कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नाडेज्दा कप: नेपाल र उज्वेकिस्तान फाइनलमा भिड्दै

नेपाली महिला फुटबल टिमले किर्गिस्तानमा भइरहेको नाडेज्दा कपको फाइनलमा उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल १५: ४५ बजे सुरु हुने
राजु घिसिङ

काठमाडौँ — नेपाली महिला टिमले पहिलो उपाधिको खोजीमा नाडेज्दा कपको फाइनलमा उज्वेकिस्तानविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्दैछ । किर्गिस्तानको काराकोल मैदानमा उज्वेक टिमलाई उपाधिको प्रबल दाबेदार हो । तर, फिफा वरीयतामा ५७ स्थानमाथिको टिमलाई नेपालले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

नाडेज्दा कप: नेपाल र उज्वेकिस्तान फाइनलमा भिड्दै

चार देश सहभागी प्रतियोगिताको लिग चरणको भेटमा उज्वेकिस्तानले नेपाललाई २-० ले हराएको थियो । राउन्ड रोबिन लिगमा तीनै खेल जितेर उज्वेकिस्तान पहिलो स्थानमा रहेको थियो । नेपालले आयोजक किर्गिस्तानलाई ८-२ र ताजिकिस्तानलाई १-० ले हराएर लिगमा दोस्रो स्थानमा रहँदै उज्वेकिस्तानसँगको फाइनल भेट पक्का गरेको थियो ।


‘हामीले लिग चरणको भेटमा आफ्नै गल्तीमा दुई गोल खाएका थियौं । त्यस्ता गल्तीलाई फाइनलमा सच्याउन चाहन्छौं,’ नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले काराकोलबाट इका्न्तिपुरलाई प्रतिक्रिया दिए, ‘उज्वेकिस्तानी खेलाडीहरू प्राविधिक र शारीरिक रुपमा उत्कृष्ट छन् । आफ्नो कमी-कमजोरी सुधारेर उनीहरूलाई रोक्ने योजना बनाएका छौं ।’


लिग चरणमा उज्वेकिस्तानसँगको खेलमा घुँडामा चोट बोकेकी कप्तान निरु थापा फाइनलमा खेल्ने छैनन् । उनको स्थानमा सरु लिम्बु मैदानमा उत्रिँदैछिन् ।


नेपाली टिमको मुख्य हतियार साविज्ञा भण्डारी नै हुन् । उनले किर्गिस्तानविरुद्ध चार गोल गरेकी थिइन् भने ताजिकिस्तानविरुद्धको एकमात्र गोल पनि उनकै नाममा रहेको थियो । तर, उनलाई उज्वेक टिमविरुद्ध खुलेर खेल्ने अवसर नहुनसक्छ । यस्तोमा विंगरद्वय अनिता बस्नेत र मन्जली कुमारी योन्जनले लय समात्न आवश्यक छ । नेपालले लिग चरणमा बेहोरेका चारै गोल आफ्नै कमजोरीमा भएकाले डिफेन्समा चामत्कारिक सुधारले मात्रै नेपालले पहिाले अन्तर्राष्ट्रिय उपाधि दिलाउनसक्छ ।


नेपाली महिला टिमले आठ महिनाभित्र तेस्रोपल्ट फाइनल खेल्न लागेको हो । गत फेब्रुअरीमा भुवनेश्वरमा हिरो गोल्डकप र मार्चमा विराटनगरमा साफ च्याम्पियनसिपको उपाधि होडमा प्रतिस्पर्धा गरेको नेपाली टिम नौ वर्षयता आठौंपल्ट फाइनलमा उत्रिदैछ । अघिल्ला सात फाइनलमध्ये दक्षिण एसियाली खेलकुदमा दुईपल्ट र साफ च्याम्पियनसिपमा चारपल्ट भारतविरुद्ध हारेको नेपाललाई हिरो गोल्डकपको उपाधि होडमा म्यान्मारले शिकार बनाएको थियो । त्यसैले उज्वेकिस्तानै बलियै प्रतिद्वन्द्वी भए पनि नेपालले नाडेज्दा कपमा फाइनलमा बेहोर्दै आएको हारको श्रंखलामा पूर्णविराम लगाउने अवसर पाएको छ ।


नेपाली टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा यस प्रतियोगितामा सहभागी भएको हो । काराकोल मैदानमा उज्वेकिस्तानलाई रोक्न त्यति सजिलो छैन । आक्रमक खेलिरहेको उज्वेकिस्तानले लिग चरणका तीन खेलमा विपक्षीलाई गोल गर्न नदिई २३ गोल गरेको थियो ।


सम्भावित नेपाली टिम

गोलकिपर: एन्जिला तुम्बापो

डिफेन्स: हिरा कुमारी भुजेल, अमृता जैसी, पुनम जर्घामगर, गीता राना

मिडफिल्ड: अनिता बस्नेत, दीपा राई, रेनुका नगरकोटे, मन्जली कुमारी योन्जन

फरवार्ड: सावित्रा भण्डारी, सरु लिम्बु

प्रकाशित : भाद्र २६, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?