२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

दीपक परियार

पोखरा — नेपाल पुलिस क्लबले न्यु डायमन्ड एकेडेमीलाई हराउँदै राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । लामाचौर तीज महोत्सवका अवसरमा पोखरामा आयोजित प्रतियोगितामा सोमबार पुलिसले ३–० को सोझो सेटमा न्यु डायमन्डलाई हरायो ।

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

पुलिसले पहिलो सेटमा २५–१६ को सहज जित निकाल्यो । दोस्रो सेटमा २५–१४ मै पाखा लगायो । तेस्रो सेटमा न्यु डायमन्ड खेलमा फर्किन खोजे पनि पुलिसका अनुभवी खेलाडीसामु जोर चलेन । अन्ततः तेस्रो सेट पनि २५–२० ले पुलिसको पोल्टामा पर्‍यो । दर्शकको साथ पाउँदापाउँदै पनि न्यु डायमन्डको उपाधि जित्ने चाहना अधुरै रह्यो ।


न्यु डायमन्डबाट ‘कम ब्याक’ गरेकी पोखरेली खेलाडी सिपोरा गुरुङले उत्कृष्ट प्रदर्शन गर्न सकिनन् । बरु तेस्रो सेटको मध्यतिर उनको स्थानमा आएकी रिमा कुँवरले टिमलाई खेलमा फर्काउन खोजेकी थिइन् । प्रशिक्षक कुमार राईले सिपोरा अन्तिम समयमा टिममा समावेश भएकाले संयोजन नमिलेको बताए ।


पहिले घुँडामा लागेको चोटले पनि उनलाई खेल्न सहज नभएको राईले जनाए । ‘धेरै समय ग्याप भएकोले पनि उनलाई प्रशिक्षणको खाँचो छ,’ उनले भने, ‘पहिले ओपन स्पाइकरका रूपमा खेलेको भएर अहिले अलराउन्डर पोजिसनमा खेल्दा अल्मलिएको देखियो ।’ आफ्नो टिमको ब्लकिङ कमजोर हुँदा हार व्यहोर्नुपरेको उनी बताउँछन् ।


पुलिसका प्रशिक्षक रूपेश विष्टले खेलाडीको प्रदर्शन सोचेअनुरूप नै भएको बताए । भने, ‘क्विक स्पाइकरको प्रदर्शन अझै राम्रो भएको भए जित्न झनै सहज हुने थियो ।’ आगामी सागमा बीच भलिबलमा छनोट भएका कप्तान कोपिला उप्रेती, पुष्पा चौधरी र मनीषा चौधरी पुलिसबाट खेलेकाले पनि टिमको प्रदर्शन राम्रो रह्यो ।


पुलिसले लामाचौरमा दोस्रोपल्ट उपाधि जितेको हो । प्रतियोगितामा समूह चरणको खेलमा पुलिसले ३–२ को सेटमा न्यु डायमन्डलाई हराएको थियो । दाङलाई हराएर गण्डकी प्रदेश तेस्रो हुन सफल भयो । गण्डकीले दाङलाई २५–१३, २५–२० र २५–१८ को सोझो सेटमा हरायो ।


उत्कृष्ट खेलाडी पुलिसकी मनीषा चौधरी, पुलिसकी सुशीला थापा उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो गण्डकी प्रदेशकी रस्मिता दुरा, उत्कृष्ट स्पाइकर पुलिसकी कोपिला उप्रेती, उत्कृष्ट सर्भर न्यु डायमन्डकी झरना श्रेष्ठ, उत्कृष्ट क्विकर गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी र उत्कृष्ट ब्लकर पुलिसकी पुष्पा चौधरी घोषित भए ।


विजेताले एक लाख १ सय ५५ रुपैयाँ, उपविजेताले ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेले २५ हजार ५ रुपैयाँ प्राप्त गरे । विजेता टिम र खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरे । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवका अवसरमा हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?