कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै पुनः नेतृत्वको जिम्मेवारी पाएका हुन् । जीवनरामले १७ मत ल्याए भने उमेशलालले १० मत मात्रै ल्याए ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ

दुईपल्ट राखेप सदस्यसचिव नियुक्त भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद हुन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन् ।

यस्तै उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन् । उनीहरुले क्रमशः २६, २२, २०, १८ र १५ मत प्राप्त गरे । यस्तै समिम मियाँ अन्सारीले १२, पुष्पदास श्रेष्ठ र राजीव श्रेष्ठले ११/११ मत ल्याए । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी संवैधानिक मर्मविपरीत उपाध्यक्षको प्रत्याशी बनेका थिए। ५ उपाध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।


महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन् । उनले १५ मत प्राप्त गरे । उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे । निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन् ।

ओलम्पिक चुनाव आज : एउटै पार्टीको लडाइँ

एथलेटिक्स संघबाट प्रतिनिधि बनेका राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना उपमहासचिव र भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् ।


त्यस्तै सचिव पदमा दीपकहर्ष बज्राचार्य, तुलसा थापा, रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उसु फेडेरेसनका अध्यक्ष तथा निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट भने पराजित भएका छन् । बज्राचार्यले २५, थापाले २१, श्रेष्ठले १८ र विष्टले १७ मत पाएका थिए । १ मतले विष्ट पराजित भएका हुन् । संघीय सांसद समेत रहेकी थापा नेपाल कबड्डी संघकी अध्यक्ष हुन् । उनी नेकपा उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि हुन् ।


यस्तै सदस्यहरुमा रमेश सिवाकोटी, राम अवाले, प्रकाशशम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्घबहादुर केसी निर्वाचित भएका छन् । मनोरञ्जन रमण शर्मा भने पराजित हुन पुगेका छन् । ७ जनाको सिटमा ८ जनाको उम्मेदवारी परेको थियो ।


एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका २७ प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गरेका थिए । रोचक पक्ष के रह्यो भने यसपालिको चुनावमा २७ मतदातामध्ये २६ जना उम्मेदवार बनेका थिए । दुई कार्यकाल अध्यक्ष भइसकेका जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबै उम्मेदवार बनेका थिए ।


अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।


भदौ २० गते हुनुपर्ने निर्वाचन सर्वोच्च अदालतमा रिट परेपछि शनिबारका लागि सारिएको थियो। जीवनराम नेतृत्वको कमिटी अवैधानिक भएको दाबीसहित परेको रिटमा सर्वोच्चले भदौ २२ मा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दा खारेज गरेपछि ओलम्पिक चुनावको बाटो खुलेको हो । चार वर्षअघि पनि विवादका कारण ओलम्पिक चुनाव निर्धारित मितिभन्दा एक महिना पर धकेलिएको थियो ।


निर्वाचनको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए) को प्रतिनिधि आएका थिए ।


नेपाली ओलम्पिक इतिहासमै प्यानलसहितको चुनावी प्रतिस्पर्धा पहिलोपल्ट भएको हो ।


प्रकाशित : भाद्र २८, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?