३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्यान निर्वाचन– 'भाइरस ननिस्किए विवाद समाधान’

आईसीसी टोली आइतबार आउने
विनोद पाण्डे

काठमाडौँ — भाइरस ननिस्किए नेपाल क्रिकेट संघ (क्यान) को विवाद यसै साता टुंगो लाग्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले दाबी गरेका छन् । 

क्यान निर्वाचन– 'भाइरस ननिस्किए विवाद समाधान’

असोज ३ र ४ गते साधारणसभामार्फत हुनेक्रममा रहेको क्यानको निर्वाचनमा परिषद्ले ध्यानाकर्षण भएको जनाएपछि नेपाली क्रिकेटको सर्वोच्च निकायको चुनावी स्थिति अन्योल बनेको थियो ।


आईसीसीको सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत हुन लागेको क्यान निर्वाचनमा परिषद्को सहमति नलिएको, राखेपको निर्वाचन समिति नराखेको र निर्वाचनका लागि २१ दिन सूचना प्रकासित नगरेकोमा सदस्य–सचिव सिलवालले आपत्ति जनाएका थिए ।


‘भाइरस निस्किएन भने सजिलै क्यानको विवाद समाधन हुन्छ,’ सिलवालले शुक्रबार कान्तिपुरसँग भने । उनले क्यानको पछिल्लो स्थितिलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का कार्यवाहक प्रमुख इमरान ख्वाजा र प्रतिनिधि अमर शेख आइतबार काठमाडौं आउन लागेको जानकारी गराए । साढे तीन वर्षदेखि क्यान निलम्बन रहेयता ख्वाजा र शेख दुवै नेपाली क्रिकेटलाई निकास दिने अभियानमा नियमितजसो काठमाडौं आउने गरेका छन् ।


‘आईसीसीसँग छलफल गरेर मैले निमन्त्रणा दिएको छु । उहाँहरू आइतबार आउनुहुनेछ र हामी सोमबार वर्तमान क्यानबारे छलफल गरेर समाधनमा पुग्छौं । उहाँहरू पनि सकारात्मक छन् मेरो प्रस्तावमा । आफूखुसी निर्वाचन गर्दा अराजकता फैलिन्छ, पद्धतिमा जानुपर्छ भनेको छु । मैले उठाएको विषय उहाँहरूले ठीक हो भन्नुभएको छ । आईसीसी टोलीलाई प्रधानमन्त्रीलाई पनि भेटाइदिन्छु, यसले क्रिकेटको समस्या समाधानमा निकास दिन सहयोग पुग्नेछ,’ सिलवालले भने ।


उनले नेपाली क्रिकेटमा धेरै भाइरस रहेको सुनाए । ‘भाइरस धेरै छन् क्रिकेटमा, भाइरस निस्किए भने क्रिकेट विवाद शतप्रतिशत समाधन हुन्छ, त्यसैले अलि–अलि एन्टी भाइरस हाल्नुपर्छ,’ असार २३ मा सदस्य–सचिवमा नियुक्ति पाएदेखि सिलवालले क्रिकेटको भाइरसहरू पत्ता लगाएर सार्वजनिक बहिस्कार गर्नुपर्ने बताउँदै आएका छन् ।


सिलवालले यसै विषयलाई लिएर शुक्रबार क्यानका पूर्व अध्यक्ष चतुरबहादुर चन्दसँग पनि भेटघाट गरेका थिए । सदस्य–सचिवसँगको छलफलपछि आफू क्रिकेट विवाद टुंगिनेमा धेरै सकारात्मक रहेको चन्दले जनाए । ‘खेलकुदको सर्वोच्च निकाय परिषद् भएकाले निर्वाचन विषयबारे उसलाई समयमै जानकारी गराइएको भए हुन्थ्यो । भोलि त्यही संस्थासँग मिलेर काम गर्नुपर्ने भएकाले जुहारी खेलेर काम छैन,’ चन्दले भने, ‘विवादरहित तरिकाले जो भए पनि आउनुपर्छ भन्ने भनाइ राख्नुभयो । त्यसले मलाई धेरै आशावादी बनाएको छ ।’


परिषद्ले आईसीसी टोली बोलाएकाले त्यसले अहिलेको स्थितिलाई अझ स्पष्ट पार्ने चन्द बताउँछन् । सदस्य–सचिवसँगको भेटेपछि दसैंअघि नै क्यान निर्वाचन हुने आफ्नो विश्वास पलाएको उनले सुनाए । ‘परिषद्लाई पनि विश्वासमा लिनुपर्‍यो, निर्वाचन रोक्ने मेरो कुनै मनसाय छैन भन्नुभयो, कुराचाहिँ शतप्रतिशत सकारात्मक गर्नुभएको छ, अब हेर्दै जाउँ,’ चन्दले भने, ‘सर्वसम्मततिर जानुपर्‍यो म पनि पहल गर्छु भन्नुभएको छ । कुनै पूर्वाग्रह छैन भन्नुभयो ।’

प्रकाशित : भाद्र २८, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?