कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एसीसी यू–१९ एसिया कप : पहिचान बनाउने अवसर

विनोद पाण्डे

काठमाडौँ — उमेर समूहको प्रतियोगितामा नेपाली क्रिकेटले धेरै आशा गरेको हुन्छ । यू–१९ मा त अझ बढी । बिहीबारदेखि श्रीलंकामा सुरु हुने एसीसी यू–१९ एसिया कपमा नेपालबाट खासै धेरै अपेक्षा गरिएको छैन ।

एसीसी यू–१९ एसिया कप : पहिचान बनाउने अवसर

पछिल्ला खेलहरूको नतिजाले नेपाली युवा टोलीबाट खासै ठूलो नतिजाको आशा गर्ने स्थिति नबनेको देखाउँछ ।

यू–१९ एसिया कपमा नेपालले धेरै आशा गर्ने ठाउँ पनि रहँदैन । तर धेरै हदसम्म नेपाली क्रिकेटको पहिचान नै यू–१९ मा रहेको छ । नेपालले ७ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ । यस क्रममा विश्व क्रिकेटका हस्तीहरू नेपालको सिकार भइसकेका छन् । पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावेलाई नेपालसँग यू–१९ मा खेल्नुका कस्ट राम्रोसँग थाहा छ । यी सबै राष्ट्रमाथि नेपालले यू–१९ विश्वकपमा विजय हात पारेका छन् ।

पछिल्ला दुई संस्करणमा भने नेपाल यू–१९ विश्वकपमा पुग्न असफल रहेको छ । यसको प्रभाव राष्ट्रिय टोलीसम्म देखिन लागेको छ । २०१८ को यू–१९ विश्वकपको एसियाली छनोटमा नेपाललाई अफगानिस्तानले कुनै मौका दिएन । अप्रिलमा मलेसियामा भएको २०२० को यू–१९ विश्वकप छनोटमा नेपालले अर्को दुर्भाग्य बेहोर्नुपर्‍यो । नेपाल मजबुत देखिएको समयमा वर्षाले प्रभावित पारेपछि निर्णायक खेलमा यूएईसँग १ रनले पराजित हुँदै दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपबाट बाहिरिन पुग्यो ।

त्यही यूएईसँग नेपालले कोलम्बोमा एसिया कपको समूह चरणमा खेल्नेछ । सेप्टेम्बर ५ देखि १४ सम्म हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगैं रहेको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले सेप्टेम्बर ६ मा श्रीलंका, ८ मा बंगलादेश र १० मा यूएईसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

श्रीलंका र बंगलादेश त्यसै माथिल्लो स्तरका प्रतिद्वन्द्वी हुन् । विश्वकपमा खेल्ने भनेर यूएईले अझ राम्रो तयारी गरेको छ । विश्वकपमा पुगेपछि यूएईलाई एसिया कपमा सोझै प्रवेश दिइएको छ । नेपालका प्रशिक्षक सजिलो नभएको स्विकार्छन् । ‘यी तीनै टोलीले राम्रो तयारी गरेका छन् भन्ने हामीलाई थाहा छ, त्यसैले उनीहरूलाई चुनौती दिन सजिलो हुने छैन,’ दासले भने, ‘हामीले पछिल्ला अभ्यास खेलहरूमा के देखेका छौं भने हामीले पनि उनीहरूलाई सजिलो हुन दिने छैनौं । उनीहरूलाई हामीलाई पराजित गर्न सजिलो हुने छैन । एउटा के हो भने हामीले आफ्नो क्षमताभन्दा माथिल्लो स्तरमा खेल्नुपर्छ ।’

नेपालले जुलाईमा मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई सजिलै ६ विकेटले पराजित गरी एसिया कपमा छनोट भएको हो । त्यस टोलीका विशाल विक्रम केसी र तिलक भण्डारीको स्थानमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङलाई राखिएको छ । त्यसयता नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेलेर एसिया कपको तयारी गरेको छ । दुई खेलमा पराजित भए पनि अभ्यासमा नेपालको प्रदर्शनबाट प्रशिक्षक दास सन्तुष्ट छन् ।

प्रशिक्षक विनोद दास कप्तान रोहित पौडेल र अर्का खेलाडीलाई निर्देशन दिँदै । तस्बिर साैजन्य : रमन सिवाकाेटी

‘हाम्रो तयारी राम्रो भएको छ । हामीले तीन स्तरीय टोलीसँग अभ्यास खेल खेल्यौं । तेस्रो अभ्यास खेलमा १० ओभरपछिको ब्याटिङ हाम्रो स्तरअनुरूपको थिएन । यसको कारण हामीले ती ओभरहरूमा सही निर्णय लिन सकेनौं,’ दासले अभ्यास खेललाई लिएर भन्छन्, ‘त्यसबाहेक हामीले निरन्तर राम्रो गरेका छौं । यो प्रतियोगितामा राम्रो गर्नेमा टिम पूरै आशावादी छ ।’

कप्तान रोहित पौडेलसहित आशिफ, पवन सर्राफ, सन्दीप जोरा र भीम सार्की नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । पवन अलराउन्डर हुन् । बाँकी चार ब्याट्सम्यान । नेपालको मुख्य आशा यिनै ब्याट्सम्यानमा छ । विशेषगरी आसिफसहित रित गौतमले अभ्यास खेलहरूमा राम्रो लय देखाएका छन् । पवनले ब्याटिङमा अझै प्रभाव पार्न सकेका छैनन् ।

उमेर समूहमा नेपालको अर्को पहिचान यसै प्रतियोगितामा छ । यू–१९ विश्वकपमा नेपालले अझै श्रीलंका र भारतलाई पराजित गर्न सकेको छैन । दुई वर्षअघि मलेसियामा एसीसी यू–१९ एसिया कपमा नेपालले इतिहासकै सबैभन्दा ठूलो विजय हात पार्‍यो । नेपालले राहुल द्रबिडको प्रशिक्षणमा रहेको भारतलाई १९ रनले पराजित गर्‍यो । भारतमाथि कुनै पनि स्तरमा नेपालको यो पहिलो विजय थियो ।

श्रीलंकामा २०१६ को यू–१९ एसिया कपमा नेपाल एतिहास विजयको नजिक थियो । दीपेन्द्रसिंह ऐरीको ९० रनमा नेपाल पहिलो पटक श्रीलंकालाई पराजित गर्ने क्रममा पुगेको थियो । अन्तमा नेपालले १ रनको दुर्भाग्य हार बेहोर्नुपर्‍यो । यस पटक समूह चरणमा नेपालले फेरि श्रीलंकाको सामना गर्दै छ । विगतको जस्तो सशक्त टोली नभए पनि यू–१९ मा नेपाल कहिल्यै अनुमान गर्ने टोली होइन ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?