१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यान निर्वाचनमा अन्योल थपिँदै

विनोद पाण्डे

काठमाडौँ — निम्बलनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निकास प्रक्रिया लम्बिने देखिएको छ । साढे तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बित नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले निर्धारित तालिकाअनुसार काठमाडौंमा असोज ३ र ४ मा साधारणसभामार्फत नयाँ नेतृत्व पाउँदै थियो । 

क्यान निर्वाचनमा अन्योल थपिँदै

क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बन गरेको छ । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउने क्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रकृया अगाडि बढाएको थियो, जसअनुसार अर्को शनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो ।

स्वतन्त्र समितिमा तत्कालीन क्यानबाट ठाकुरप्रताप थापा, राष्ट्रिय खेलुकद परिषद् र खेलकुद मन्त्रालयको तर्फबाट एलबी क्षेत्री प्रतिनिधि रहेका थिए । अन्य तीन सदस्य आईसीसीका थिए । स्वतन्त्र समितिले बुधबार एक राष्ट्रिय दैनिकमा असोज ३ र ४ मा साधारण सभामार्फत निर्वाचन गर्ने सूचना प्रकासित गरेको थियो । त्यसमा परिषद्ले ध्यानाकर्षण भएको जनाएपछि क्यानको निर्वाचन प्रक्रिया अन्योल बनेको छ ।


‘सूचना निकालेपछि परिषद्ले छलफलमा बोलाएको थियो । राखेपले मुख्य गरी तीन विषयमा असहमति राखेको छ । त्यसमा परिषद्को सहमति नलिई निर्वाचन गर्न सक्नु हुन्न, निर्वाचन समिति राखपेको हुनुपर्छ र निर्वाचनका लागि २१ दिने सूचना चाहिने भनेको छ,’ स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले भने, ‘निर्वाचनका लागि सहमति लिन समस्या छैन । प्रदेश निर्वाचन सकिएको ३० दिनभित्र केन्द्रको सक्नुपर्छ भन्ने व्यवस्था छ । तर निर्वाचन समिति परिषद्को हुनेमा ठाडै अस्विकार छ, त्यो विधानविपरीत हुन्छ । विधानमा ७ दिने सूचना निकालेर साधारणसभा गर्न सकिने स्पष्ट छ । २१ दिने गर्दा दसैं बीचमा पर्छ ।’


उनले पछिल्लो स्थितिबारे आईसीसीलाई रिपोर्टिङ गएको बताए । अक्टोबर १३ मा हुने आईसीसी बैठकलक्षित गर्दै जतिसक्दो क्यानको निर्वाचन गर्ने पक्षमा स्वतन्त्र समिति रहेको श्रेष्ठको भनाइ थियो । उनले साधारणसभा र निर्वाचनका लागि परिषद्को स्वीकृति नलिइएको प्रस्ट्याए । ‘जिल्ला र प्रदेशको निर्वाचनलाई पनि स्वीकृति लिनुपर्थ्यो भन्ने दाबी अहिले आएर आएको छ । ४ महिनामा केही भनिएन, अहिले केन्द्रको निर्वाचनको विषय आएको छ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘संक्रमणकालीन अवस्था हो अहिले । नियमित अवस्था हो भने राखेपले नै निर्वाचन समिति तोक्ने हो ।’


क्यानको निर्वाचन भने पनि आफूहरूसँग कुनै सर–सल्लाह नगरेको परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बताए । ‘केहीअघि आईसीसीले मसँग कुरा गरेको थियो । स्वतन्त्र समिति भनेको जे पायो त्यही गर्न होइन । त्यो समितिको सीमितता छ । कुनै पनि खेलकुद संघको राष्ट्रिय अधिवेशन गर्दा परिषद्बाट स्वीकृति लिनुपर्छ । त्यो लिइएको छैन । दोस्रो भनेको निर्वाचन समिति परिषदले बनाइदिनुपर्छ । यो बनाउनेक्रममा स्वतन्त्र समितिलाई राखिदिउँला म,’ सिलवालले आक्रोश पोखे, ‘खेलकुदको सर्वोच्च निकायबिना कसरी चुनाव हुन्छ ? स्वतन्त्र समितिले गरेर मात्र हुँदैन । पत्रिकामा सूचना छापेपछि हामीले थाहा पाउने हो र ?’


उनले अगाडि भने, ‘अहिलेको स्थिति लिएर आईसीसीले म्यासेज पठाएको छ, फुर्सद हुनेबित्तिकै सम्पर्क गर्नेछु । स्वतन्त्र समिति भनेर जे मनलाग्यो त्यही गर्न पाइँदैन । त्यो उसको धर्म भएन । हामीले स्वतन्त्र समितिका वकिल बोलाएर यस विषयमा जानकारी गराएका छौं । परिषद्ले स्वीकृति नदिई क्यान निर्वाचनले कसरी मान्यता पाउँछ र । उनीहरूले प्रस्तावित गरेपछि हामीले स्वीकृति दिने हो, नत्र त यहाँ अराजकताको केन्द्र हुन्छ । १ सय ५६ संघ छन्, जसले जे पनि गर्ने हो भने खेलकुद परिषद् नै चाहिँदैन ।’


जिल्ला अध्यक्षहरू निर्वाचन रोक्नु क्यानको हितमा नहुने बताउँछन् । ‘निर्वाचन हुने कुराले जिल्लामा खुसी छाएको थियो । तर नयाँ स्थितिले फेरि अन्योल बनाएको छ,’ महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष रोशन सिंहले भने । प्रकृयाको बाधक कोही हुन नहुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंया बताउँछन् ।


लामो समयको प्रकृयागत प्रयासपछि क्यानको निलम्बन फुकुवा गर्ने स्थितिमा अगाडि बढ्दा निर्वाचन रोकिए त्यसमा आफ्नो विरोध हुने उनले बताए । ‘क्रिकेटको दीर्घकालीन समस्याको निकास निकाल्ने समयमा सबै पक्षले सकारात्मक योगदान गर्नुपर्नेमा पुनः विवादित क्रियाकलाप गरेर क्रिकेट निकासको बाटो नरोक्न हामी सबै पक्षलाई सचेत गर्दछौं,’ मजगैंयाले भने ।


स्वतन्त्र समितिका कानुनी सल्लाहकार श्रेष्ठ तोकिएको समयमै क्यान निर्वाचन हुनसक्ने दाबी गर्छन् । ‘बढीमा एक सातासम्म क्यान निर्वाचन सर्नसक्छ । त्यसपछि भयो भने दसैं पर्छ । अझ पछाडि धकेलियो भने अक्टोबर १३ लाई लक्षित समय र प्रदेश निर्वाचनको एक महिनापछि साधारणसभाको समय पनि गुमाउँछौं ।’


‘निर्वाचन रोकिनुहुन्न’


चतुरबहादुर चन्द

पूर्वअध्यक्ष, क्यान


राखेपले निर्वाचनका बारेमा प्रश्न गरेको मैले पनि सुनें । स्वतन्त्र समितिमार्फत गर्न लागेको निर्वाचन मिलेन भनेको छ रे । हाम्रो सरोकार भनेको निर्वाचन रोक्नुहुन्न । तर यस विषयमा मेरो राखेप सदस्य–सचिवसँग कुरा भएको छैन । निर्वाचन प्रक्रिया यहाँसम्म आइपुग्दा सम्पूर्ण जिम्मा आईसीसीमार्फत स्वतन्त्र समितिले गरिरहेको हुँदा उनीहरूकै सूचनाअनुसार हामी अगाडि बढिरहेका छौं ।


राखेप, खेलकुद मन्त्रालय र सरकारको प्रतिनिधि भएर एलबी क्षेत्रीले असोज ३ र ४ लाई निर्वाचनको मिति प्रस्ताव गरेका छौं भनेर सार्वजनिक रूपमा भनिरहनुभएको छ । अक्टोबर १३ मा आईसीसीको वार्षिक बैठक छ । त्यसैलाई हेरेर पनि हामीले जतिसक्दो क्यानको अहिलेको स्थितिलाई टुंगो लगाउनु राम्रो हुन्छ ।


आईसीसीको त्यो बैठकले क्यानमाथिको निलम्बन फुकुवा पनि गर्नसक्छ । निर्वाचन २–४ दिन लम्बाउँदा चाडपर्व सुरु थाल्छ । यसले जिल्लाका प्रतिनिधिलाई असहज बनाउँछ । क्यानको विधान राखेपकै प्रतिनिधि र मन्त्रालयको रोहबरमा हुबहु पारित भएको हो, त्यसैले यसमा के समस्या छ र ? हुबहु पारित भएपछि मात्र थप प्रक्रिया अगाडि बढेको र अहिलेको स्थितिमा आइपुगेको हो ।


हामीले विधानबाहिर गएर केही गरेका छैनौं । सदस्य–सचिव भएदेखि उहाँले जतिसक्दो चाँडो क्रिकेटको निकास दिन्छु भन्नुभएको छ । उहाँले निर्वाचन रोक्नु भनेको आफ्नै भनाइविपरीत हुन्छ । उहाँले क्रिकेटमा धेरै लगानी गर्नुभएको छ । त्यसैले उहाँले जति क्रिकेट बुझेको व्यक्तिबाट निर्वाचन रोकिन्छ जस्तो लाग्दैन ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?