१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाडेज्दा कप महिला फुटबल : अनुको पथमा सावित्रा

नेपाल आठौंपल्ट चुक्यो 
राजु घिसिङ

काठमाडौँ — फरवार्ड सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय फुटबलमा पूर्वकप्तान अनु लामाको सर्वाधिक ३५ गोलकी कीर्तिमानसँग बराबरी गरेपनि नेपाली महिला टिम फेरि एकपल्ट फाइनलमा चुकेको छ ।

नाडेज्दा कप महिला फुटबल : अनुको पथमा सावित्रा

नेपाल फिफा वरीयतामा ५७ स्थानमाथिको उज्वेकिस्तानविरुद्ध कडा मिहिनेत गरेपनि किर्गिस्तानको काराकोलमा बिहीबार भएको नाडेज्दा कपको उपाधि होडमा ३–२ ले पराजित भयो ।


चार देश सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगको भेटमा नेपालमाथि मध्य एसियाली क्षेत्रको उज्वेकिस्तानले २–० को जित पाएको थियो । त्यससँगै नेपाली महिला टिमको लगातार गोलको शृंखला ११ खेलमा टुंगिएको थियो । प्राविधिक र शारीरिक रूपमा उज्वेक टिम बलियो भएपनि नेपालले त्यो हारको बदला फाइनलमा लिने अपेक्षा गरिएको थियो । तर लिउदमिला कारासिकको उत्कृष्ट खेलसँगै उज्वेकले नेपाललाई फाइनलमा पनि निरास पारिदियो ।


उज्वेकिस्तानले ६४ मिनेटभित्र ३–० को अग्रता लियो । लिग चरणमा नेपालविरुद्ध पहिलो गोल गरेकी कारासिकले उत्कृष्ट फिनिसिङ प्रस्तुत गर्दै ३९ औं मिनेटमा उज्वेकलाई अगाडि बढाइन् । उनकै पासमा डिडोरा नोजिमोभाले ५५ औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर पार्‍यो । कारासिकले अर्को उत्कृष्ट गोल ६४ औं मिनेटमा गर्दै उज्वेकिस्तानको उपाधि सुरक्षित गरिन् । उनले प्रतियोगितामा ६ गोल गरिन् । सावित्रा र डिडोरा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता (७–७) भए ।


सावित्राले ६७ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । गोलकिपर एन्जिला तुम्बापोले रिलिज गरेको बललाई सरु लिम्बुसँग वान टच पास खेल्दै अघि बढाएर उनले गोल गरिन् । त्यो उनको अन्तर्राष्ट्रिय करिअरको ३४ औं गोल हो । उनले तीन मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा अनिता बस्न्तेले प्रहार गरेको बल उज्वेक डिफेन्सको हातमा लाग्यो र त्यसमा प्राप्त पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै सावित्राले नेपाललाई २–३ को अवस्थामा पुर्‍याइन् ।


तर त्यो गोलले पहिलोपल्ट उपाधि जित्ने नेपालको सम्भावना कायमै राख्न सकेन । कप्तान निरु थापा घाइते भएपछि पहिलो रोजाइमा अवसर पाएकी सरु लिम्बुले ७५ औं मिनेटमा प्रहार गरेको बल डिफेन्डरको हेडरपछि बारमा लागेर नफिर्कएको भए खेलको कथा मोडिनसक्थ्यो ।


नेपाली महिला टिम यो वर्ष (सन् २०१९) मा तेस्रोपल्ट फाइनलमा हारेको हो । यसअघि नेपाली टिम विराटनगरमा भएको साफ च्याम्पियनसिप (मार्च) मा भारत र भुवनेश्वरमा भएको हिरो गोल्डकप (फेब्रुअरी) मा म्यानमारविरुद्धको फाइनलमा हारेको थियो । नेपालले सन् २०१० यता खेलेको आठौं फाइनल हो नाडेज्दा कप । तर हरेकपल्ट उपाधि होडमा चुकेपछि नेपालको च्याम्पियन बन्ने सपना अझै अधुरै रह्यो ।


जमुना–अनु–सावित्रा

फाइनलको व्यक्तिगत दोस्रो गोलसँगै सावित्राले भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरेकी पूर्वकप्तान अनु लामाको ३५ गोलको कीर्तिमान बराबरी गरिन् । पछिल्लोपल्ट गत फेब्रुअरीमा भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा खेलेकी अनुले त्यसको अर्को महिना विराटनगरमा भएको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको टिममा स्थान पाउन सकिनन् । त्यससँगै उनले संन्यास घोषणा गरिन् । ३५ गोलका लागि अनुले २८ खेल खेलेकी छन् भने सावित्रा ३४ खेलमा मैदान उत्रिएकी छन् ।


नेपाली महिला फुटबलमा एक समय अनु लामा र जमुना गुरुङको अग्रपंक्ति खुबै चलेको थियो । १३ वर्षको उमेरमै एसियन वुमेन्स कप (सन् १९९९) खेलेकी जमुनाले अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ११ वर्ष कुर्नुपर्‍यो । उनले आफ्नो कप्तानीमा २०१०–१२ मा भएका दक्षिण एसियाली खेलकुद (साग) र साफ च्याम्पियनसिपका दुई संस्करणमा २५ गोल गरेकी थिइन् ।


घुँडाको शल्यक्रियापछि मैदान छाडेकी उनले १५ खेलमात्रै खेल्ने अवसर पाइन् । उनीपछि कप्तान भएकी अनुले पूर्वसहकर्मी जमुनालाई उछिन्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा बनाएकी थिइन् । उनलाई पनि उछिन्ने संघारमा आइपुगेकी छन् सावित्रा ।


जमुना, अनु र सावित्रा एउटै क्लब (एपीएफ) बाट आएका हुन् । संयोगले सावित्राले अनुकै स्थान लिँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । २०१४ को नोभेम्बर १२मा इस्लामावादमा भएको तेस्रो साफ वुमेन्स च्याम्पियनसिपको पहिलो खेलमा भुटानविरुद्ध ८६ औं मिनेटमा मैदानमा प्रवशे गरेको दुई मिनेटभित्रै सावित्राले डेब्यु गोल गरेकी थिइन् । त्यो खेल नेपालले ८–० ले जितेको थियो ।


सावित्राले सिलिगुढीमा भएको चौथो साफ २०१६ मा भुटानविरुद्ध ८–० को जितमा एक्लैले ६ गोल गर्दै तहल्का मच्चाएकी थिइन् । त्यो साफमा माल्दिभ्सविरुद्ध पनि ५ गोल गरेकी उनले कुल १२ गोल गरेर खुबै चर्चा पाएकी थिइन् ।


ओलम्पिक छनोटमा ३ र हिरो गोल्डकपमा ४ गोल गरेकी २३ वर्षीया उनले पछिल्लो सिजन सेतु एफसीलाई भारतको महिला लिग च्याम्पियन बनाउन पनि सहयोग गरेकी थिइन् । फुटबलप्रेमीमाझ ‘साम्बा’ नामले चर्चित उनले घरेलु फुटबलमा एपीएफबाट त गोलको वर्षा गरिरहेकै छन् ।


‘५० गोल पुर्‍याउँछिन्’


अनु लामा

पूर्वकप्तान, नेपाल


बहिनीले मेरो रेकर्ड बराबरी गर्दा खुसी लागेको छ । उनी (सावित्रा भण्डारी) ले अझै राम्रो गर्न सक्छिन् । सावित्राले यति चाँडै ३५ गोल गर्ने सोचेकी थिइनँ । नियमित खेल भइरहेको छ । त्यसैले उनलाई सजिलो भयो । उनले दुई वर्षभित्रै ५० गोल पुर्‍याउने विश्वास छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?