कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ यू–१८ च्याम्पियनसिप : उपाधि रक्षाको लक्ष्य

दीपक परियार

पोखरा — दुईपल्ट साफ यू–१८ च्याम्पियनसिप जितेको नेपाली युवा टोलीले यसपल्ट पनि उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । तेस्रो संस्करणलाई नेपाली युवा खेलाडीहरू बन्द प्रशिक्षणका पोखरामा छन् । 

साफ यू–१८ च्याम्पियनसिप : उपाधि रक्षाको लक्ष्य

यू–१८ का २५ खेलाडीले आइतबारदेखि प्रशिक्षण गरिरहेका छन् । टोलीले सुरुका दुई दिन विजयपुर सैनिक ब्यारेकमा प्रशिक्षण गरेको थियो ।


ब्यारेकको मैदान व्यवस्थित गर्न समय लागेकाले बुधबारदेखि दोबिल्लामा रहेको सहारा एकेडेमीको मैदानमा प्रशिक्षण भइरहेको छ । बन्द प्रशिक्षणका लागि काठमाडौंमा छनोट भएका खेलाडी पोखरा आएका हुन् । पोखरा आएको ३० सदस्यीय टोलीमा २५ खेलाडी, ३ प्रशिक्षक र २ अफिसियल छन् ।


टोलीका गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । डिफेन्समा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अन्जन महर्जन छन् भने मिडफिल्डरमा शिशिर लेखी, दीपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनीष थापा, कुशल फुँयाल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनीष डाँगी रहेका छन् ।


२५ बाट राष्ट्रिय टोलीका लागि २३ खेलाडी छानिने छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । टिमको नेतृत्व अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य रुपेश अधिकारीले गरेका छन् ।


दक्षिण एसियाका ६ राष्ट्रको सहभागितामा साफ यू–१८ च्याम्पियनसिप असोज ३ देखि १२ सम्म सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुँदै छ । समूह ‘ए’ मा नेपालसहित माल्दिभ्स र भुटान छन् । भारत, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल असोज १० मा हुनेछ । फाइनल असोज १२ मा हुनेछ । उद्घाटन खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।


टोलीमा समावेश मनीष डाँगी कोरियाको यू–१७ को टिमबाट खेलिसकेका खेलाडी हुन् । देशका लागि खेल्ने भन्दै उनी नेपाल आएका छन् । टिममा उनी सबैभन्दा भरपर्दा खेलाडी मानिएको छ । मुख्य प्रशिक्षण चेतनारायणका अनुसार नेपालको एट्याकिङ राम्रो छ । मिडफिल्डर जय गुरुङ, शिशिर लेखी, मनीष डाँगी आशालाग्दा छन् ।


‘हाम्रो एट्याकिङ राम्रो छ,’ उनले भने, ‘फरवार्ड र मिडफिल्ड पनि राम्रो छ, अझै डिफेन्सलाइन झनै बलियो छ ।’ डिफेन्सको बेञ्च केही कमजोर भएको उनी स्वीकार्छन् । समूह विजेता हुँदै उपाधि रक्षा गर्ने टिमको लक्ष्य रहेको उनले सुनाए । भारत र बंगलादेशलाई चुनौतीको रूपमा उनी लिन्छन् । ‘यसपल्ट टिम पहिलोभन्दा अझै बलियो भएको छ,’ उनी भन्छन्, ‘उपाधि रक्षा गर्न सबै हिसाबले टिम मजबुत छ ।’


काठमाडौंका अधिकांश मैदान खाली नभएपछि टोली पोखरा आएको हो । मुख्य प्रशिक्षक श्रेष्ठ एकै ठाउँ प्रशिक्षण गराउँदा खेलाडीमा नैराश्यता आउनसक्ने भएकाले फरक ठाउँ छानेको बताउँछन् । ‘पोखराको मैदान राम्रो छ, वातावरण पनि राम्रो छ,’ उनी भन्छन्, ‘यस्तो वातावरणमा प्रशिक्षण लिँदा खेलाडीमा ताजगीपन आउँछ ।’


अन्तर्राष्ट्रिय अनुभवका लागि विदेश जाने तयारी गरेपछि यसपल्ट ढिला भएको उनले बताए । सहारा क्लबले सञ्चालन गरिरहेको एकेडेमी मैदानलाई १३ औं सागमा सहभागी हुने महिला फुटबल टोलीको प्रशिक्षण र अभ्यास खेलका लागि विकल्पको रूपमा हेरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले हालै मैदानको अवलोकन गरेका थिए ।


तयारीकै सिलसिलामा टोलीले बिहीबार कास्की जिल्लाको लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्यो । टोलीले लिग च्याम्पियन आदर्श युवा क्लबलाई १०–१ ले पराजित गर्‍यो । सहारा एकेडेमीकै मैदानमा भएको खेलमा टोलीले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल गरेको थियो । प्रशिक्षकले दुवै हाफमा फरक–फरक सेट खेलाडी मैदानमा उतारे । यू–१८ ले तयारीस्वरुप नै अर्को खेल आइतबार पोखरा ११ सँग खेल्नेछ ।

प्रकाशित : भाद्र २८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?