प्रशिक्षक हानको विदाइ– '३ महिना ३ दिन जसरी बित्यो’

कुशल तिमल्सिना

काठमाडौँ — नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी पूरा गरी डच नागरिक हान अविङ बिहीबार स्वदेश फर्कंदै छन् । एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितालक्षित गरी विश्व भलिबल महासंघको कोचिङ सपोर्ट परियोजनाअन्तर्गत नेपाल आएका अविङले तीन महिना नेपाली खेलाडीलाई मार्गनिर्देश गरे ।

प्रशिक्षक हानको विदाइ– '३ महिना ३ दिन जसरी बित्यो’

सेन्ट्रल जोन भलिबलमा नेपालले अघिल्ला संस्करणमा भन्दा खराब नतिजा बेहोर्नुपरे पनि टिमको समग्र स्तर बढेको विश्लेषण नेपाल भलिबल संघको छ । विश्व भलिबलसँगको सम्झौता सकिएको र आर्थिक कारणले सम्झौता लम्ब्याउन असमर्थ भएपछि भलिबल संघले बुधबार प्रशिक्षक हानलाई बिदाइ गर्‍यो ।


बिदाइ कार्यक्रममा भावनात्मक मन्तव्य दिएका ५८ वर्षे प्रशिक्षक हानले नेपाल आगमन सुरुदेखि नै विशेष महसुस गरेको र ३ महिना ३ दिन जस्तो गरी बितेको सुनाए । ‘मेरा लागि बितेको ३ महिना ३ दिनजस्तो गरी विशेष बन्यो,’ हानले भने, ‘मलाई मेरो देशको भलिबलको माहोल हेरेर गर्व लाग्थ्यो तर नेपालमा भलिबलको लोकप्रियता र अपनत्वसामु त्यो केही रहेनछ ।’


दिनको दुई समय अभ्यास तालिका बनाएर नतिजालक्षित तयारी गरे पनि अपेक्षाकृत नतिजा आउन नसक्नुको पीडा उनले बिदाइका समयमा पनि व्यक्त गरे । ‘तयारीका क्रममा हामीले मैत्रीपूर्ण खेल खेल्न पाएनौं । भारतसँगको मैत्रीपूर्ण खेल रद्द हुनु हाम्रा लागि दुर्भाग्य थियो,’ उनले थपे, ‘तर प्रतियोगिताअघि अफगानिस्तानसँगको शृंखलाले आत्मविश्वास बढाएको हो । हामीले कमजोर प्रदर्शन गरेका थिएनौं, प्रतिस्पर्धी हामीभन्दा बलिया थिए ।’


कार्यक्रममा प्रशिक्षकको प्रशंसामा धेरै समय खर्चिएका संघका महासचिव जितेन्द्रबहादुर चन्दले आवश्यकताभन्दा कम समय पाए पनि हानको कार्यकालमा पुरुष टिमको स्तर बढेको दाबी गरे । टिमको स्तर र नतिजालाई फरक फरक व्याख्या गर्नुपर्ने भनाइ उनको छ । प्रशिक्षक हान जुन १८ मा नेपाल आएका थिए ।


‘विश्व भलिबलले दिएको विकल्पमध्ये हामीले हानलाई प्रशिक्षकको रूपमा रोजेका हौं । उहाँको आगमनले नेपाली भलिबल एक स्तर माथि पुगेको छ,’ चन्दले भने, ‘विश्व भलिबलको पूर्ण प्रायोजनमा उहाँ आउनुभएको हो । आर्थिक समस्याका कारण हामीले निरन्तरता दिन सकेनौं । राष्ट्रिय खेलकुद परिषद्ले चाहेको खण्डमा विदेशी प्रशिक्षक ल्याउने छौं ।’


डच लेभल–५ कोचिङ कोर्स गरेका एफआईभीका प्रशिक्षक हानले नेपाली टोलीको स्तरोन्नतिका लागि केही सुझावसमेत प्रस्तुत गरेका छन् । नेपालको भलिबल लोकप्रियतालाई उपयोग गर्न विद्यालय र क्लब भलिबलमा जोड दिनुपर्ने उनले सुझाए ।


‘नेपालमा धेरै जातजातिको बसोबास छ । अग्ला जातिको पहिचान गरी खेलाडी उत्पादनमा संघले ध्यान दिनुपर्छ । ग्रासरुटमा स्तरीय कार्यक्रम सञ्चालनका साथै कोर्टको स्तर पनि बढाउनुपर्छ,’ सेन्ट्रल जोन सकिएपछि राष्ट्रिय महिला भलिबल प्रतियोगिता निरीक्षण गर्न पोखरा पुगेका हानले सुझाए ।


‘मोर्डन भलिबलमा रिसिभ र अपोजिट स्पाइकरको भूमिका अहम् हुन्छ, हामीले त्यसमा सुधार गर्नु अत्यावश्यक छ । खेलाडीहरू फिट छन् तर भलिबल फिटनेसलाई वेट ट्रेनिङ गर्नुपर्छ,’ प्रशिक्षक हानले भने, ‘सबैभन्दा मुख्य कुरा नियमित र स्तरीय अभ्यास हुनुपर्छ । धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नुपर्छ । विदेशमा गएर प्रशिक्षण गर्नुपर्छ ।’

प्रकाशित : भाद्र १९, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?