मार्टिनेजको ह्याट्रिक

एएफपी

लस एन्जलस — लाउटारो मार्टिनेजले सानदार प्रदर्शन गर्दै २२ मिनेटभित्र ह्याट्रिक पूरा गरेपछि सान एन्टोनियोमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध ४–० को जित रचेको छ ।

इन्टर मिलानका स्ट्राइकर मार्टिनेजले १७, २२ र ३९ औं मिनेटमा गोल गरी मेक्सिकोविरुद्ध अर्जेन्टिनाको उत्कृष्ट जित निश्चित गरेका थिए ।


पीएसजीका मिडफिल्डर लिएन्द्रो पारेडेसले ३३ औं मिनेटमा पेनाल्टीमार्फत अर्को एक थोल थपेका हुन् । दक्षिण अमेरिकी महारथी अर्जेन्टिनाले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । तर, २२ वर्षीय मार्टिनेजले नै यस खेलमा अन्तर्राष्ट्रिय सन्चारमाध्यमलाई केन्द्रमा राखे । उनले अर्जेन्टिनाका लागि १३ खेलमा ९ गोल गरेका छन् ।


मार्टिनेजले १७ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसको ५ मिनेटपछि अर्को गोल गरेका उनले पहिलो हाफ सकिनु ६ मिनेटअघि आफ्नो ह्याट्रिक पूरा गरेका हुन् । अर्जेन्टिना नियमित सदस्य लियोनल मेस्सी, सर्जियो अगुइरो र एन्गेल डी मारियाबिना दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि उत्तरी अमेरिका भ्रमणमा निस्किएको थियो ।


ब्राजिलको हार

अर्कोतर्फ कोपा अमेरिकाको फाइनलमा बेहोरेको हारको बदला लिँदै पेरुले पाँचपल्टको विश्वकप विजेता ब्राजिलमाथि १–० को जित दर्ता गरेको छ । ब्राजिलविरुद्ध कठिन जितका लागि अर्जेन्टिनी मूलका डिफेन्डर लुइस अब्राहमको हेड गोल पर्याप्त भयो ।


गत जुलाईमा रियो द जेनेरियोमा खेलिएको कोपा अमेरिका फाइनलमा ब्राजिलले पेरुलाई ३–१ गोलले पराजित गरेको थियो । लस एन्जल्स मेमोरियल रंगशालामा ३२ हजारभन्दा बढी समर्थकमाझ ब्राजिल पराजित हुनपुग्यो । ब्राजिलले १७ खेलपछि पहिलोपल्ट हार बेहोरेको हो । गत वर्ष अमेरिकालाई हराएयता ब्राजित अपराजित थियो ।


शुक्रबार कोलम्बियासँग २–२ को बराबरीमा सकिएको खेलमा चोटबाट फर्किएका पीएसजीका स्ट्राइकर नेयमरलाई सुरुआती सेटमा नराखेकोमा ब्राजिली प्रशिक्षक टिटेको आलोचना भएको छ । भर्खरै चोटमुक्त आफ्ना मुख्य खेलाडीलाई प्रशिक्षक टिटेले लगातार दुई खेलमा सुरुआती सेटमा राख्नु उचित ठानेनन् ।


उनलाई ६३ औं मिनेटमा लिभरपुल स्ट्राइकर रोबर्टो फिर्मिनोको स्थानमा मैदान प्रवेश गराइएको थियो । नेयमरले ब्राजिलको आक्रमणलाई गति दिने प्रयास गरेका थिए ।

प्रकाशित : भाद्र २६, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?