कप्तानमा किरण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्ध खेलका लागि गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मेवारी दिएका छन् । नेपालले कुवेतविरुद्ध भदौ १९ मा जाबेर अल अहमद रंगशालामा खेल्दै छ ।

ZenTravel

कम्बोडियामा सन् २००८ को मे २४ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका किरणले ५९ क्याप जितेका छन् । सन् २०१६ यताका कप्तान विराज महर्जन २३ सदस्यीय टिममा स्थान बनाउन असफल भएपछि गत सोमबार मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध १–० ले हारेको खेलमा सुजल श्रेष्ठलाई ‘आर्मब्यान्ड’ लगाउने अवसर दिइएको थियो ।

प्रकाशित : भाद्र १४, २०७६ ०९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘अंक जोड्न चाहन्छौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — स्विडिस प्रशिक्षक योहान कालिनको आगमनपछि नेपाली राष्ट्रिय फुटबल टिमले चार मैत्रीपूर्ण खेल खेल्यो । त्यसमा कुवेतविरुद्ध एक हार र एक बराबरी, चाइनिज ताइपेईविरुद्ध एक बराबरी र मलेसियासँग एक हारको नतिजा रह्यो । विश्वकप २०२२ छनोटको ‘ड्र’ मा नेपालले तिनै कुवेत र मलेसियासँगै अस्ट्रेलिया र जोर्डनलाई प्रतिद्वन्द्वी पाएको छ ।

कुवेत र ताइपेइविरुद्ध मैत्रीपूर्ण खेलको उत्साहप्रद नतिजाबारे मिडफिल्डर रोहित चन्दले भने, ‘ती मैत्रीपूर्ण खेलले एकअर्कालाई के–कस्तो खेल्छ भन्ने थाह भयो । त्यसैले फाइदा–घाटा दुवैलाई भयो । त्यसैअनुसार तयार हुनुपर्छ ।’ उनले थपे, ‘बराबरी गरे पनि कुवेत र ताइपेई बलिया छन् । मैत्रीपूर्ण खेल र प्रतियोगितामा गरिने प्रदर्शन फरक हुन्छ । हामी ‘अवे’ खेलमा अंक जोड्न चाहन्छौं ।’

राष्ट्रिय टिमको प्रशिक्षणमा शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भेटिएका रोहितले भने, ‘सबै प्रतिद्वन्द्वी बलिया छन् । हामी प्रशिक्षकको रणनीतिअनुसार राम्रो प्रदर्शन गर्न चाहन्छौं । राम्रो टिमविरुद्ध खेल्दा सिक्ने मौका पाउने आशा छ ।’ डिफेन्सलाई बलियो बनाउने र काउन्टरमा आक्रमण गर्ने कालिनको रणनीतिबारे उनले थपे, ‘उनको रणनीति, योजनामा अभ्यस्त हुने प्रयास गरिरहेको छु । उनको आगमनले टिम राम्रो भएको छ । खेलाडी फिट भइरहेका छन् । त्यसले खेललाई धेरै सहयोग पुग्छ । ठूला टिमविरुद्ध रक्षात्मक खेल्ने रणनीतिमा हामी केन्द्रित छौं ।’

खेलाडीको फिटनेसमा धेरै सुधार भएको उल्लेख गर्दै उनले भने, ‘म्याच फिटनेस बीचमा धेरै फरक परेको थियो । हाल मैत्रीपूर्ण खेलहरू र निरन्तर अभ्यासले राम्रो भइरहेको छ । नियमित खेलमार्फत् हामीले कसरी खेल्नुपर्छ र हाम्रो शरीरले के मागेको छ भन्ने थाह भएको छ । फिटनेस राम्रो भएपछि खेल्न सजिलो हुन्छ । आत्मविश्वास जाग्छ । अतिरिक्त मिहिनेत गरेर केही गर्न सक्नेमा ढुक्क होइन्छ ।’

राष्ट्रिय टिमबाट ५८ खेल खेलिसकेका रोहितले टिमको रक्षात्मक पक्ष बलियो भएको बतए । सुधारको पक्षबारे उनी बोले, ‘तुरुन्तै आक्रमण गर्नेमा सुधार आवश्यक छ । काउन्टरमा एकदमै छिटो निर्णय गर्ने र बल प्रहार गर्ने हुनुपर्छ ।’

प्रकाशित : भाद्र १४, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×