२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्वकप २०२२ छनोट: नेपालले कुवेतको सामना गर्दै, कडा चुनौती दिने आशा

नेपालले विश्वकप २०२२ छनोटको पहिलो खेलमा आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै । कुवेत सिटीमा खेल २२ः४५ बजे सुरु हुने ।
राजु घिसिङ

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलको औपचारिक खेलमा नेपालको पहिलो प्रतिद्वन्द्वी हो कुवेत । विश्वकप खेलेर फर्किएको कुवेती टिमविरुद्ध नेपाल एसियाली खेलकुद (सन् १९८२ दिल्ली) मा ३–१ ले हारेको थियो । त्यसको ३७ वर्षपछि नेपालले कुवेतको सामना गर्दै विश्वकप २०२२ छनोटको बिहीबार सुरु गर्दैछ ।

विश्वकप २०२२ छनोट: नेपालले कुवेतको सामना गर्दै, कडा चुनौती दिने आशा

‘हामी सबै प्रतिद्वन्द्वीलाई सम्मान गर्छौं । हामीलाई थाहा छ कि कुवेत राम्रो टिम हो,’ नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालीनले पि–म्याच प्रेस कन्फ्रेन्समा बुधबार भनेका थिए, ‘तयारीमा हाम्रा खेलाडीले कडा मिहिनेत गरेका छन् । हामी कुवेतलाई कडा चुनौती दिन चाहन्छौं । राम्रो प्रदर्शन गर्न चाहन्छौं । नतिजाको लागि भन्दा पनि राम्रो प्रदर्शनमा केन्द्रित भएर खेल्नेछौं ।’


स्वीडिस प्रशिक्षक कालिनको आगमनसँगै नेपालले गत मार्चमा कुवेतविरुद्ध उसैको भूमिमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित भएको थियो भने दोस्रो खेलमा पेनाल्टी गोलको सहयोगमा कुवेतले १–० ले जितेको थियो । ती दुई खेलमा आक्रमक खेल पस्कन नसके पनि डिफेन्सले राम्रो प्रदर्शन गरेको कालिनले बताए । ‘त्यस बेला पूर्णत: डिफेन्समा ध्यान दिएका थियौँ । यसपाली आक्रमण पनि गर्ने आशा छ,’ उनले भने ।


फिफा वरीयतामा नेपालभन्दा १० स्थानमाथि छ कुवेत । तर, वरीयताको अन्तरभन्दा कुवेत माथिल्लो स्तरको टिम भएको कालिनले बुझेका छन् । उनको आगमनयता नेपाली खेलाडीले जुझारु प्रदर्शन गरिरहेका छन् । उनको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय चार खेल खेलेको छ । त्यसमा २ बराबरी र २ हारको नतिजा रह्यो । त्यसैले कालिनको टिम पहिलो जितको खोजीमा विश्वकप छनोटमा होमिएको छ ।


नेपालले अघिल्लो साता मलेसियन सुपरलिग च्याम्पियन जोहर दारुल ता'जिमविरुद्ध खेलेको थियो । त्यसमा १–० ले हारेपनि आफुले टिम सम्हालेयताकै सबभन्दा राम्रो प्रदर्शन गरेको कालिनको दाबी थियो । त्यसैले उनी कुवेत सिटीमा हुने विश्वकप छनोटको खेलमा उत्साहित बनेका छन् ।


डिफेन्सलाई संगठित बनाएर विपक्षीलाई रोक्ने र एक्लो फरवार्डलाई खेलाउँदै काउन्टरमा आक्रमण गर्ने कालिनको रणनीति हो । यसैलाई उपयोग गर्दै उनी कुवेतविरुद्ध अंक जोड्न चाहन्छन् ।


फुटबल संघमा सरकारको हस्तक्षेपपछि २ वर्ष फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को प्रतिबन्धमा परेको कुवेत सन् २०१७ मा मात्रै अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो । त्यसयता कुवेती टिम निक्कै व्यस्त रह्यो । गत महिना वेस्ट एसियन च्याम्पियनसिपमा साउदी अरेबियालाई हराएको उसले इजिप्टलगायत अफ्रिकी टिम, जोर्डन, बहराइनलगायत एसियाका बलिया देशहरूविरुद्ध खेल्यो । उसले गत महिना २० दिने इंग्ल्यान्ड भ्रमणमा प्रिमियर लिग क्लब एस्टन भिल्लाको रिजर्भ टिमविरुद्ध पनि खेल्यो ।


एकेडेमीमा छँदा क्रोएसियन मिडफिल्डर ल्युका मोडरिचको प्रशिक्षक रहेका रोमियो जोज्याकले सम्हालेका छन्, कुवेती टिम । उनी कुवेतलाई अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ रहेको समूह ‘बी’बाट अर्को चरणमा पुर्याउन चाहन्छन् । यसमा नेपाललाई ‘अन्डरडग’ मानिएको छ । एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटमा नेपाल ठूला टिमविरुद्ध नसोचिएको नतिजा निकाल्ने अभियानमा रहेको छ ।


हेड टु हेड

नेपाल र कुवेतको राष्ट्रिय टिमबीच हालसम्म ६ खेल भएको छ । त्यसमध्ये ५ खेल कुवेतको जितेको छ भने १ खेल बराबरीमा सकियो । दिल्ली एसियाड १९८२ मा वाईबी घलेले कुवेतविरुद्ध गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो । नेपालले अरु ५ खेलमा कुवेतविरुद्ध गोल गर्न सकेन ।

प्रकाशित : भाद्र १९, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?