कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जर्मनी डचसँग स्तब्ध

एएफपी

ह्यामबर्ग — फ्रेन्क डी जोङ र जर्जिनियो विज्नाल्डमको सानदार प्रदर्शनका कारण नेदरल्यान्ड्ससँग आफ्नै मैदानमा ४–२ को हार बेहोरेपछि जर्मन प्रशिक्षक जोचिम लोले आफ्नो टिम कमजोर रहेको स्वीकारेका छन् ।

जर्मनी डचसँग स्तब्ध

घरेलु टोलीले अग्रता लिएपछि खेलको वास्तविक प्रतिस्पर्धा सुरु भएको थियो । दोस्रो हाफमा डच टिमले विस्फोटक पुनरागमन गर्दै पुरानो प्रतिद्वन्द्वितालाई पुनर्ताजगी गरेको छ । पछिल्लो ११ महिनामा यी छिमेकी देश चौथोपल्ट आमनेसामने भएका हुन् ।

‘नतिजाका लागि हामी निकै निराश छौं । तर नेदरल्यान्ड्स उत्कृष्ट टिम थियो,’ प्रशिक्षक लोले भने, ‘हामी हाम्रो टेक्निकल स्तरभन्दा निकै खस्कियौं र बल पोजिसन गुमायौं । जसका कारण विपक्षीलाई दबाब बनाउने बाटो खुल्यो ।’

डच प्रशिक्षक रोनाल्ड कोम्यानले जर्मन टिम थकित देखिएको टिप्पणी गरे । आफ्ना खेलाडीको कमजोरीका कारण जर्मनीले अग्रता लिएको उनको तर्क थियो । जित्नैपर्ने दबाबका बीच डच टिमले जर्मनी भ्रमण गरेको थियो । सुरुआती २ खेलमा ३ अंक हासिल गरेको उसले यो खेल पनि गुमाएको भए समूह ‘सी’ बाट स्वतः छनोट हुने अवसर गुमाउने निश्चित थियो । त्यस विपरीत जर्मन टोली आराममा थियो । किनभने मार्चमा एम्सटरडममा खेलिएको खेलमा घरेलु टोलीलाई लोको युवा टोलीले ३–२ को हार चखाएको थियो । जर्मन फर्कंदा उनीहरू आत्मविश्वासी थिए ।

प्रशिक्षक लोले टिममा कुनै परिवर्तन नगरेपछि जर्मनीको मुख्य खेलाडीको जिम्मेबारी सर्गी नाब्रीले लिए । लुकास क्लोस्टरम्यानको क्लोज रेन्ज शट डच गोलरक्षक जस्पर सिलेसनले रोकेपछि रिबाउन्ड बल सदुपयोग गरी बार्यन म्युनिखका युवा विंगर नाब्रीले गोल गरे । नाब्रीले जर्मनीका लागि छैटौं खेलमा पाँचौं गोल गरेका हुन् । उनको यही गोल पहिलो हाफको आकर्षण बन्यो ।

घरेलु समर्थकमाझ अग्रता दोब्बर पार्ने लक्ष्यसहित जर्मनीले दोस्रो हाफ सुरु गर्‍यो । तर जर्मन रक्षापंक्तिको कमजोरी पहिल्याएको नेदरल्यान्ड्सले खेलमा एकाएक पकड जमायो । ५९ औं मिनेटमा डी जोङले गोल गर्दै खेल बराबरीमा ल्याए । रायन बाबेलको क्रसमा निको सुल्जलाई छक्याउँदै डी जोङले बल प्रहार गर्दा जर्मन गोलरक्षक म्यानुअल नुयुर उचित पोजिसनमा थिएनन् ।

त्यसको ७ मिनेटपछि नेदरल्यान्ड्सले अग्रता बनायो । कर्नरका क्रममा पेनाल्टी एरियामा भीड हुँदा जर्मन डिफेन्डर जोनाथन ताहले आफ्नै पोस्टमा गोल गर्न पुगे । ७३ औं मिनेटमा जर्मनीले पेनाल्टी पायो । डी लिक्टले बक्सभित्र ह्यान्ड गरेपछि पाएको अवसरमा टोनी क्रुजले सदुपयोग गरी खेल बराबरीमा ल्याए । तर डच टिमको आक्रामक रणनीति भने परिवर्तन भएन ।

म्याथ्यिज जिन्टरको गल्तीका कारण नेदरल्यान्ड्सले ७९ औं मिनेटमा पुनः अग्रता बनाएको हो । ५८ औं मिनेटमा मार्टिन डी रुनलाई प्रतिस्थापन गरेका डोनेल मालेनले सानदार मुभ लिँदै गोल गरे । विज्नाल्डम र मेम्फिस डिफेको उत्कृष्ट सन्तुलनमा इन्ज्युरी समयमा नेदरल्यान्ड्सले काउन्टर एट्याकमा गोल गरी ४–२ को जित हासिल गर्‍यो ।

यो जितपछि नेदरल्यान्डस्ले समूह ‘सी’ मा जर्मनीसँगको दूरी ३ अंकमा झारेको छ । डच टिमले समूहमा एक खेल कम खेलेको छ । यो पनि निश्चित भएको छ कि सोमबार बेलफास्टमा जर्मनीसँगको खेलअघि उत्तरी आयरल्यान्ड शीर्षस्थानमा छ । उसले अहिलेसम्म चारै खेलमा जित पाएको छ । जर्मन प्रशिक्षक लोका अनुसार त्यो खेल उनीहरूका लागि जित्नैपर्नेछ । ‘मैले टिमबाट त्यस्तै प्रदर्शन अपेक्षा गर्नेछु । किनभने हामीले उत्तरी आयरल्यान्डलाई जित्नैपर्छ ।’

प्रकाशित : भाद्र २२, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?