कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्वास्थ्य बन्यो तगारो

एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका धावक अजितकुमार यादवले हेपाटाइटिस ‘बी’ संक्रमणका कारण १३ औं साग छाड्नुपरेको छ । उनी रोगलाई जितेर पुनः ट्र्याकमा फर्कन प्रतिबद्ध छन् ।
कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय टिमको क्याम्पमा एक महिनादेखि नियमित प्रशिक्षण भइरहेको थियो । अन्तिम छनोट तयारी जोडतोडले चलिरहेकै थियो । भदौ ७ गते बिहान प्रशिक्षक धनीराम चौधरीले बोलाएर भने, ‘अजित तिमीले परीक्षणका लागि फेरि रगतको नमुना दिनुपर्‍यो ।’ एक साताअघि मात्र क्याम्पमा रहेका सबै खेलाडीको रक्त नमुना संकलन भएको थियो ।

स्वास्थ्य बन्यो तगारो

उनको मात्र दोस्रोपल्ट परीक्षण गर्नुपर्ने भएपछि अजित झस्किए । उनले रगत नमूना दिएपछि प्रशिक्षक चौधरीसँग सोधे, ‘गुरु, मेरोमात्र दोहोर्‍याएर परीक्षण गर्नुको कारण के हो ? म ठीक छु ?’ पहिलो परीक्षणमा हेपाटाइटिस ‘बी’ संक्रमण देखिएको र निश्चित गर्न पुनः परीक्षण गर्नुपरेको जानकारीसँगै प्रशिक्षक धनीरामले नआत्तिन सुझाए ।


गुरुले नआत्तिनु भने पनि मन किन मान्थ्यो र ? आफूलाई गम्भीर रोगको संक्रमण भएको थाहा पाएपछि अजितलाई मानसिक तनाव सुरु भयो । रातमा निद्रा परेन । रोग लागेको थाहा भएपछि शारीरिक रूपमा पनि कमजोरी महसुस हुन थाल्यो । दोस्रो परीक्षणको रिपोर्टभन्दा बढी अन्तिम छनोटको तयारीमा आफूलाई केन्द्रित गरे ।


भदौ १४ गते शनिबार भद्रकालीस्थित त्रिभुवन आर्मी क्लबको ट्र्याकमा ५ हजार मिटर दौडको अन्तिम छनोट सुरु हुनुअघिको वार्मअपमा हल्का पेट दुखेको थियो । सामान्य सोचेका उनले दौड सुरु गरे । आफूभन्दा सिनियर गोपीचन्द्र पार्की, हरिकुमार रिमाल र गजेन्द्र राईलाई १८ वर्षे अजितले पहिलो ल्यापदेखि नै पछि छोडेका थिए ।


‘पेटको दुखाइ बढिरहेको थियो । अरु बेलाभन्दा फरक थकान महसुस हुन थाल्यो । सामान्यतः ४ हजार मिटर दौडिएपछि हुने थकान चार ल्याप (१६०० मिटर) पछि नै हुन थाल्यो,’ पिनाकल कलेजको होस्टेलमा आराम गरिरहेका अजितले भने, ‘सामान्यता मैले एउटा ल्याप ७०–७१ सेकेन्डमा पूरा गर्दै आएको थिएँ । मलाई ल्याप पूरा गर्न बढी समय लाग्न थाल्यो । पेटको दुखाइ असह्य भएपछि ८ सय मिटर बाँकी हुँदा मैले दौड छाडेँ ।


६ महिनाअघि हङकङमा सम्पन्न एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटरमा स्वर्ण जितेर कीर्तिमान बनाएका अजितलाई मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटरतर्फ पदक दाबेदारका रूपमा हेरिएको थियो । छनोटको बीचैमा छाड्नुपरेपछि घरेलु भूमिमै पदक जित्ने उनको सपनामात्र सकिएन । यस स्पर्धामा नेपालको दाबेदारिता पनि कमजोर भयो ।


यस स्पर्धाका लागि एपीएफका गोपीचन्द्रले साग खेलकुदमा सहभागिता जनाउने छन् । पार्की अजितकै पहिलो गुरु पनि हुन् ।

‘छनोटको बीचैमा दौड छाडेपछि मैले गुरुलाई मुख देखाउनै सकिनँ, सिधै होस्टेल आएँ । साँझ गुरुसँग फोनमा कुराकानी भयो । उहाँले उपचार प्रक्रियामा जान भनेपछि राखेपमा गएर दुवै रिपोर्ट लिएर नर्भिक अस्पतालका डा. सुधांशु केसीलाई भेटेँ,’ अजितले सुनाए, ‘हेपाटाइटिस ‘बी’ भएको निश्चित भयो । उहाँले मेरो सबै परीक्षण गर्नुभएको छ । संक्रमणबारे अन्तिम रिपोर्ट आउन एक साता लाग्छ रे ।’


अजितले आफूलाई लागेको रोगबारे जानकारी हासिल गर्न थालेका छन् । मुख्यतः कलेजोमा समस्या पार्ने यस रोगको उपचार सम्भव छ र आफू पुनः ट्र्याकमा फर्कने सोचसाथ आराम गरिरहेका छन् । ‘भर्खरै १८ वर्षको भएँ, म यस १३ औं साग खेलकुदलाई मात्र छनोट हुन नसकेको हो । १४ औं, १५ औंमा खेल्न सकिहाल्छु नि । स्वास्थ्यभन्दा ठूलो कुरा करिअर पनि त होइन,’ उनले सकारात्मक भाव प्रकट गरे ।


यो एउटा सरुवा रोग हो । यसको जीवाणु शरीरमा आइसक्दा लामो समयसम्म कुनै लक्षण देखिँदैन । तर यसले भित्रभित्रै कलेजोमा संक्रमण गरिरहेको हुन्छ । ६ महिना अगाडिको परीक्षणमा कुनै संक्रमण नदेखिएको अजितको शरीरमा अहिले हेपाटाइटिस बी देखिएको छ । उनको रोगको समयमै पहिचान भएको छ र उपचारका लागि पनि सहज हुने देखिएको छ ।


‘एक महिनाअघि दुई दिनसम्म चर्को ज्वरो आएको थियो । त्यतिबेला थकानको कारणले होला भनेर खासै ध्यान दिएको थिइनँ,’ अजितले थपे, ‘अहिले डाक्टरले सामान्य जगिङबाहेक शरीरलाई भार हुने काम नगर्नु भन्नुभएको छ । अहिलेसम्म औषधि दिनुभएको छैन ।’


राष्ट्रिय टोलीका प्रशिक्षक धनीराम चौधरीले पदकको आशा गरेका खेलाडी रोगका कारण बाहिरिएकोमा चिन्ता व्यक्त गरे । ‘दुईपल्टसम्म रक्त परीक्षणपछि पोजेटिभ परिणाम आयो । त्यसपछि करिअरभन्दा ठूलो स्वास्थ्य हो भनेर उपचारमा केन्द्रित गरेका छौं,’ प्रशिक्षक चौधरीले भने, ‘यो रोगको उपचार प्रक्रिया महँगो पर्ने रहेछ । राष्ट्रिय खेलकुद परिषद्ले पहल गरिदियो भने छिट्टै उपचार गरी साग खेल्न सक्छ कि भनेर वैकल्पिक खेलाडीको रूपमा राखेका छौं ।’


नेपाल एपीएफ स्कुलमा ८ कक्षामा पढ्दादेखि अजितले दौडन सुरु गरेका हुन् । स्पोर्टस विकका बेला ८ सय मिटर दौडमा पहिलो भएका उनले त्यसै वर्ष विद्यार्थीबीचको ५ किलोमिटर रोड रेसमा तेस्रो भए । यही प्रतियोगिता उनको करिअरको निर्णायक क्षण थियो । ‘हजारौं विद्यार्थीबीच म नर्भस थिएँ । तर तेस्रो स्थान जितेपछि मैले यसैमा करिअर बनाउने प्रण गरेको हो,’ उनले भने ।


त्यसको अर्को वर्ष २०७२ सालमा जिल्ला र क्षेत्रमा सफलता हासिल गरी पोखरामा भएको क्षेत्रीय खेलकुदमा सहभागिता जनाएका उनी सफल भएनन् । उनले भने, ‘होस्टेलको बसाइ, शून्य प्रशिक्षण । राष्ट्रिय खेलकुदमा स्वर्ण कहाँबाट आउनु ।’ तर असफलताको ईखले एकोहोरो भएका उनले अर्को वर्ष काठमाडौंमै भएको जुनियर राष्ट्रिय प्रतियोगितामा १५ सय र ३ हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।


एसईई परीक्षा दिएपछि पर्याप्त प्रशिक्षणसहित २०७४ सालको राष्ट्रपति रनिङ सिल्डमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरी दुवै स्पर्धामा स्वर्ण जिते । राष्ट्रिय टोलीमा पनि बोलाइए ।


त्यसपछि धनीराम चौधरीको नियमित प्रशिक्षणमा हुर्किर्एका उनले २०७५ चैतमा हङकङमा भएको एसियन जुनियर एथलेटिक्समा ८ मिनेट ३०.३२ सेकेन्डको कीर्तिमानसहित जितेको स्वर्ण नेपाली एथलेटिक्समै पहिलो एयियाली स्तरको स्वर्ण हो । हङकङमा उनले १२ देशका १५ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । १५ सय मिटरमा उनले ४.०२ मिनेटको कीर्तिमान छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?