विचका प्रशिक्षक ड्यानियल फार्केले भने । नर्विचलाई केनी म्याकलिन र टड कान्टवेलले गोल गर्दै सुरुआती अग्रता दिलाए । लगत्तै सिटीका सर्जियो एगुरोले एक गोल फर्काए । तर टिमु पुकिले नर्विचका लागि तेस्रो गोल थपे । खेलको अन्त्यतिर रोडरीले सिटीका लागि सान्त्वता गोल गरे ।


इटाली

मिलान– इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा १० खेलाडीमा सीमित युडिनेजीलाई शनिबार १–० ले हराएर शीर्ष स्थानमा आफ्नो कब्जा कायम राख्यो । यसअघि चोटका कारण च्याम्पियन्स लिगको ठीक अगाडि तीन खेलाडी गुमाएको युभेन्ट्स फियोरेन्टिनाको घरमा गोलरहित बराबरीमा रोकिएको थियो ।


इन्टरको जितमा भने स्टेफानो सेन्सीले निणार्यक गोल गरे । एन्टोनियो कोन्टेको इन्टरले तीन खेलमा हात पारेको यो लगातार तेस्रो जित हो । अर्को महत्त्वपूर्ण खेलमा नेपोलीले साम्पडोरियामाथि २–० को जित निकाल्यो । त्यसमा ड्रिस मार्टेन्सले दुई गोल गरे । बराबरीले भने युभेन्ट्स सात अंकमै रोकियो ।


स्पेन

म्याड्रिड– करिम बेन्जेमाले दुई गोल गरेपछि स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार लेभान्टेलाई ३–२ ले हरायो । रियलका लागि इडेन हजार्डले लिगमा डेब्यु पनि गरे । बार्सिलोनाले अर्को खेलमा भ्यालेन्सियालाई ५–२ ले पन्छायो । त्यसमा बार्सिलोनाका १६ वर्षीय खेलाडी आन्सु फाटीले फेरि चमत्कारी खेल प्रदर्शन गरे ।


बर्नाबाउमा रियलले कासेमिरोको गोलले अग्रता लियो भने बेन्जेमाले छ मिनेटको अन्तरमा दुई गोल गरे । तर लेभान्टेले बलियो पुनरागमन गर्दै दुई गोल फर्काए । यसअघिका दुवै खेल जितेको लेभान्टेका लागि बोरजा मायोरल र गोन्जालो मेलेरोले गोल गरे । ‘दोस्रो हाफमा हामीले आज संघर्ष गर्नुपर्‍यो ।


तर खेलमा प्राप्त जितले हामीलाई उत्साहित बनाएको छ,’ रियल प्रशिक्षक जिनेदिन जिदानले भने । एटलेटिको म्याड्रिड भने रियल सोसिडाडसँग २–० ले पराजित भयो ।


नु क्याम्पमा प्राप्त जितमा भने लियोनल मेसी दर्शकदीर्घामा थिए र उनकै अगाडि किशोर खेलाडी फाटीले सुरुआत गोल गरे र लगत्तै अर्को गोलका लागि सहयोगी भूमिका निर्वाह गरे । एक घण्टाका खेलपछि मैदान छाड्दा घरेलु दर्शकले उनलाई उठेर अभिवादन गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?