२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

समयमै हुन्छ त साग ?

कुशल तिमल्सिना

काठमाडौँ — नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्न तीन महिनाभन्दा कम समय बाँकी छ । अधिकांश क्षेत्रको तयारीको गति हेर्दा एउटा संशय अझै बाँकी नै छ । साग खेलकुद समयमै हुन्छ त ?

समयमै हुन्छ त साग ?

मंसिर १५ देखि २४ सम्म हुने तय भएको १३ औं सागका लागि पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी भइरहेको छ । सबै क्षेत्रमा कार्यप्रगति सन्तोषजनक भने छैन ।

नेपालले तेस्रोपल्ट आयोजना गर्न लागेको सागका लागि अहिलेसम्म कार्यविधि बनेको छैन । युवा तथा खेलकुद मन्त्रालयले अन्तिम रूप दिएर मन्त्रिपरिषदमा पेश गरेको कार्यविधि एक महिनासम्म पास हुन सकेको छैन । राखेप सदस्य–सचिव रमेश सिलवालले यसै साता कार्यविधि पास भएर आएपछि प्रशासनिक कामलाई तीव्रता दिन सजिलो हुने बताए । ‘कार्यविधि नआउँदा प्रशासनिक काममा अन्योल हुनु स्वाभाविक हो । यसै साता कार्यविधि पास हुनेछ,’ उनले भने ।

१३ औं सागको तयारी समितिको बैठक पछिल्लोपल्ट साउन २३ मा बसेको थियो । उक्त बैठकले सागको तयारीअन्तर्गत ओलम्पिक कमिटीको जिम्मेवारीको कार्यतालिका बनाएको थियो । सो कार्यतालिकाअनुसार अहिलेसम्म कुनै काम सम्पन्न भएका छैनन् भने केही काम सुरु नै भएको छैन । यसबीचमा नेपाल ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन तयारीले पनि सागको तयारीका लागि समय अपुग भएको हुनसक्ने बुझाइ राखेपको छ ।

तयारी समितिले भदौ १३ भित्र टेक्निकल ह्यान्डबुक सार्वजनिक गर्न समयसीमा तोकेको थियो । गंगाबहादुर थापाको नेतृत्वमा रहेको साग टेक्निकल कमिटीले ह्यान्डबुकको प्रकासनको तयारीलाई अन्तिम रुप दिइसकेको साग सचिवालय प्रमुख कमल खनालले जानकारी गराए । ‘निर्धारित समयभन्दा केही ढिला भएको हो तर सम्बन्धित संघसँग आवश्यक डाटा लिएर ह्यान्डबुक प्रकाशनको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।’

ओलम्पिक कमिटीको जिम्मामा रहेको अर्को काम सहभागी देशले आफू सहभागी हुने खेल दर्ता गर्नु हो । त्यस्तै सबै देशको खेलाडी दर्ता गर्ने काम पनि ओलम्पिकको जिम्मामा छ । यसका लागि उसले असोज १३ र कात्तिक १४ सम्मको समयसीमा पाएको छ । त्यसका लागि आवश्यक कामहरू सुरु भएकै छैन । खेल तथा खेलाडी दर्ताका लागि आवश्यक सफ्टवेयर निर्माण गर्न बजेटलगायतको समस्याले काम सुरु हुन नसकेको ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

‘तयारी समितिको बैठक बस्न नसकेको लामो समय भइसकेको छ । निर्धारित समयमा काम सम्पन्न गर्न आवश्यक तत्त्वहरूको निश्चितता नहुँदा हामीलाई समस्या भएको छ,’ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘कतिपय कुरा तयारी समितिले प्रमाणित गर्नुपर्छ । समितिको बैठक अनिवार्य बस्नुपर्ने भइसकेको छ ।’

अध्यक्ष श्रेष्ठले सेप्टेम्बर र अक्टोबरको समयसीमा अझै बाँकी रहेको र यसबीचमा तयारीका लागि समय पर्याप्त नभएमा पुनर्विचार गर्नुपर्ने बताए । ‘निर्धारित समयमा सम्पन्न हुन कठिन हुनसक्छ । प्रतियोगिता आयोजना मितिलाई असर नपर्ने गरी समयसीमा हेरफेर गर्न सकिन्छ,’ श्रेष्ठले भने । टेक्निकल ह्यान्डबुकको काम अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए ।

सदस्य–सचिव सिलवालले भने ओलम्पिक कमिटीको जिम्मेवारीमा रहेको कार्य सम्पादनका लागि बजेट वा अन्य कुनै समस्या नरहेको दाबी गरे । उहाँहरूको जिम्मामा रहेको कामका लागि बजेटको समस्या हुँदैन । ओलम्पिक र राखेपअन्तर्गत साग सचिवालयको नियमित समन्वय र संयुक्त बैठक भइरहेको छ । हामीले ओलम्पिक र राखेपले गर्नुपर्ने कार्यविभाजन गरेका छौं । सायद उहाँहरूको चुनावी चहलपहलका कारण काम ढिला भएको हुनसक्छ,’ सिलवालले भने । असार २३ मा सदस्यसचिवको शपथ लिएलगत्तै सिलवालले सागको मिति पटक पटक सरेर देशकै बेइज्जत भइसकेकाले निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न क्यालेन्डर बनाएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले सार्कका सबै देशले सहभागिता निश्चित गरिसकेकाले खेल र खेलाडीको दर्ताको विषय गौण भएको दाबी गरे । उनले भने, ‘खेल तथा खेलाडी दर्ताका लागि पूर्व निर्धारिम समय पनि बाँकी नै छ । सहभागी सबै देशको प्रतिबद्धता आइसकेको अवस्थामा खेल छनोट गरी खेलाडीको नाम पठाउने काममा अन्य देशहरूले पनि ढिलाइ गर्ने छैनन्, समयमै दर्ता प्रक्रिया सकिन्छ भन्ने आस छ ।’

प्रशासनिक तयारीमात्र होइन पूर्वाधारको तयारी पनि आवश्यक गतिमा अघि बढ्न नसक्दा अर्को संशय उब्जिएको छ । प्रतियोगिताको उद्घाटन तथा समापनस्थल दशरथ रंगशालालाई मौलिक ढाँचामा पुनर्निर्माण गरिने यसअघि नै सदस्य–सचिवले बताइसकेका छन् । दशरथ रंगशालामा अहिले भीआईपी प्यारापिटको छानो र मैदान तयार गर्ने काम भइरहेको छ । भदौ १६ मा सदस्य–सचिव आफैंले घाँस काटेर तीन दिनमा सक्ने भनिएको काम अझै सम्पन्न हुन सकेको छैन ।

‘भूकम्पपछि मर्मतसम्भार नभएकाले घाँसले धेरै जरो गाढिसकेको रहेछ । हामीले तीनवटा मेसिनले काट्ने भनेकोमा दुई मेसिनले काम नगरेका कारण ढिला भएको हो, अहिले २ थप मेसिन ल्याएर काम भएको छ,’ उनले भने ।

घाँस काट्ने काम सकिएपछि मैदान सम्याउने र दुबो रोप्ने काम हुनेछ । यो जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाएको छ । सदस्य–सचिवले विश्वकप तथा एसिया कप छनोटअन्तर्गत मंसिर ३ मा हुने कुवेतविरुद्धको खेलसम्म रंगशाला तयार गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘रंगशालाको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भीआईपी प्यारापिटमा स्टोन वाल राख्ने काम भइरहेको छ । भारतबाट सामान आइसकेको छ,’ सदस्यसचिवले भने, ‘यो काम सम्पन्न भएपछि असोज २३ र ३० गते दुई लटमा गरी भीआईपी प्यारापिट र कुर्सी चीनबाट आउनेछ । बढीमा कात्तिक ३० सम्ममा दशरथ रंगशालाले पूर्णता पाउनेछ ।’

सदस्य–सचिवले रंगशालाको उत्तर पश्चिममा रहेको खाली स्थानमा हरियाली बनाउने, नेपाली पहिचान झल्कने ढुंगेधारा बनाउने, त्यहीं नेपाली शैलीको गेट बनाउने लगायतको तयारी सुनाए । ‘रंगशाला भनेको मरुभूमि जस्तो हुनुहुँदैन । त्यसैले हरियालीका साथै अपनत्व झल्कने रंगशाला बन्नेछ,’ उनले थपे ।

भदौ मसान्तसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहल सम्पन्न हुने, कात्तिक १५ सम्म सातदोबाटोको वातानुकूलित पौडीपोखरी निर्माण सम्पन्न हुने, पोखरा रंगशालाको निर्माण र पोखरामै ब्याडमिन्टन कोर्ट कात्तिकमै सम्पन्न हुने जानकारी गराइएको छ । २० हजार दर्शक क्षमताको प्रस्ताव भए पनि सागअघि १० हजार क्षमताको पोर्टेबल प्यारापिटसहितको रंगशाला बन्ने उनले जानकारी बताए ।

प्रकाशित : भाद्र २५, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?