कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कप्तानसहित बढी उमेरका तीन खेलाडी हटाइए

राजु घिसिङ

काठमाडौँ — गत साता वेस्ट बंगालमा साफ यू–१५ च्याम्पियनसिपको उपविजेता रहेको नेपाली टिमका कप्तान प्रदीप लम्सालसहित तीन खेलाडी मेडिकल परीक्षणमा बढी उमेरको पाइएपछि एएफसपी यू–१६ च्याम्पियनसिप छनोटबाट हटाइएका छन् ।

कप्तानसहित बढी उमेरका तीन खेलाडी हटाइए

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कप्तान प्रदीपसहित गोलकिपर ईश्वर गुरुङ र मिडफिल्डर असीम राईलाई हटाएर एएफसी यू–१६ छनोटका लागि सोमबार घोषणा गरिएको २३ सदस्यीय टिमबारे व्यवस्थापक निरोज खड्गीले भने, ‘साफ यू–१५ बाट फर्केर चिकित्सकको सल्लाहअनुसार १७ खेलाडीको एमआरआई गरिएको थियो । त्यसमा बढी उमेरका देखिएपछि तीन खेलाडीलाई टिमबाट हटाइएको हो ।’


‘उनीहरूका सर्टिफिकेट र पासपोर्ट सबै ठीक छन् । यसपालिको मेडिकल परीक्षणमा मात्रै बढी उमेरका देखिए,’ एन्फाका कार्यसमिति सदस्यसमेत रहेका खड्गीले भने, ‘बढी उमेरका खेलाडी खेलाएको भन्दै एएफसीको कारबाहीमा पर्नुभन्दा अगाडि नै हामीले परीक्षण गरेर खेलाडी छनोट गरिएको हो ।’


एसियाली फुटबल महासंघ (एएफसी) ले उमेर समूहको प्रतियोगितामा अयोग्य (बढी उमेरका) खेलाडी खेलाएको प्रमाणित भएप्छि बारम्बार जरिवाना र कारबाही गरिसकेको छ । एएफसीका अनुसार सन् २०२० मा हुने च्याम्पियनसिपको छनोटमा १ जनवरी २००४ वा त्योभन्दा यता जन्मिएका खेलाडी मात्रै सहभागी हुन पाउँछन् ।


यसपालि साफ यू–१५ को फाइनल यात्रामा प्रदीपले चार गोल गरेका थिए । असीम राईले पनि गोल गर्दै नेपाललाई फाइनल पुर्‍याउन सहयोग गरेका थिए । कल्याणा रंगशालामा भएको साफ यू–१५ को पहिलो खेलमै आयोजक भारतविरुद्ध ५–० ले हारेको नेपालले त्यसपछि श्रीलंकालाई २–०, बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराएर राउन्ड रोबिन लिगमा दोस्रो स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । भदौ १४ मा सम्पन्न फाइनलमा निरीह बनेको नेपाली टिमलाई भारतले ७–० ले हराएको थियो ।


पाल्पाका प्रदीप दुई वर्षयता एन्फा एकेडेमीमा रहेर ट्रेनिङ गरिरहेका छन् । उनले अघिल्लो वर्ष पनि साफ यू–१५ च्याम्पियनसिप खेलेका थिए । उनीसँगै बढी उमेरका देखिएका असीम र ईश्वर खुला छनोटबाट टिममा परेका छन् । एएफसी यू–१६ च्याम्पियनसिप छनोटका लागि यी तीनको स्थानमा गोलकिपर पाथुङहाङ नेम्बाङ, मिडफिल्डर क्रिस्टल शाक्य र फरवार्ड दीपेश राईलाई टिममा ल्याइएको छ । सेप्टेम्बर १४–२२ मा जार्कामा हुने छनोटमा मुख्य प्रशिक्षक सुनील श्रेष्ठले सम्हालेको नेपाली युवा टिमले घरेलु टिम जोर्डनसँगै कुबेत, ताजिकिस्तान र श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


नेपाली टिम

गोलकिपर : मनोज दाहाल, जिनेयस केसी, पाथुङहाङ नेम्बाङ

डिफेन्स : अजय चौधरी, अभिषेक वाइबा, जान लिम्बू, रोशन थापा, प्रग्यान महर्जन, प्रमिश गुरुङ, आमिर हामिद

मिडफिल्ड : नितेश श्रेष्ठ, क्रिस्टल शाक्य, जन्मजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, नीराजन मल्ल, अनिल चौलागाईं,

नीराजन खत्री

फरवार्ड : शशांक बोहोरा, सुगम जिमी, कृष्ण अधिकारी यादव, कृष्ण सापकोटा, दीपेश राई

प्रकाशित : भाद्र २३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?