३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गण्डकी र डायमन्ड विजयी

(पोखरा) — गण्डकी प्रदेश र न्यु डायमन्ड क्लबले शनिबार राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । 

नवआदर्श सामुदायिक विकास समाजले लामाचौर तीज महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउन्ट बोर्डिङ काठमाडौंलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा हरायो । यु डायमन्ड एकेडेमीले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटै पराजित गरेको हो । पूर्व राष्ट्रिय खेलाडी सिपोरा गुरुङ लामो समयपछि खेलमा फर्किएकी छन् । उनी न्यु डायमन्डबाट यस प्रतियोगितामा सहभागी भएकी छन् ।


शनिबारै अन्य दुई खेल अत्यधिक वर्षाका कारण स्थगित भए । श्रीराम खेलकुद विकास समिति दाङविरुद्ध खेल जारी रहँदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसँगै तेस्रो सेटमा पानी परेकाले खेल स्थगित भएको नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए । शनिबार हुने भनिएको न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीचको खेल पनि स्थगित भएको हो । स्थगित खेल आइतबार हुने संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।


सोमबारसम्म चल्ने प्रतियोगितामा साबिक विजेता एपीएफ क्लब सहभागी भएन । विजेताले १ लाख १ सय ५५ रुपैयाँ, उपविजेताले ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेले २५ हजार ५ रुपैयाँ प्राप्त गर्नेछन् ।


महोत्सवमा शनिबार भएको नरबहादुर बानियाँ स्मृति गण्डकी प्रदेशस्तरीय सितेरियो कराँतेमा गोरखा पहिलो भएको छ । गोरखाले ६ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्यो । २ स्वर्ण, ३ रजत र ५ कांस्य साथ कास्की दोस्रो र २ स्वर्ण, १ रजत र ५ कांस्यसाथ तनहुँ तेस्रो भए ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?