१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कप्तान पेनको कमाल

(एएफपी)

लन्डन — ग्रेग च्यापलले सकेनन् । न त दुई–दुईपल्ट अवसर पाउँदा पनि रिकी पोन्टिङ र माइकल क्लार्कले सके । तर इंग्ल्यान्डविरुद्ध बिहीबार ओभलमा सुरु हुने पाँचौं टेस्टमा अस्ट्रेलियाले हार टार्न सक्छ भने टिम पेन त्यस्ता कप्तान हुनेछन्, जसले टिमलाई इंग्लिस भूमिमा एसेज शृंखला जितको उपलब्धि दिलाउने छन् ।

कप्तान पेनको कमाल

यो यस्तो उपलब्धि हुनेछ, जुन १८ वर्षअगाडि कप्तान स्टिभ वाले हात पारेका थिए । त्यति बेला अस्ट्रेलिया ४–१ ले विजयी रहेको थियो ।


वा मात्र होइनन्, च्यापल, पोन्टिङ र क्लार्क सबैलाई अस्ट्रेलियाका महान् क्रिकेट खेलाडी भन्न मिल्छ । यस्तै दाबी विकेटकिपर पेनलाई लिएर गर्न सकिन्न । अझ उनले जसरी कस्तानीको अवसर पाए, त्यो पेन आफैंमा अनौठो छ । परम्परागत रूपमा अस्ट्रेलियाले सुरुमा उपलब्धि उत्कृष्ट ११ खेलाडी छनोट गर्छ । त्यसपछि मात्र तिनै खेलाडीबाट कप्तानको चयन गर्छ । इंग्ल्यान्डमा खेल्नु छ भने पहिले कप्तान छनोट गरिन्छ, जसबाट नेतृत्वको उच्च अपेक्षा हुन्छ ।


त्यसपछि मात्र थप १० खेलाडी चयन हुने गर्छ । पेनलाई लिएर भने परिस्थिति बेग्लै छ । सन् २०१८ को मार्चमा केपटाउन टेस्टमा बल टेम्परिङ काण्ड मच्चिएपछि स्टिभ स्मिथको काँधबाट कप्तानी जिम्मेवारी छिनिएको थियो । यस्तै उपकप्तान डेविड वार्नरले पनि आफ्नो जिम्मेवारी गुमाए । अझ दुवै ब्याट्सम्यानलाई १२ महिनाको प्रतिबन्ध पनि लगाइयो क्रिकेट अस्ट्रेलियाले । यस्तोमा अस्ट्रेलियालाई यस्तो एक कप्तान चाहिएको थियो, जसले कम्तीमा टिमको नेतृत्व गर्न सक्छ ।


यस्तोमा भाग्य खुल्यो तिनै पेनका । यस्तोमा पेन भए संयोगले बनेका कप्तान । सन् २०१० मा लर्ड्समा पाकिस्तानविरुद्धका टेस्टबाट डेब्यु गरेका पेन सन् २०१७ बाट संन्यास लिने संघारमा थिए । उनी कुनै सामान निर्माण गर्ने संस्थामा काम सुरु गर्ने क्रममा थिए । त्यही वर्ष उनले घरेलु क्रिकेटमा तास्मानियाका लागि खेले । त्यसको एक वर्षपछि उनी भए अस्ट्रेलियाली टिमका कप्तान नै । नेतृत्वको अवसर पाएपछि उनीमाथि आरोप लाग्दै आएको छ, उनी वास्तवमै संयोगले कप्तान भएका हुन् ।


अझ उनी अस्ट्रेलियाली टिमकै लागि पनि हकदार छैनन् । उनले यी सबै आरोपमा पटक्कै ध्यान दिएका छैनन्, बरू हेडिङ्लेमा भएको तेस्रो टेस्टमा एक विकेटको पीडादायी हारपछि पेनले ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्टमा आफ्नो टिमलाई प्रभावशाली १ सय ८५ रनको जित दिलाएका छन् । यो जितपछि अस्ट्रेलियाले शृंखलामा २–१ को अग्रता लिएको छ । यससँगै एक टेस्टअगाडि नै एसेज शृंखलाको रक्षा पनि गरेको छ ।


यो सबै सफलताका लागि धेरै श्रेय भने स्मिथलाई नै जान्छ । किनभने उनले ६ सय ७१ रन बनाएका छन् १ सय ३४.२० को औसतले । प्रतिबन्धपछि पहिलो शृंखला खेलिरहेका स्मिथले ओल्ड ट्राफोर्डमै २ सय ११ रनको उत्कृष्ट इनिङ्स पनि खेले । ‘स्मिथ निकै अब्बल दर्जाका खेलाडी हुन् । उनी टिममा फर्कने छन् र यस्तै उच्च प्रदर्शन गर्ने छन् भन्नेमा मलाई कुनै शंका थिएन,’ पेनले भनेका छन् । संयोग अर्को के पनि रह्यो भने जति बेला स्मिथले टेस्टमा डेब्यू गरेका थिए, त्यही बेला डेब्यू गर्नेमा पेन पनि थिए ।


पेनले भनेका छन्, ‘मेरो विचारमा स्मिम झन झन राम्रा खेलाडी भइरहेका छन् । उनी कतिसम्म अगाडि बढ्ने हुने थाहा छैन । अहिले तत्काल हामी उनको प्रदर्शनमा खुसी मनाइरहेका छौं ।’ स्मिथ अहिले जसरी टेस्ट क्रिकेटमा शीर्ष वरीयताका ब्याट्सम्यान हुन्, त्यसरी नै प्याट कमिन्स टेस्ट बलिङ वरीयताको नम्बर एकमा छन् । धेरै कम कप्तानले मात्र यतिको बलियो टिम पाउन सक्छ । पेन आफैं पनि ब्याटिङका कमजोर देखिएका छैनन् ।


उनले म्यानचेस्टरको पहिलो इनिङ्समा महत्त्वपूर्ण ५८ रन बनाए । ‘पछिल्लो १८ महिनामा हामी जहाँ थियौं, त्यहाँबाट माथि उक्लँदै अहिले जुन स्थितिमा आइपुग्यौं, त्यसले पूरा टिमलाई निकै खुसी दिएको छ,’ पेन मान्छन्, ‘हाम्रो टिमका खेलाडी कस्ता छन् अब यो सबैले देखिसकेका छन् । खासमा हाम्रो टिम निकै बलियो छ । हेडिङ्लेमा बेहोरको हारले कुनै पनि टिमलाई टुट्ने संघारमा पुर्‍याउन सक्छ । हामीले त्यही हारमा टिकेर अर्को जित निकाल्यौं । अहिले अस्ट्रेलियाली टिम फरक छ ।’


व्यक्तिगत सन्तुष्टिबारे पनि यी ३४ वर्षीय खेलाडीले बोलेका छनन् । उनको भनाइ छ, ‘मेरो पनि सपना पूरा भएको छ । मेरो सपना थियो, इंग्ल्यान्डमा एसेज शृंखला हात पार्ने । मेरो उद्देश्य कप्तान भएर एसेज जित्ने भने थिएन । अहिले अस्ट्रेलियाली टिमले जुन सफलता आत्मसात् गरेको छ, त्यही टिमसँग मेरो आबद्धता रहनु पनि ठूलो हो । म यसमै धेरै खुसी छुं ।’ वास्तवमै यो कथा हो संयोगले कप्तान भएका पेनको कमाल ।


प्रकाशित : भाद्र २५, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?