२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

छलाङ मार्दै गौफ

(एएफपी)

न्युयोर्क — अमेरिकी सनसनी १५ वर्षीया कोको गौफले यूएस ओपनमा शनिबार राति डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकासँग खेल्ने अवसर जुटाएकी छन् । पुरुषतर्फ तेस्रो चरणमा वाकओभर प्राप्त भएपछि राफेल नडालको यात्रा अझ सजिलो भएको छ । 

छलाङ मार्दै गौफ

यसबीच विम्बल्डन च्याम्पियन सिमोना हालेप भने प्रतियोगिताबाट बाहिरिएकी छन् । लगातार तेस्रो वर्ष चाँडै चुनौती हुने क्रममा उनी तीन सेटको कडा प्रतिस्पर्धात्मक खेलमा १ सय १६ औं वरीयताकी टेलर टाउन्सेन्डसँग पराजित रहिन् । विम्बल्डनमा चौथो चरणसम्मको यात्रा तय गरेकी गौफ त्यसमा हालेपसँग नै पराजित रहेकी थिइन् । उनले हंगेरीकी क्वालिफायर टिमा बाबोसलाई ६–२, ४–६, ६–४ ले पराजित गरिन् । यसक्रममा उनी सन् १९९६ यता अन्तिम १६ पुग्ने सबैभन्दा कम उमेरकी खेलाडी भएकी छन् । त्यस वर्ष रुसी अन्ना कोर्निकोभाले त्यस्तो उपलब्धि हात पारेकी थिइन् । ‘म निकै रमाइरहेको छु र अहिलेसम्म तय गरेको यात्रामा खुसी पनि छु,’ गौफले भनिन् ।


तीनपल्टका यूएस ओपन विजेता नडालले भने अगाडि बढ्न कोर्टमै उत्रनुपरेन । उनका प्रतिद्वन्द्वी अस्ट्रेलियाली थानासी कोकिनकिस काँधको चोटका कारण आर्थर एस स्टेडियममा खेल्न असमर्थ रहे । अब १८ पल्टका ग्रान्ड स्लाम विजेता नडालले अन्तिम १६ मा प्रवेश गर्न दक्षिण कोरियाली क्वालिफायर चुङ हियोङको सामना गर्नेछन् । फाइनलसम्मको यात्रामा नडालले ठूला तीन नाममध्ये नोभाक जोकोभिच र रोजर फेडेररको सामना गर्नुपर्ने छैन ।


नडालको ‘पुल’ मा रहेकामध्ये सबैभन्दा माथिल्लो वरीयताका जर्मनीका एलेक्जान्डर जेरेभले अमेरिकाका फ्रान्सिस टिफोएलाई ६–३, ३–६, ६–२, २–६, ६–३ ले हराए । यूएस ओपनमा आफ्नो सबैभन्दा उत्कृष्ट यात्रा बराबरीको उपलब्धि हात पारेका जेरेभलाई छैटौं वरीयता प्राप्त छ । महिलातर्फ रोमानियाकी हालेप भने अमेरिकी टाउन्सेन्डसँग २–६, ६–३, ७–६ ले पराजित रहिन् । यसअघिका दुई संस्करणमा हालेप पहिलो चरणमै पराजित भएकी थिइन् । ‘मैले फेरि एकपल्ट राम्रो खेल्न सकिनँ,’ हालेपले खेलपछि भनिन्, ‘तर मैले अन्त्यसम्म भने संघर्ष गरिरहेँ ।’ अर्कोतर्फ जितमा टाउन्सेन्ड भने निकै खुसी देखिइन् । उनले भनिन्, ‘यो जितको मेरा लागि धेरै अर्थ छ । मैले यहाँसम्म पुग्न निकै लामो यात्रा तय गरेकी छु ।’


प्रकाशित : भाद्र १४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?