१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रत्नजित र रशिला च्याम्पियन

सुम्निमा चाम्लिङ

इटहरी — आर्मीका रत्नजित तामाङले नवौं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधि जितेका छन् । उनले लगातार आठौंपल्ट उपाधि जितेका छन् । 

रत्नजित र रशिला च्याम्पियन

इटहरीस्थित शनिबार कर्भडहलमा फाइनल खेलमा राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामीलाई २१–१९, २१–१३ को सोझो सेटमा हराए । उनले ५० हजार र दीपेशले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र आर्मीका नवीन श्रेष्ठ तेस्रो भए । उनीहरूले१२ हजार ५ सय रुपैयाँ पाए ।


पुरुष खुला एकलतर्फ आर्मीका पवन लिनथेपले कैलालीका देवराज रानालाई १९–२१, २१–११, २१–११ ले पराजित गर्दै उपाधि जितेका छन् । एपीएफका प्रियांशुसिंह क्षेत्री र नीराजन देवकोटा तेस्रो भए । महिलातर्फ कैलालीकी प्रार्थना देउवाले उपाधि जितिन् । जेस्ट ब्याडमिन्टनकी मनीषा खड्काले खुट्टामा चोट भएको कारण खेल परित्याग गरेसँगै उपाधि प्रार्थनाको पोल्टामा गयो । बाँकेकी सुष्मा श्रेष्ठ र जेस्टकी सफी खत्री तेस्रो भए ।


पुरुष युगलतर्फ आर्मीका रत्नजित र नवीनले उपाधि जितेका छन् । उनीहरूले दीपेश र विजित थापा मगरको जोडीलाई १६–२१, २१–१७, २१–१२ को सेटमा हराए । बाँकेका रियाज अन्सारी र इरफान अन्सारी तथा आर्मीका रुकेश महर्जन र प्रफुल महर्जनको जोडीले तेस्रो भए ।


छात्र यू–१७ तर्फ एपीएफका प्रियांशुसिंह क्षेत्रीले उपाधि जिते । उनले कैलालीका अमृत चौधरीलाई २१–१२, १८–२१, २१–१२ ले हराए । कञ्चनपुरका हिमाल चन्द र आर्मीका भोजबहादुर गुरुङ तेस्रो भए । विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गरेका छन् ।


भेट्रान्स युगलतर्फ वीरेन्द्रसिंह विष्ट र महेश वज्राचार्यले उपाधि जितेका छन् । उनीहरूले धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठलाई १८–२१, २१–१९, २१–११ ले हराउँदै उपाधि जिते । इलामका दर्शन भक्तराज र सन्जय भक्तराज तथा आर्मीका सुवास श्रेष्ठ र रुद्र थिङको जोडीले तेस्रो स्थान हासिल गरे ।


महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले उपाधि जितेकी छिन् । उनले नङसलदेवी तामाङलाई हराउँदै आठौं संस्करणमा पाएको हारको बदला लिएकी छन् । रशिलाले २१–१६, २१–१५ को सेटमा जित पाइन् । एपीएफकी जेशिका गुरुङ र राजधानी युथ क्लब मोरङका सीमा राजवंशीले तेस्रो स्थान भेटे ।


महिला युगलतर्फ एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङले उपाधि जितेका छन् । उनीहरूले आर्मीका रशिला महर्जन र रन्जना भट्टको जोडीलाई २१–१२, २१–१३ ले हराए । आर्मीका अमिता गिरी र अनुमाया राई तथा राजधानी युथका सम्झना शर्मा र सीमा तेस्रो भए । महिला/पुरुष खुला एकल तथा युगल तर्फका विजयी खेलाडीले क्रमशः २० हजार, १० हजार र ५ हजार पुरस्कार पाए ।


गर्ल्स यू–१७ तर्फ आर्मीकी रशिला महर्जनले उपाधि जितिन् । उनले राजधानी युथकी सीमा राजवंशीलाई २१–५, २१–३ ले हराइन् । राजधानी युथकी रोज पाण्डे र आर्मीकी रञ्जना भट्ट तेस्रो भए । यू–१७ का प्रथम, दोस्रो, तेस्रो क्रमशः १० हजार, ७ हजार र ४ हजार पुरस्कार जिते । विजेतालाई राष्ट्रिय खेलकुद परिषद सदस्य–सचिव रमेशकुमार सिलवालले पुरस्कृत गरेका थिए ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?