हाइप्रोफाइलको ओलम्पिक मोह

राजु घिसिङ

काठमाडौँ — नेपालको शासकीय स्वरुपमा कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिका (अदालत) आधार हुन् । तीनै व्यवस्था उत्तिकै शक्तिशाली हुन्छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ व्यवस्थापिकाका सदस्य (संघीय सांसद) हुन् ।

हाइप्रोफाइलको ओलम्पिक मोह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उनी कांग्रेसका नविन्द्रराज जोशीलाई हराएर काठमाडौं ८ मा बाट निर्वाचित भएका थिए । त्यसअघि स्थानीय चुनावमा उनलाई नेकपाले काठमाडौं महानगरको मेयरको उम्मेदवारीको लागि तीन जनाको सूचीमा राखेको थियो ।


शनिबार हुने एनओसी कार्यसमितिको निर्वाचनमा यिनै जीवनरामविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् उमेशलाल श्रेष्ठ ।

नेकपाको केन्द्रीय सदस्य र महानगर इन्चार्जसमेत हुन् जीवनराम । उमेशलाल पार्टी राजनीतिमा सक्रिय छैनन् तर नेकपानिकट हुन् । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र नेतृ सहाना प्रधानका छोरा हुन् ।


अहिले नेकपामा अध्यक्ष केपी शर्मा ओलीको खास मान्छे हुन् उनी । नेकपाभित्र माधवकुमार नेपालका पुरानै धारमा हिँडिरहेका छन् जीवनराम । त्यसैले एनओसी निर्वाचन कम्युनिस्ट पार्टीभित्रको गुटगत शक्तिको खेलजस्तै पनि देखिएको छ ।


देशको खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख (सदस्य–सचिव) पनि भए जीवनराम । उनी पहिलोपल्ट सदस्यसचिव भएसँगै २०५३ सालमै छोटो अवधिका लागि एनओसी अध्यक्ष पनि बनेका थिए । उनी त्यति बेलादेखि नै नेपाली खेलकुदमा राजनीतिका खास खेलाडी बनेका हुन् । हरेक संघमा उनले प्रभाव देखाए ।


सदस्य–सचिव छँदै एनओसीका महासचिव बन्न पुगेका उनले ओलम्पिकमा महासचिव र अध्यक्षको बागडोर सम्हालेको १२ वर्ष भइसक्यो । उनी चार वर्षअघि उनै उमेशलाललाई १७–९ भोटले हराएर एनओसी अध्यक्ष भएका थिए र त्यो नै एनओसीमा मतदान भएको पहिलो अवसर थियो ।


राजनीतिक उचाइमा जीवनरामले फड्को मारे पनि उमेशलालको कम्युनिष्ट नेताका सन्तानबाहिरको प्रोफाइल पनि प्रभावशाली छ । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (वस्तुगत) हुन् र उनलाई यहाँ भावी नेतृत्वको रूपमा हेरिएको छ । उनले औषधी व्यवसायी संघको नेतृत्व पनि हाँके । उनी हक्की संघ र जीवनराम स्की संघको अध्यक्ष भइसकेको धेरै भइसकेको छ ।


विश्व खेलकुदको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को मान्यताबिना ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता नै सम्भव हुँदैन । यस्तो प्रभावशाली संस्थाको सदस्य हो नेपाल ओलम्पिक कमिटी । आईओसीले एनओसीलाई वार्षिक ३–४ करोड रुपैयाँ उपलब्ध गराउँछ ।


योजनाअनुसार अरु कार्यक्रमलाई पनि रकम दिन्छ । तर दसौं करोड बजेट चलाउने संस्था भने होइन एनओसी । एनओसीमा यसपल्ट एक सदस्य थपिएर २७ पुर्‍याइएको छ ।


खेलकुद गतिविधि धेरै हुने संघभन्दा यहाँ चुपचाप बस्ने अनि विदेश सयरमै सीमित भएका संघको बाहुल्य छ एनओसीमा । साउनको साधारणसभाले एनओसीको कार्यसमिति सदस्यमा दुई बढाएर १९ पुर्‍याइयो । र, यसका लागि २७ प्रतिनिधिमध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन् ।


एनओसीको मुख्य आकर्षण आईओसीको खर्चमै ठूला प्रतियोगिता र विभिन्न कार्यक्रमको बहानामा बेला–बेला विदेश सयर गर्न पाइरहनु पनि हो । उच्च पदका पदाधिकारीलाई पत्नीसहित यात्रा गर्ने सुविधा पनि हुन्छ । ओलम्पिकको यस्ता यात्रा भीआईपीको रूपमा हुने गर्दछ र त्यस क्रममा विश्वकै प्रभावशालीका व्यक्तिहरूसँग भेटघाट हुने गर्छ । त्यसैले पनि एनओसीप्रतिको मोह बढेको बताइन्छ ।


अध्यक्षमा श्रेष्ठद्वय मात्रै होइनन्, अरु पदमा पनि यसपालि शक्तिशाली व्यक्तिहरू चुनावी मैदानमा छन् । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी उपाध्यक्षका उम्मेदवार हुन् । संवैधानिक आयोगको प्रमुख भएर पनि एनओसीमा रहिरहने चाहनालाई अर्थपूर्ण रूपमा लिन सकिन्छ । संघीय सांसद तुल्सी थापाले सचिवमा उम्मेदवारी दिएकी छन् ।


उनी नेकपाका उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुन् । उनीसँगै प्रतिस्पर्धा गर्दै छन्, खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट । परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना उपमहासचिवमा निर्विरोध भइसकेका छन् । खेलकुद संघहरूको विवाद मिलाउने जिम्मेवारी पाएका उनी त्यसलाई आफ्ना लागि अवसरको रूपमा प्रयोग गर्दै एनओसी पुगेका हुन् ।


महासचिवमा ट्रायथलनका नीलेन्द्रराज श्रेष्ठ र कराँते महासंघका पुरेन्द्रविक्रम लाखे प्रत्याशी छन् । लाखे हाल उपाध्यक्ष छन् । पदीय वरीयतामा तल भए पनि कार्यकारी हैसियतका लागि महासचिवमा उम्मेदवारी दिएको उनको दाबी छ । नेपालका धेरै खेल संघमा लामो समयदेखि एउटै व्यक्ति वा त्यही समूह हाबी छन् । यस्तो प्रवृत्तिले नेपाली खेलकुदमा पद र शक्तिप्रतिको लोभलाई छर्लंगै पार्छ ।


नेपाल ओलम्पिक कमिटी (एनओसी) सन् १९६२ मा स्थापना हुँदाका संस्थापक अध्यक्ष थिए अधिराजकुमार वसुन्धरा शाह । उनीपछि कुमार खड्ग विक्रम, शरदचन्द्र शाह, इन्दुबहादुर शाही र युद्धविक्रम शाहले ओलम्पिक कमिटीको नेतृत्व गरे । उनीहरू दरबारकै प्रतिनिधि थिए । अर्थात् ३१ वर्षसम्म नेपाल ओलम्पिक कमिटी दरबारभित्रै रह्यो । त्यसपछि तत्कालीन खेलकुदमन्त्री गोविन्दराज जोशी सन् १९९३ मा एनओसी अध्यक्ष बने ।


त्यस्तै काठमाडौंका मेयर हुनुअघि केशव स्थापितले पनि ओलम्पिकको नेतृत्व गरे । फेरि मन्त्रीकै रूपमा जोशी नै आए । सुवर्ण शम्सेरका छोरा रुक्मशम्सेर राणाले पनि दुई कार्यकाल नेतृत्व लिए । जीवनरामअघि दुई कार्यकाल नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधानले नेतृत्व गरेका थिए । अध्यक्षबाहेक अरु पदमा हाई–प्रोफाइलहरू चुनावी मैदानमा ओर्लिएको यसैपालि हो ।

प्रकाशित : भाद्र २८, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?