२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एसेज रक्षा गर्नुका कारण

एजेन्सी

म्यानचेस्टर — अस्ट्रेलियाले इंग्ल्यान्डलाई चौथो टेस्टमा आइतबार १ सय ८५ रनले पराजित गर्दै एसेज शृंखला रक्षा गरेको छ । यो जितसँग पाँच टेस्टको शृंखलामा अस्ट्रेलियाले २–१ को अग्रता लियो । एएफपीको विश्लेषणमा अस्ट्रेलियाले एसेजमाथि यसपल्ट आफ्नो नाम लेखाउनु पछाडिका कारण यस्तो रह्यो :

एसेज रक्षा गर्नुका कारण

स्मिथले बनाएको रन

यसपल्टको एजेस शृंखला पक्कै पनि स्मिथको शृंखलाको नाममा चिनिने छ । सन् १९८१ मा इंग्ल्यान्डका इयान बोथमले जे गरेका थिए, त्यही काम यसपल्ट अस्ट्रेलियाका लागि स्टिभ स्मिथले गरे । उनको प्रदर्शनको तथ्यांकले नै प्रस्ट पार्छ, वास्तवमै उनी कति धरै चम्के भनेर । उनले चार टेस्टमा तीन शतक मदतले १ सय ३४.२ को औसतले ६ सय ७१ रन बनाएका छन् । यसमा ओल्ड ट्राफोर्डमा बनाएको सर्वाधिक २ सय ११ रनसम्मिलित छ ।

उनकै अर्को कथा

स्मिथको ब्याटबाट निस्केको रनले मात्र सबै कथा भने भन्दैन । उनी एकवर्षे प्रतिबन्धपछि खेलमा फर्केका थिए । उनी आफैं कप्तान हुँदा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा उनी बल टेम्परिङ काण्डमा मुछिए । प्रतिबन्धपछि खेलमा फर्केका ३० वर्षीय स्मिथले एजवास्टनमा १ सय ४४ रन बनाए र अस्ट्रेलिया ८–१२२ बाट बच्न सफल रह्यो । लगत्तै उनले अर्को इनिङ्समा १ सय ४२ रन पनि बनाए । दुवै टिमका माथिल्लो क्रमका ब्याट्सम्यान रन बनाउन संघर्षरत रहेका बेला स्मिथ भने अविश्वसनीय रूपमा चम्के । इंग्ल्यान्डले नाटकीय रूपमा जितेको तेस्रो टेस्टमा भने उनी थिएनन् । किनभने उनी त्यसअघि जोफ्रा आर्चरको बाउन्सरमा घाइते भएका थिए ।


एन्डरसनको अनुपस्थिति

इंग्ल्यान्डको बलिङ आक्रमण धेरैभन्दा धेरै जेम्स एन्डरसनमा टिकेको थियो । उनी इंग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् । उनले शृंखलामै जम्मा चार ओभर मात्र बलिङ गर्न पाए र लगत्तै घाइते भए । उनको अनुपस्थितिमा स्टुआर्ट ब्रोड र जोफ्रा आर्चरले राम्रै बलिङ गरे । तर एन्डरसनको अनुपस्थिति इंग्ल्यान्डका लागि घातक नै साबित भयो ।


अस्ट्रेलियाको गहिरो बलिङ आक्रमण

अस्ट्रेलिया इंग्ल्यान्डमा चार तीव्र गतिका बलर र एक स्पिनर नथान लायनमा विश्वास गरेर आएको थियो । अस्ट्रेलियाको यो नीति सफल रह्यो । पूरा शृंखलामा दुई टिममध्ये पाहुनाको बलिङमा बढी गहिराइ थियो । प्याट कमिन्स, जोस हेजलउड र माइकल स्टार्कको बलिङ जहाँ घातक थियो, त्यहीं पिटर सिडल र जेम्स प्याटिसनले उनीहरूलाई राम्रो साथ दिए ।


क्याचले जितेको म्याच

सिरिजमा अस्ट्रेलियाको फिल्डिङ गज्जब थियो । सर्ट लेगमा क्यामरन बेनक्राफ्ट र म्याथ्यु वेडले कमाल नै गरे । त्यसको ठीक उल्टो इंग्ल्यान्डले केही निर्णायक मोडमा क्याच छाडे, विशेषतः ओल्ड ट्राफोर्डमा आर्चरले ६५ रन बनाएर खेलिरहेका स्थिमको क्याच छाडे । अनि ज्याक लिचकै नो बलमा पनि स्मिथले विकेट गुमाउनुपरेन ।


विश्वकपको ‘ह्याङ ओभर’

इंग्ल्यान्डले शृंखलाअगाडि एकदिवसीय विश्वकप जितेको थियो । तर सबैलाई थाहा छ, एकदिवसीय क्रिकेट र टेस्ट क्रिकेटमा आकाश जमिनको फरक छ । टेस्ट क्रिकेटमा खेलाडीमाथि परिस्थितिको माग बेग्लै हुन्छ । एकदिवसीय क्रिकेटमा जेसन रोय जस्ता खेलाडी थिए, टेस्ट क्रिकेटमा त्यस्ता रहन सकेनन् ।


इंग्ल्यान्डका कप्तान तथा प्रमुख खेलाडी जो रुटको ब्याटबाट प्रदर्शन पनि कमजोर रह्यो, उनले तीनपल्ट ‘डक’ खाए । बरू अस्ट्रेलियाका लागि मार्नस लबसचांगे जस्ता खेलाडी ब्याटबाट चम्कन सफल भए । उनी स्मिथपछि सबैभन्दा सफल खेलाडी रहे ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?