कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन : दीपेश र रत्नजित भिड्दै

सुम्निमा चाम्लिङ

इटहरी — राष्ट्रिय च्याम्पियन एपीएफ क्लबका दीपेश धामी नवौं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधि नजिक पुगेका छन् । शुक्रबार इटहरीस्थित कभर्डहलमा पुरुष एकलतर्फ दीपेशले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१–१२, २१–१४ को सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरेका हुन् ।

पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन : दीपेश र रत्नजित भिड्दै

उपाधिका लागि दीपेशले आर्मीका रत्नजित तामाङसँग प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका आर्मीका रत्नले आफ्नै टिमका नवीन श्रेष्ठलाई २१–१४, २१–१९ ले हराए ।


दीपेशले युगलतर्फ विजित थापा मगरसँग मिलेर बाँकेका रियाज अन्सारी र इरफान अन्सारीलाई २१–१५, २१–१७ ले हराए । रत्न र नवीनले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनलाई २१–१५,२४–२२ ले हराए । युगलतर्फ पनि दीपेश र रत्नको जोडी भिड्ने छन् ।

पुरुष खुल्लातर्फ आर्मीका पविन लिनथेप र कैलालीका देवराज राना फाइनलमा पुगेका छन् ।


पविनले एपीएफका प्रियांशुसिंह क्षेत्रलाई १९–२१, २१–११, २१–१८ ले र देवराजले एपीएफका नीराजन देवकोटालाई २२–२०, २१–१८ ले हराए । सोही इभेन्टको महिलातर्फ जेस्ट ब्याडमिन्टन एकेडेमीकी मनीषा खड्का फाइनल पुगेकी छन् । उनले बाँकेकी सुष्मा श्रेष्ठलाई कडा स्पर्धाबीच २२–२०, १३–२१, २१–१७ ले हराइन् । मनीषाले उपाधिका लागि कैलालीकी प्रार्थना देउवासँग प्रतिस्पर्धा गर्ने छिन् । प्रार्थनाले जेस्ट ब्याडमिन्टनकी सफी खत्रीलाई २१–१६, २१–१० ले हराइन् ।


छात्र यू–१७ उपाधिका लागि कैलालीका अमृत चौधरी र एपीएफका प्रियांशुसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुनेछ । अमृतले कञ्चनपुरका हिमाल चन्दलाई २१–१०, २१–१८ ले र प्रियांशुले आर्मीका भोजबहादुर गुरुङलाई २१–१५, २१–१९ ले हराए ।


भेट्रान्स युगलतर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाइनल पुगेको छ । किरण र योगेश्वरले इलामका दर्शन र सञ्जय भक्तराजको जोडीलाई २१–१४, २१–१० ले हराए । पाल्पाका वीरेन्द्रसिंह विष्ट र महेश वज्राचार्यले सुभाष क्षेष्ठ र रुद्र थिङलाई २२–२०, १९–२१, २१–६ ले हराए ।


रशिला तीन उपाधि नजिक

महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले जेशिका गुरुङलाई २१–१७, १८–२१, २१– १३ ले हराएर फाइनल तय गरिन् । उनी यू–१७ तर्फ राजधानी युथ क्लब मोरङकी रोज पाण्डेलाई २१–९, २१– १६ ले हराएर दोस्रो उपाधि दाबेदार बनेकी छन् । रशिलाले उपाधिका लागि महिला एकलमा आठौ संस्करणकी विजेता नङसलदेवी तामाङसँग प्रतिस्पर्धा गर्ने छिन् ।


रशिलालाई नङसलसँग आठौं संस्करणको बदला लिने अवसर छ । नङसलले राजधानी युथ क्लब मोरङकी सीमा राजवंशीलाई २१–१७, २१– १२ ले हराइन् । यू–१७ तर्फ रशिलाले राजधानी युथकी सीमासँग उपाधिका भिडन्त गर्ने छिन् । सीमाले आर्मीकी रन्जना भट्टलाई १६–२१, २१–१६, २१–१४ ले हराउँदै रशिलासँगको उपाधि भेट तय गरेकी हुन् ।


महिला युगलतर्फ रशिला र रन्जनाले बाँकेकी सम्झना र मोरङकी सीमाको जोडीलाई २१–१५, २१–१७ ले हराउँदै उपाधिका लागि एपीएफकी जेशिका गुरुङ र पूजा श्रेष्ठसँगको भेट पक्का गरेका छन् । जेशिका र पूजाको जोडीले आर्मीकी अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१५, ११–२१, २१–१७ ले हराए ।

प्रकाशित : भाद्र २८, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?