कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओलम्पिक कमिटी चुनाव–'ओलम्पिकको पुच्छर बन्दिनँ’

काठमाडौँ — भदौ २० गते नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यमसमितिका लागि निर्वाचन हुँदैछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आआफ्नो समूह बनाएर उम्मेदवारी दिएका छन् । नेपाल स्की संघका जीवनराम र हकी संघका उमेसलाल चार वर्षअघि पनि अध्यक्षमै भिडेका थिए ।

ओलम्पिक कमिटी चुनाव–'ओलम्पिकको पुच्छर बन्दिनँ’

ठूलो मतान्तरले विजयी भएका जीवननराम दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । प्रत्यक्ष/परोक्ष रुपमा ओलम्पिकको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भूमिका रहन्छ । किनभने ओलम्पिक कमिटी नै राखेपको एउटा अंग हो ।


अध्यक्षका तीनै उम्मेदवार र राखेप सदस्यसचिव रमेश सिलवाल सत्तारुढ नेकपा निकट हुन् । ओलम्पिक निर्वाचनको पूर्वसन्ध्यामा राखेपको भूमिका र जिम्मेवारीबारे कान्तिपुरका कुशल तिमल्सिनाले गरेको कुराकानीमा सदस्यसचिव सिलवालले चुनावमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । तर ओलम्पिक गतिविधिको नाममा आफ्नो खेल संघ धराशायी बनाउने खेलकर्मीलाई नियमनको प्रक्रिया सुरू गर्ने उद्घोष सदस्यसचिवको छ । उनको भनाइ :


ओलम्पिक कमिटी भनेको राष्ट्रिय खेलकुद परिषद्को अंग हो । यहाँ केही भ्रम छ भने स्पष्ट भए हुन्छ कि ओलम्पिक कमिटी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुनुपर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय भनेर फुर्ति गरिराख्नुपर्ने कुनै कारण नै छैन । ओलम्पिकले कसरी राष्ट्रिय खेलकुद परिषद्सँग सम्बन्ध गाँस्ने भन्ने कुरा उनीहरूले पनि सोच्नुपर्छ । म चुनावमा कुनै बाधा ल्याउने छैन । तर योभन्दा अगाडिको जस्तो छाडा साँडेजस्तो भएर हिँड्न चाहिँ दिन्न, यसमा प्रस्ट भए हुन्छ ।

अर्को कुरा म हस्तक्षेप गर्दिनँ । जसले भोट पाउनुहुन्छ जित्नुहुन्छ, जसले कम पाउनुहुन्छ हार्नुहुन्छ, यो प्रजातान्त्रिक प्रक्रिया भयो । अर्को ओलम्पिकका लागि मानिसहरूको आकर्षण किन देखिएको भन्नेबारे २७ मतदातामध्ये २६ उम्मेदवार हुनुले नै सबैले बुझेका छन् । म चाहिँ साथीहरूलाई के आग्रह गर्छु भने ओलम्पिकमा जाने विषय ठूलो होइन, संघको काम गर्ने ठूलो हो । अब म ओलम्पिकका सबै मान्छेको रेकर्ड लिँदैछु । त्यहाँ कुन कुन पोजिसनमा हुनुहुन्छ मलाई मतलब भएन । उनीहरूले आफ्नो खेलको के विकास गर्‍यो त ? मिडियाका सरोकार त्यसमा पनि हुनुपर्छ भन्ने लाग्छ ।


ओलम्पिक गएर अन्तर्राष्ट्रिय कुरा गर्ने, आफ्नो संघको हालत के छ ? खेलको हालत के छ ? आफ्नो खेलमा सुधार गर्ने योजना के के छन् ? त्यसमा कुनै ध्यानै नदिने ? देश विदेश गएर हल्लिएर/संसार घुमेर झन्डा हल्लाएर वा फुर्तिफार्ती गरेर केही हुनेवाला छैन । आफ्नो खेल चाहिँ रसातलमा पुगेको छ, गेमको बारेमा नसोच्ने, आफ्नो खेलको योजना र पूर्वाधार बनाउनेबारेमा नसोच्ने, खेलाडी उत्पादनमा ध्यान नदिने, प्रशिक्षक अफिसियल उत्पादनमा वास्ता नगर्ने, अनि जहिले पनि म फलानो ठाउँको भनेर पोसिजन गर्‍यो भने उनीहरूलाई नेपालको इतिहासले धिक्कार्छ ।


केही उम्मेदवार विवादास्पद छविका भन्ने आएका छन्, त्यसमा ध्यान दिने मेरो काम होइन । त्यो मेरो जिम्मेवारीभित्र पर्दैन, मेरो जिम्मेवारीभित्र पर्ने कुरामा मैले कडाइ गर्नैपर्छ । म स्वच्छता र पारदर्शिता कायम गर्छु । ओलम्पिक कमिटी पनि पारदर्शीचाहिँ हुनुपर्छ । उसले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्छ । मैले १३ औं दक्षिण एसियाली खेलकुद सकिएको ९० दिनभित्र हिसाव कितावको पारदर्शी फेहरिस्त पेस गर्छु भनेको छु, अनि ओलम्पिक चाहिँ पारदर्शी हुनुपर्दैन ? ओलम्पिकमा चाहिँ पारदर्शिता चाहिँदैन ? लुच्चो तरिकाले काम गरेर हुन्छ ?


ओलम्पिकमा सांसददेखि धेरैको आकर्षण देखिरहेको छु । मलाई पनि तीनवटा संघले लिखित रूपकै ओलम्पिकमा प्रतिनिधित्वका लागि अनुरोध गरेका थिए । मैले उहाँहरूलाई हार्दिक धन्यवाद दिएँ र मैले के भनेँ भने, म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव, कार्यकारी निकायको नेतृत्वमा रहँदा रहँदै ओलम्पिक कमिटीको पुच्छर बनेर जान्न, भविश्यमा पनि मलाई कुनै रुचि छैन ।


संघमा अरूलाई न्याकेर ओलम्पिकमा भर्‍याङ बनाउने काम मबाट हुँदैन । त्यो राम्रो काम पनि होइन । उहाँहरूले बुझ्नुपर्छं । जबसम्म आफ्नो संघको गतिविधि उल्लेखनीय हुँदैन, अर्काको संघमा गएर कुनै अर्थ छैन । मेरो एउटा सिद्धान्त के छ भने, आफ्नो घर चाहिँ कमजोर छ अनि अर्काको घर बलियो बनाउन त्यसले के योगदान गर्ला ? पहिला त आफ्नै घर बलियो बनाउनुपर्‍यो नि । अर्को कुरा यो पनि घोषणा गर्छु कि म कुनै संघमा बस्दिनँ । चाहे अध्यक्ष होस्, चाहे सदस्य होस् वा संरक्षक, सल्लाहकार बस्दिनँ । म ओलम्पिक कमिटीमा जान्नँ । यो मेरो प्रतिबद्धता हो ।


त्यतिमात्र होइन, आवश्यक पर्‍यो भने म सेभ द मिसन पनि जान्नँ । इमानदारीपूर्वक देशकै नाम कमाउने ढंगले हो भने सोच्न सकिन्छ, बदनामी ढंगले हो भने म जान्नँ । देशभित्रको खेलकुदको विकासको म जिम्मेबारी लिन्छु, मेरा संघहरूले अरूसँग कसरी समन्वय गर्ने भन्नेबारे म जिम्मेबारी लिन्छु, तर डुलेर हिँड्ने डुलुवा संगठन बन्ने, इज्जत प्रतिष्ठा नभएको संगठन बन्ने काम म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहुन्जेल हुँदैन ।

प्रकाशित : भाद्र १७, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?