फ्रान्स र पोर्चुगलको सहज जित

एएफपी

पेरिस — बाल्कन देशहरू अल्बानिया र सर्बियालाई पराजित गरी फ्रान्स र पोर्चुगल युरो २०२० को छनोट अभियानलाई बलियो बनाएका छन् । विश्व च्याम्पियन फ्रान्स र युरोपेली च्यामिपयन पोर्चुगलले प्रतियोगितामा छनोट हुने सम्भावना बलियो पारेका हुन् ।

फ्रान्स र पोर्चुगलको सहज जित

अल्बानियालाई ४–१ ले हराएपछि फ्रान्स समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । फ्रान्सको राष्ट्रिय रंगशालामा किंग्स्ले कोम्यानले ३ वर्षको अन्तरालमा पहिलो अन्तर्राष्ट्रिय गोल गरे भने ओलिभर जिरुड र वैकल्पिक जोनाथन कोनले एक–एक गोल गरे ।


शनिबार राति नै आइसल्यान्डले माल्डोभालाई ३–० गोलले हराएको थियो भने टर्कीले एन्डोरामाथि १–० को संघर्षपूर्ण जित हासिल गर्न ओजान तुफानले अन्तिम मिनेटमा गोल गरेका थिए । यस समूहमा तीनै टोलीको १२ अंक भएको छ । गोलअन्तरका आधारमा फ्रान्स शीर्ष, टर्की दोस्रो र आइसल्यान्ड तेस्रो स्थानमा छन् ।


सहज जितको अन्त्य सकारात्मक थियो । खेलको सुरुआत भने विचित्र तरिकाले भएको थियो । आयोजकले अल्बानियाको राष्ट्रिय धुनको सट्टा गल्तीवश एन्डोराको राष्ट्रिय गीत बजाइदिए । आफ्नै राष्ट्रिय धुन नबजेसम्म अल्बानियाका खेलाडीले खेल्न अस्वीकार गरेकाले खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । अल्बानियाका इटालियन प्रशिक्षक एडोर्डो रेजाले भने, ‘यो निकै ठूलो विषय हो । खेलाडीले आफ्नै राष्ट्रिय गीत नबजेसम्म खेल्न अस्वीकार गर्नु उनीहरूको अधिकार हो ।’


सर्वियाविरुद्धको सानदार जितसँगै ३ खेलबाट ५ अंक जोडेर पोर्चुगल समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ । बेलग्रेडमा उसले चार गोल गर्दा विलियम कार्भाल्हो, गोन्कालो गुडेस, क्रिस्टियानो रोनाल्डो र बर्नान्डो शिल्भाले एक–एक गोल गरे । पोर्चुगल शीर्ष स्थानको युक्रेनभन्दा ८ अंकले पछाडि छ । युक्रेनले अपराजित यात्रा कायम राख्ने क्रममा लिथुवानियामाथि ३–० को जित रचेको थियो ।


ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्यान्डले शतप्रतिशत जित यात्रा कायमै राखेको छ । उसले वेम्बली रंगशालामा बुल्गेरियामाथि ४–० को सहज जित हासिल गरेको हो । २५ औं मिनेटमा ट्याप इन र दोस्रो हाफमा दुई पेनाल्टी मार्फत केनले इंग्ल्यान्डका लागि ४० खेलमा २५ गोल पूरा गरेका हुन् ।


अर्को गोल रहिम स्टर्लिङले गरे । समूह ‘ए’ मा तीन खेलबाट ९ अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । चेक गणतन्त्रलाई २–१ गोलले हराएपछि यस समूहमा कोसोभो ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?