'राम्रो प्रदर्शनले दिलायो अंक'

राजु घिसिङ

काठमाडौं — स्विडिस प्रशिक्षक योहान कालिन गत मार्चमा नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्न आइपुगेका थिए  । दुई वर्षको सम्झौतासहित काठमाडौं ओर्लिएका उनको नेतृत्वमा नेपालले चार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलममध्ये २ बराबरी र २ हारको नतिजा निकालेको थियो  ।

त्यसपछि विश्वकप २०२२ छनोटको यात्रा थाल्न कुवेत सिटी पुगेको थियो, जहाँ खाडी मुलुकसामु निरीह बनेको नेपाली टिम ७–० ले स्तब्ध भएको थियो । त्यसको पाँच दिनभित्रै नेपालले सुधारिएको प्रदर्शन गरेको छ । मंगलबार चाइनिज ताइपेईविरुद्ध ताइपेई रंगशालामा २–० को जित हात पार्‍यो ।


अन्जन विष्टको दुई गोलसँगै कालिनको आगमनयता नेपालले छैटौं खेलमा आएर जितको स्वाद पाएको हो । कालिनको टिमले गत जुनमा ताइपेईविरुद्ध काओसिङमा भएको मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको थियो । त्यसको तीन महिनापछि नेपालले ऐतिहासिक ‘अवे’ जित निकाल्यो । फिफा वरीयतामा ४१ स्थानमाथिको टिमविरुद्ध तीन अंक जोडेपछि पत्रकार सम्मेलनमा कालिनको भनाइ उनकै शब्दमा :
हामी खुसी छौं । कुवेतविरुद्धको अनुभव कठिन भएको थियो । हामीलाई त्यसबाट अगाडि बढ्न र पुनरागमन गर्न आवश्यक थियो । खेलाडीले राम्रो प्रदर्शन गरे । हामीले प्रदर्शनमै प्रयास गरेका थियौं र राम्रो प्रदर्शनले अंक दिलायो । हामीले आवश्यक परेको गोल गर्‍यौं । यो अंकबाट धेरै खुसी छु ।


कुवेतविरुद्धको प्रतिस्पर्धापछि हामीलाई आफ्नो खेलका केन्द्रित हुनु जरुरी थियो । ताइपेईविरुद्धको खेल निकै कठिन हुने पनि थाह थियो । हामी आधार (बेसिक) मै जानुपर्ने परिस्थिति थियो । सेट पिसलाई उपयोग गर्न चाहन्थ्यौं । सबै अवसर उपयोग गर्न चाहन्थ्यौं । सेट पिसमा भएको पहिलो गोलको क्रसिङ राम्रो थियो र दौडाई पनि । नेपाली टिमको प्रशिक्षकको रूपमा पहिलो जित हात पारेकोमा खुसी महसुस भएको छ । जित सधैं राम्रो हुन्छ । टिम निर्माणले निरन्तरता पाउनेमा आशावादी छु । सधैं विजयी नहुन सक्छ तर स–सानो तहबाट अगाडि बढ्नुपर्छ । हामीले कुवेतविरुद्ध ७–० ले हारेको खेलबाहेक अरुमा राम्रो प्रदर्शन गरेका छौं । सुरुमै भनेको थिए कि सेट टिम बनाउन चाहन्छौं । यसका लागि लामो समय लाग्नसक्छ ।

'कोहीभन्दा कम खेलेनौं'

अन्जन विष्ट
गोलकर्ता, नेपाल
लन्चपछिको टिम बैठकमा मैले पहिलो रोजाइमा अवसर पाउने थाह पाएको थिएँ । आफ्नो र देशका लागि खेल्ने भन्ने मात्रै सोचेको थिएँ । पहिलो खेलमा कुवेतविरुद्ध ७–० ले हारेकाले यसपालि (ताइपेईविरुद्धको खेलपछि) चाहिँ छाती फुलाएर स्वदेश फर्किने भनेर हामीले खेलेका थियौं । त्यो हार (कुवेतविरुद्ध) बाट हामी सबैमा ईख पलाएको थियो ।


अट्याकिङ मिडफिल्डमा म र विशाल दाइ (राई) खेल्यौं । रोहित दाइ (चन्द) डिफेन्सिभ मिडफिल्डमा खेल्नुभयो । सबैले मिहिनेत गरेर खेल्यौं । त्यसैअनुसार नतिजा आयो । मेरो व्यक्तिगत खेलभन्दा पनि हामी जतिले खेल्यौं, कसैले पनि कोहीभन्दा कम खेलेन जस्तो लाग्छ । कसैले राम्रो र कसैले नराम्रो खेलेन । सबैले आ–आफ्नो जिम्मेवारी निभायौं । त्यसैले जित्यौं जस्तो लाग्छ । टिमका सबैले शतप्रतिशत दिएर खेलेको देशेर धेरै खुसी छु । पहिलोपल्ट अन्तर्राष्ट्रिय खेलमा गोल गरें । यसका लागि टिमका सबैलाई धेरै धेरै धन्यवाद ।

'कडा मिहिनेतको जित'

किरण चेम्जोङ
कप्तान, नेपाल
यो छनोटको पहिलो अवे खेलमै कुवेतविरुद्ध अनपेक्षित नतिजा बेहोरेपछि हामीलाई आफ्नो खेलमा फर्किनुपर्ने दबाब बढेको थियो । तर फुटबलमा असम्भव केही हुन्न । हामी टिमको गति पुनरागमन गर्नुपर्छ भनेर उत्साही भयौं । घर फर्किनुअघि जसरी पनि जित्नुपर्छ भनेर खेल्यौं । हामी सबैले कडा मिहिनेत गरेपछि ऐतिहासिक जित हात लाग्यो ।


नेपाली टिम – गोलकिपर : किरण चेम्जोङ, डिफेन्स : रन्जित धिमाल (८५ मिनेट : सुमन अर्याल), देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्ड : सुजल श्रेष्ठ (९१ मिनेट, सुनील बल), रोहित चन्द, अन्जन विष्ट (७९ मिनेट, सन्तोष तामाङ), विशाल राई, रवि पासवान, फरवार्ड : विमल घर्तीमगर ।

नेपालले विश्वकप छनोटमा पाएका ५ जित
गोल प्रतिद्वन्द्वी स्थान/चरण मिति
२–० चाइनिज ताइपेई ताइपेइ/दोस्रो चरण १०/०९/२०१९
२–१ इस्ट टिमोर काठमाडौं/पहिलो चरण २९/०६/२०११
५–० इस्ट टिमोर काठमाडौं/पहिलो चरण ०२/०७/२०११
४–१ मकाउ बगदाद/पहिलो चरण १६/०४/२००१
६–१ मकाउ अल्माटी/पहिलो चरण २५/०४/२००१

प्रकाशित : भाद्र २५, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा नेपाली एटीएम चलेन ? राष्ट्र बैंकलाई फोन गर्नुहोस्

यज्ञ बञ्जाडे

काठमाडौँ — एउटा बैंकको एटीएम अर्को बैंकमा नचलेको कारणले भारतमा अप्ठ्यारोमा परेका नेपालीलाई राष्ट्र बैंकले सुविधा दिने भएको छ । यसकालगि अप्ठेरोमा परेका व्यक्ति वा उनीहरुको घरपरिवारले राष्ट्र बैंकमा टेलिफोन मार्फत जानकारी गराउनु पर्ने छ । ग्राहकले ९८५१२१०९१९ मा टेलिफोन गरेर आफ्ना समस्या अवगत गराउन सक्नेछन् । सोही आग्रहका आधारमा राष्ट्र बैंकले सम्बन्धति बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर २४ घन्टा भित्र सेवा भारतको एटीएमबाट पैसा निकाल्न पाउने सेवा उपलब्ध गराउनेछ । 

बालुवाटारमा बन्ने नेपाल राष्ट्र बैंक ।

नेपालबाट भारतमा घुम्न, उपचार गर्न तथा अध्ययन गर्न गएका नेपाली नागरिकले उक्त सुविधा पाउने छन् ।

पैसा झिक्न नपाएकै कारणले अप्ठ्यारोमा रहेका नागरिकालाई सुविधा दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘भारतबाट सम्बन्धीत व्यक्तिले वा उनीहरुका नातेदार वा घरपरिवारले सही कारण सहित आग्रह आएमा बैंकलाई आग्रह गरेर सेवा उपलब्ध गराउन निर्देशन दिन्छौ,’ उनले भने ।

एक साताअघि नक्कली एटीएम कार्डमार्फत पैसा चोरी भएपछि करिब डेढ दर्जन बैंक तथा तथा वित्तीय संस्थाका एटीएम अर्को बैंकको एटीएममा (क्रस एटीएम) मा चलेका छैनन । यही कारण नेपाली बैंक तथा वित्तीय संस्थाको कार्ड लिइर भारत गएका नागरिकले त्यहाँको एटीएमबाट पैसा निकाल्न पाएका छैनन । ‘यो सिुविधा भारतमा उपचार, अध्ययन, भम्रण सामाजिक कमाममा गएकाहरुका लागि मात्र हो,’ उनले भने, ‘कामको खोजीमा गएका कामदारका लागि होइन ।’

गत शनिबार एटीएमबाट रकम चोरिदा नेपाली बैंकको कार्डमार्फत भारतबाट पनि करिब १ करोड ५ लाख भारु झिकिएको छ । त्यो रकम खोजिबारे नेपालबाट केही पहल भएको छैन । त्यसपछि नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) मा आवद्ध रहेका बैंक तथा वित्तीय संस्थाका एटीएम अर्को बैंकमा चलेका छैनन् ।

प्रकाशित : भाद्र २५, २०७६ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्