नाडेज्दा कप फुटबल : निर्णायक खेल आज

उज्वेकिस्तान २–० नेपाल

काठमाडौँ — नेपाली राष्ट्रिय महिला टिमले किर्गिस्तानको काराकोलमा भइरहेको नाडेज्दा कप फुटबलको दोस्रो खेलमा सोमबार उज्वेकिस्तानविरुद्ध २–० को हार बेहोरेको छ । योसँगै नेपाली टिमको निरन्तर गोल यात्रा ११ खेलमै रोकियो । अर्को खेलमा ताजकिस्तानले आयोजक किर्गिस्तानलाई २–१ ले हरायो ।

नाडेज्दा कप फुटबल : निर्णायक खेल आज

नेपालले सावित्रा भण्डारीको चार गोल सहयोगमा पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले हराएको थियो । त्यही दिन उज्वेकिस्तानले ताजकिस्तानमाथि १२–० को जित दर्ता गरेको थियो । लगातार दुई जितसँगै उज्वेकिस्तान एक खेलअगावै फाइनल प्रवेश गर्‍यो । चार देश सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगको अन्तिम दिन मंगलबार नेपालले ताजकिस्तानको सामना गर्नेछ । त्यसमा जित वा बराबरी नतिजा हात पारेमा नेपालले उज्वेकिस्तानविरुद्ध फाइनल भिड्ने निश्चित गर्नेछ ।

फिफा वरीयतामा ५७ स्थानमाथिको उज्वेकिस्तानी टिमले दुवै गोल नेपाली टिमको गल्तीमा गरेको थियो । डिफेन्डर अमृता जैसीले क्लियर गर्न नसकेपछि पाएको बललाई कारासिक लुदमिलाले प्रहार गरेकी थिइन् । उनको प्रहारलाई गोलकिपर एन्जिला तुम्बापोले रोकिन् । फेरि बल लुदमिलाकै खुट्टामा पुग्यो र उनले सहजै पोस्टको दिशा दिँदै उज्वेकिस्तानलाई १–० को अग्रता दिलाइन् ।

नेपालकी कप्तान निरु थापा घुँडामा चोट बोक्दै १४ औं मिनेटमै बाहिरिएकी थिइन् । उनको स्थानमा सरु लिम्बुले अवसर पाइन् ।

दोस्रो गोल सपिना रुसनियाले ५० औं मिनेटमा गरिन् । उनले तीन डिफेन्स छक्याउँदै दाँयातर्फबाट पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट फस्ट बारबाट बल जालीको सम्पर्कमा पुर्‍याएर उज्वेकिस्तानको ३ अंक पक्का गरेकी थिइन् । त्यसमा गोलकिपर एन्जिलाले पनि सही अनुमान गर्न सकिनन् । इन्ज्युरी समयमा गीता रानाले लामो दूरीबाट फ्रि–किकमा प्रहार गरेको बल पोलमा लाग्दै फर्किंदा नेपालले अन्तर छोट्याउने अवसर गुमाएको थियो ।

उज्वेकिस्तानविरुद्ध गोल गर्न असफल भएसँगै नेपाली महिला टिमको निरन्तर गोलको यात्रा ११ खेलमा पूर्णविराम लाग्यो । भुवनेश्वरमा गत फेब्रुअरीमा भएको हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारविरुद्ध ३–० ले हारेयता नेपालले लगातार ११ खेलमा गोल गरेको थियो ।

यसबीच नेपालले विराटनगरमा साफ च्याम्पियनसिपको फाइनल, मान्डलय (म्यानमार) मा ओलम्पिक २०२० छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो । गोल गरेको पछिल्लो खेल यही नाडेज्दा कपको पहिलो खेल (किर्गिस्तानविरुद्ध ८–२ को जित) बन्यो ।


नेपाली टिम

गोलकिपर : एन्जिला तुम्बापो

डिफेन्स : हीराकुमारी भुजेल, अमृता जैसी, पुनम जर्घामगर, गीता राना

मिडफिल्ड : अनिता बस्नेत (८२ मिनेट, विमला चौधरी), दीपा राई, रेनुका नगरकोटे (८७ मिनेट, इन्दिरा राई), मन्जलीकुमारी योन्जन

फरवार्ड : निरु थापा (कप्तान, १४ मिनेट, सरु लिम्बु), सावित्रा भण्डारी ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?