१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रोकियो युनाइटेड

काठमाडौँ — साउथह्याम्पटन (एएफपी)– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजन सुरुआती चारमध्ये तीन खेलमा अंक गुमाएको छ । शनिबार सेन्ट मेरिजमा १० खेलाडीमा समेटिएको साउथह्याम्पटनसँग युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

रोकियो युनाइटेड

१ करोड ५० लाख पाउन्डमा स्वान्सी सिटीबाट अनुबन्ध गरिएका डानियल जेम्सको सानदार लय जारी रह्यो । उनले सुरुआती १० मिनेटभित्रै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर पछिल्लो सिजनको अन्त्यतिर रक्षापंक्तिमा देखिएको ठूलो समस्या समाधान गर्न नर्वेली प्रशिक्षक ओले गनर सोल्सायर अझै सफल भइनसकेको प्रमाणस्वरुप दोस्रो हाफको १८ औं मिनेटमा जेन्निक भेस्टरगार्डले हेड गोल गरी खेल बराबरीमा ल्याए ।


केभिन डान्सो दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि ७३ औं मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको हो । त्यसपछि खेलमा एकपक्षीय दबाब बढाए पनि युनाइटेडले गोल गर्न सकेन । युनाइटेडले सिजनको सुरुआती ४ खेलमा ५ अंकमात्र जोडेको छ । पहिलो खेलमा चेल्सीमाथि ४–० को जित रचेको युनाइटेड दोस्रो खेलमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा क्रिस्टल प्यालेससँग २–१ ले हारेको थियो ।


सुरुआती १० मिनेटसम्म साउथह्याम्पटनले दबाब बनाएको थियो । तर पहिलो आक्रमणमै जेम्सले सफलता पाएका हुन् । एलेक्सिस सान्चेज लोनमा इन्टर मिलान गएपछि शीर्ष डिभिजनको लिगमा वेल्सका विंगर जेम्सले धेरै समय खेल्न पाउने निश्चित भएको थियो । तर प्रिमियर लिगको ४ खेलमा उनले गरेको गोलसंख्या सान्चेजले पछिल्लो १८ महिनामा गरेकै बराबर हो ।


लगत्तै पाहुना टोली युनाइटेडले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । मार्कस रासफोर्डको खतरनाक क्रममा जेम्सले नै बल भेट्टाउन चुकेका थिए । प्रशिक्षक सोल्सायरले शुक्रबार रासफोर्ड र एन्थोनी मार्सलको लयलाई लिएर खुसी भएको दाबी गरेका थिए । तिघ्राको चोटका कारण मार्सलले सेन्ट मेरिजमा खेल्न सकेनन् । रोमेलु लुकाकु र सान्चेजको बहिर्गमनपछि उनीहरूबीच यी दुईलाई गोल स्कोरिङको नेतृत्व गर्ने जिम्मा आएको छ ।


सानदार प्रदर्शन गरे पनि रासफोर्डले शनिबार गोल गर्न असफल रहे । पछिल्लो सिजन ५४ गोल खाएको युनाइटेडले आफ्नो कमजोर रक्षापंक्ति सुधारका लागि आरोन भान बिसाका र विश्वकै महँगो डिफेन्डरका रूपमा ह्यारी मगायरलाई अनुबन्ध गरेको थियो । तर सोल्सायरको रक्षापंक्तिकै कमजोरीमा साउथह्याम्पटनले दुईपल्टको प्रयासमा बराबरी गोल गर्न सफल रह्यो ।


५८ औं मिनेटमा ड्यानी इङ्सको हेडर युनाइटेडका गोलरक्षक डेविड डी जियाले उत्कृष्ट बचाउ गरेका थिए । तर डान्सोले रिबाउन्ड बल सदुपयोग गरी दिएको क्रसमा वेस्टरगार्डले हेडमार्फत नै गोल गर्न सफल रहे । गोलका लागि उत्कृष्ट योगदान गरेको १७ मिनेटपछि डान्सो दुई पहेँलो कार्डका कारण मैदान छाड्न बाध्य रहे । युनाइटेडका स्कट म्याक्टोमेनीमाथि खतरनाक फाउल गरेपछि उनलाई ७३ औं मिनेटमा पहेँलो कार्ड दिइएको थियो । यसअघि १९ औं मिनेटमा उनले पहिलो पहेँलो कार्ड पाएका थिए ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?