कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विश्वकप २०२२ छनोट: पहिलो ‘अवे’ जित

राजु घिसिङ

काठमाडौँ — विश्वकप फुटबल २०२२ छनोटको पहिलो खेलमा नेपालले खाडीको यात्रा गर्दै कुवेतविरुद्ध ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यसको पाँच दिनभित्रै मंगलबार नेपालले चाइनिज ताइपेईलाई उसैको भूमिमा २–० ले हरायो । नेपालको पहिलो ‘अवे’ जित यही हो । यसअघि नेपाली टिमले तटस्थ मैदानमा मात्रै सफलता पाएको थियो ।

विश्वकप २०२२ छनोट: पहिलो ‘अवे’ जित

फिफा वरीयतामा ४१ स्थान माथिको टिमविरुद्ध ताइपेई रंगशालामा दुवै गोल अञ्जन विष्टले गरे । उनले सुजल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा हेडद्वारा गोल गर्दै तेस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल उत्कृष्ट रह्यो । डिफेन्डर दिनेश राजवंशीले विशाल राईसँग ‘वान टच पास’ खेल्दै बनाएको आकर्षक मुभमा विंगर रवि पासवानले क्रस गरे । त्यसमा सुजल श्रेष्ठले हेडबाट मिलाइदिएको बल नियन्त्रण गर्दै अञ्जनले गोलमा परिणत गरेर टिमको अग्रता दोब्बर बनाए ।

‘यो विश्वकप छनोटको पहिलो खेलमै कुवेतविरुद्ध अनपेक्षित नतिजा बेहोरेपछि हामीलाई आफ्नो खेलमा फर्किनुपर्ने दबाब थियो,’ नेपाली टिमका कप्तान किरण चेम्जोङले ताइपेईबाट कान्तिपुरसँग भने, ‘फुटबलमा असम्भव केही हुन्न । हामी टिम स्पिरिट पुनरागमन गर्नुपर्छ भनेर उत्साही भयौं । घर फर्किनुअघि जसरी पनि जित्नुपर्छ भनेर खेल्यौं । हामी सबैले कडा मिहिनेत गरेपछि ऐतिहासिक जित हात लाग्यो ।’ स्वीडिस प्रशिक्षक योहान कालिनले गत मार्चमा टिम सम्हालेयता नेपालले छैटौं खेलमा आएर पहिलो जित निकालेको हो ।


‘जित सधैं राम्रो हुन्छ,’ उनले भने, ‘खेलाडीले राम्रो प्रदर्शन गरे । आवश्यक गोल गरे । राम्रो प्रदर्शनले नै अंक दिलायो ।’

सफलताले सबैलाई ऊर्जा दिएको उनले बताए । ‘सेट पिसमा भएको पहिलो गोलको क्रसिङ राम्रो थियो र दौडाइ पनि । यस टिम निर्माणले निरन्तरता पाउने आशा छ,’ उनले भने, ‘सधैं विजयी नै भइन्छ भन्ने होइन । तर स–साना तहबाट अगाडि बढ्नुपर्छ । कुवेतविरुद्ध ७–० ले हारेको खेलबाहेक अरूमा राम्रो प्रदर्शन गरेका छौं ।’

कालिनले जिम्मेवारी सम्हलेयता यसअघिका पाँच खेल (४ मैत्रीपूर्ण र १ विश्वकप छनोट) मा नेपालले २ बराबरी र ३ हारको नतिजा निकालेको थियो । उनले कुवेतविरुद्ध ‘बेन्च’ मै राखेका मिडफिल्डर अञ्जनलाई ताइपेईविरुद्ध विक्रम लामाको स्थानमा पहिले रोजाइमा अवसर दिएका थिए । अञ्जनले अन्तर्राष्ट्रिय फुटबलको २९ औं खेलमा आएर गोल गरेका हुन् । कालिनले अघिल्लो खेलमा घाइते भएका अजित भण्डारीको स्थानमा दिनेश राजवंशी र अर्का डिफेन्डर सुमन अर्यालको भूमिकामा रञ्जित धिमाललाई खेलाएका थिए ।

सन् २०११ जुलाईमा दशरथ रंगशालामा भएको दुई लेगमा इस्ट टिमोरलाई २–१ र ५–० ले पराजित गरेयता विश्वकप छनोटमा नेपालले पहिलोपल्ट जित हात पारेको हो । सन् २००१ मा बग्दाद र अल्माटीमा मकाउलाई ४–१ र ६–१ ले पराजित गरेको नेपालले विश्वकप छनोटमा हात पारेको यो पाँचौं जित हो । नेपालले अब १० अक्टोबरमा अस्ट्रेलियाविरुद्ध क्यानबेरामा खेल्नेछ ।

प्रकाशित : भाद्र २४, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?