कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘अंक जोड्न चाहन्छौं’

काठमाडौँ — स्विडिस प्रशिक्षक योहान कालिनको आगमनपछि नेपाली राष्ट्रिय फुटबल टिमले चार मैत्रीपूर्ण खेल खेल्यो । त्यसमा कुवेतविरुद्ध एक हार र एक बराबरी, चाइनिज ताइपेईविरुद्ध एक बराबरी र मलेसियासँग एक हारको नतिजा रह्यो । विश्वकप २०२२ छनोटको ‘ड्र’ मा नेपालले तिनै कुवेत र मलेसियासँगै अस्ट्रेलिया र जोर्डनलाई प्रतिद्वन्द्वी पाएको छ ।

कुवेत र ताइपेइविरुद्ध मैत्रीपूर्ण खेलको उत्साहप्रद नतिजाबारे मिडफिल्डर रोहित चन्दले भने, ‘ती मैत्रीपूर्ण खेलले एकअर्कालाई के–कस्तो खेल्छ भन्ने थाह भयो । त्यसैले फाइदा–घाटा दुवैलाई भयो । त्यसैअनुसार तयार हुनुपर्छ ।’ उनले थपे, ‘बराबरी गरे पनि कुवेत र ताइपेई बलिया छन् । मैत्रीपूर्ण खेल र प्रतियोगितामा गरिने प्रदर्शन फरक हुन्छ । हामी ‘अवे’ खेलमा अंक जोड्न चाहन्छौं ।’


राष्ट्रिय टिमको प्रशिक्षणमा शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भेटिएका रोहितले भने, ‘सबै प्रतिद्वन्द्वी बलिया छन् । हामी प्रशिक्षकको रणनीतिअनुसार राम्रो प्रदर्शन गर्न चाहन्छौं । राम्रो टिमविरुद्ध खेल्दा सिक्ने मौका पाउने आशा छ ।’ डिफेन्सलाई बलियो बनाउने र काउन्टरमा आक्रमण गर्ने कालिनको रणनीतिबारे उनले थपे, ‘उनको रणनीति, योजनामा अभ्यस्त हुने प्रयास गरिरहेको छु । उनको आगमनले टिम राम्रो भएको छ । खेलाडी फिट भइरहेका छन् । त्यसले खेललाई धेरै सहयोग पुग्छ । ठूला टिमविरुद्ध रक्षात्मक खेल्ने रणनीतिमा हामी केन्द्रित छौं ।’


खेलाडीको फिटनेसमा धेरै सुधार भएको उल्लेख गर्दै उनले भने, ‘म्याच फिटनेस बीचमा धेरै फरक परेको थियो । हाल मैत्रीपूर्ण खेलहरू र निरन्तर अभ्यासले राम्रो भइरहेको छ । नियमित खेलमार्फत् हामीले कसरी खेल्नुपर्छ र हाम्रो शरीरले के मागेको छ भन्ने थाह भएको छ । फिटनेस राम्रो भएपछि खेल्न सजिलो हुन्छ । आत्मविश्वास जाग्छ । अतिरिक्त मिहिनेत गरेर केही गर्न सक्नेमा ढुक्क होइन्छ ।’


राष्ट्रिय टिमबाट ५८ खेल खेलिसकेका रोहितले टिमको रक्षात्मक पक्ष बलियो भएको बतए । सुधारको पक्षबारे उनी बोले, ‘तुरुन्तै आक्रमण गर्नेमा सुधार आवश्यक छ । काउन्टरमा एकदमै छिटो निर्णय गर्ने र बल प्रहार गर्ने हुनुपर्छ ।’


प्रकाशित : भाद्र १४, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?