कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गुटगत लडाइँमा ओलम्पिक चुनाव

कुशल तिमल्सिना

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२ औं अध्यक्षसहित नयाँ कार्यसमितिका लागि भदौ २० मा हुने निर्वाचनमा प्रस्ट दुई गुट देखिएको छ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले संस्थापन समूहको नेतृत्व गरेका छन् भने असन्तुष्ट समूहबाट उमेशलाल श्रेष्ठको नेतृत्व छ । ओलम्पिकको इतिहासमै पहिलोपल्ट नेपालमा ओलम्पिक कमिटीको नेतृत्वका लागि दुई समूहले आ–आफ्नो प्यानल बनाएर चुनावी अभ्यास गर्दैछन् ।

गुटगत लडाइँमा ओलम्पिक चुनाव

२०५४ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव भएका बेला ओलम्पिक कमिटीमा पनि नेतृत्व लिएका जीवनराम पछिल्लो १२ वर्षयता दुई कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको भूमिकामा छन् । विधानतः अधिकार भन्दै उनी अध्यक्षमा लगातार दोस्रो कार्यकाललाई प्रयासरत छन् । उनको समूहमा महासचिवको उम्मेदवार नीलेन्द्रराज श्रेष्ठ छन् । पछिल्लो एक वर्षयता महासचिव लामा टेण्डी शेर्पा अस्वस्थ भएपछि नीलेन्द्रले नै अघोषित रूपमा महासचिवको कार्य गर्दै आएका थिए ।


चार वर्षअघि अध्यक्षमा ठूलो मतान्तरले पराजित पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ यसपालिको चुनावमा आत्मविश्वासी देखिएका छन् । डेढ वर्षदेखि आन्तरिक तयारी सुरु गरेको बताउने उनले पारदर्शीलाई चुनावको मुख्य एजेन्डा बनाएका छन् । विगतका चुनावमा जीवनरामका मुख्य सहयोगी पुरेन्द्रविक्रम लाखे अहिले उमेशलाल समूहका महासचिवका उम्मेदवार हुन् । पुरेन्द्रमात्र होइनन् जीवनराम कार्यकालका पदाधिकारी र केही सदस्यहरू पनि उमेशलालकै समूहमा प्रवेश गरेका छन् ।


ओलम्पिकमा आवद्ध राष्ट्रिय खेल संघका प्रतिनिधिहरूले मतदान गर्न पाउने एनओसी चुनावका लागि २७ मत रहेको छ । तीमध्ये २४ जना चुनावी प्रतिस्पर्धामा छन् । उपमहासचिव पिताम्बर तिम्सिना र कोषाध्यक्ष रतन टण्डन निर्विरोध चयन भइसकेका छन् । निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेदवार सूचीमा अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवमा २, ३ सचिवका लागि ४ तथा ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी छ ।


अनौपचारिक कुराकानीमा दुवै समूहले आफ्नो मत १९ देखि २० रहेको दाबी गर्दै आएको छ । ओलम्पिक मुभमेन्टको सफल अवतरणका लागि उम्मेदवारी दिएको बताउने जीवनराम र आर्थिक, नीतिगत पारदर्शिताका लागि परिवर्तनको नारा दिएको उमेशलाल समूहबीच यसपल्ट कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ‘अघिल्लो चुनावमा जस्तो एकपक्षीय चाहिँ हुँदैन, यसपालि चुनाव भयो भने कडा प्रतिस्पर्धा हुनेछ,’ ओलम्पिककै एक पदाधिकारीले भने ।


महासचिवका उम्मेदवार दुवैले आफूले जित्ने दाबी गरे । पुरेन्द्रविक्रमले १२ वर्षसम्म आफू ओलम्पिक कमिटीको कार्यसमितिमा रहँदा पारदर्शिता शून्य देखिएकाले परिवर्तनको नारासहित महासचिवमा उम्मेद्वारी दिएको बताए । वर्तमान कमिटीमा उपाध्यक्ष रहेका उनले भने, ‘१२ वर्षदेखि कमिटीमा छु, पारदर्शिता भनेको के हो थाहा भएन । परिवर्तन हाम्रो अभियान हो । त्यसबाहेक उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारीसहित सामूहिक नेतृत्वको भावना विकास गर्नुपर्ने आजको आवश्यकता पनि हो ।’


महासचिवका अर्का प्रत्याशी नीलेन्द्रराजले आफ्नो समूहको जित निश्चित रहेको दाबी गरे । ‘२०/२१ जना साथीहरूको साथ हामीलाई हुनेछ । अहिले नै पूरै प्यानल नै भनेर बनाएका छैनौं, आवश्यक पर्‍यो भने त्यसका लागि पनि समय छ,’ उनले भने । अध्यक्षका दुवै उम्मेदवारले पनि प्यानल नबनाउने यसअघि नै बताइसकेका छन् ।


एनओसी नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय खेलकुद परिषद्को भूमिका पनि अहम् हुनेछ । दुई महिनाअघि नियुक्त भएका सदस्य–सचिव रमेशकुमार सिलवाल सत्तारुढ दल नेकपाका प्रभावशाली मानिन्छन् । अध्यक्षका उम्मेदवार दुवै नेकपानिकट हुन् । जीवनराम नेकपाबाट निर्वाचित संघीय सांसद हुन् भने उमेशलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन् । सांसदलगायत हाइ–प्रोफाइलको आकर्षणको रूपमा रहेको ओलम्पिक कमिटीमा सदस्य–सचिव सिलवालले आफ्नो भूमिका लिन सक्छन् ।


यस्तो भएमा उमेशलालको सम्भावना बढी देखिन्छ । जीवनराम नेकपाभित्रै पनि माधव नेपाल निकट हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताका आधारमा संस्थापक नेताका सन्तानका लागि सहमतिको खाका कोरिन सक्छ । नेकपा निकट राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने चुनावमा राखेपले हस्तक्षेप नगर्ने बरु दुवै उम्मेदवारबीच साझा सहमति गरी चुनाव नगर्ने वातावरण बनाउन प्रयासरत हुने दाबी गरे । एथलेटिक्स संघको प्रतिनिधि भएर ओलम्पिक प्रवेश गरेका पिताम्बर उपमहासचिव पदमा निर्विरोध चयन भइसकेका छन् । उनले भदौ २० गते बिहानसम्म पनि दुवै पक्षबीच सहमति गराएर सबै पदमा निर्विरोध निर्वाचित गर्ने प्रयासमा राखेपदेखि खेलकुद मन्त्रालयसमेत रहने बताए ।


‘राखेप, मन्त्रालय दुवैले २०७६ सालमा नेपाली खेलकुदलाई विवादरहित बनाउने प्रण गरेको छ । उमेशजी र जीवनजी दुवैसँग छलफल गरेर सर्वसम्मत हुने प्रक्रियामा राखेपको प्राथमिकता रहनेछ,’ तिम्सिनाले भने, ‘मन्त्रीज्यू र सदस्यसचिवज्यूले छिट्टै यसको पहलकदमी लिनुहुनेछ ।’


ओलम्पिक कमिटीको इतिहासमा चार वर्षअघि पहिलोपल्ट निर्वाचन भएको थियो । अध्यक्ष र सदस्य पदका लागि भएको त्यस निर्वाचनमा समूहगत उम्मेदवारी थिए । नेपाल ओलम्पिक कमिटीले करिब ५७ वर्षे इतिहासमा त्यसअघिका कुनै पनि कार्यसमिति निर्वाचन प्रक्रियाबाट आएका होइनन् ।


‘खेलकुदमै सक्रिय हुने चाहना’

असार ९ गते राखेप सदस्य–सचिवको रूपमा चारवर्षे कार्यकाल अन्त्य गरी बाहिरिइएका केशवकुमार विष्टको ओलम्पिक मोह उल्लेख्य देखियो । उनले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनीसँगै कबड्डी संघकी अध्यक्ष तुलसा थापा, जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ सचिवको दौडमा छन् । सचिवमा तीनजना निर्वाचित हुनेछन् ।


‘ओलम्पिकको विधानमा नेतृत्वका लागि एक कार्यकाल कार्यसमितिमा रहने हुनुपर्दो रहेछ,’ कान्तिपुरसँगको कुराकानीमा नेपाल उसु फेडेरेसनका अध्यक्ष विष्टले भने । उनले उम्मेदवारी मनोनयनबाहेक आफूले चुनावका लागि केही तयारी नगरेको दाबी गरे । ‘मतदाताको हिसाबमा निर्वाचन सानो हुनेछ । सबैले सबैलाई चिन्नुभएको छ । भोट हाल्नुहुन्छ भन्ने विश्वास छ ।’


पूर्व सदस्य–सचिव विष्टले राखेपको सदस्यसचिव भएकाहरू खेलकुदमा कम सक्रिय रहेको पाइएकाले आफू भने यही क्षेत्रमा योगदान गर्न इच्छुक भएकै कारण उम्मेदवारी दिएको दाबी गरे । ‘जीवनराम, रुक्मशम्शेर (राणा ) र किशोरबहादुर (सिंह) जी बाहेक अन्य पूर्व सदस्यसचिव कोही पनि खेलकुदमा सक्रिय हुनुहुन्न, आफूले बुझेको क्षेत्रमा निरन्तरता दिने मेरो सोच हो,’ उनले भने ।

आफू सदस्यसचिव रहेका बेला नेपाल उसु संघमा देखिएको विवादबीच हस्तक्षेप गरी नेतृत्व लिएका विष्ट उसु फेडेरेसनको गठन गरी आफैं अध्यक्ष बनेका हुन् ।


प्रकाशित : भाद्र १४, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?