कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जापानमा खेल्ने आस

राजु घिसिङ

काठमाडौँ — नेपालका नम्बर एक गोलकिपर किरणकुमार चेम्जोङले जापानको तेस्रो डिभिजन ‘जे ३ लिग’ को क्लब फुजेदामा दिएको ‘ट्रायल’ लाई सकारात्मक रूपमा लिँदै व्यावसायिक सम्झौताको अवसर हात पार्ने आशा गरेका छन् ।

जापानमा खेल्ने आस

‘ट्रायल राम्रो भयो,’ जापानको २१ दिने यात्रामा फुजेदा एफसीको पहिलो टिमसँगै १५ दिन ट्रेनिङ गरेको उल्लेख गर्दै किरणले भने, ‘सबै सकारात्मक छन् । मलाई अनुबन्ध गर्न क्लब इच्छुक छ । मेरो पनि जापानमा व्यावसायिक लिग खेल्ने चाहना हो ।’ फुजेदाले डिसेम्बर, २०१९ मा बोलाएको उल्लेख गर्दै उनले त्यसै बेला व्यावसायिक सम्झौताबारे निश्चित हुने पनि बताए ।

विश्वकप २०२२ छनोटमा कुवेत र चाइनिज ताइपेईविरुद्ध राष्ट्रिय टिमबाट खेल्ने तयारीमा बुधबार स्वदेश फर्किएका किरण बिहीबारै एन्फा कम्प्लेक्समा भइरहेको ट्रेनिङमा फर्किएका छन् ।

जापानको शीर्ष डिभिजनको लिग हो, जे १ लिग । १८ क्लब सहभागी यस लिगलाई एसियाली फुटबलमा राम्रै मानिन्छ । दोस्रो डिभिजन (जे २ लिग) मा २२ क्लब खेलिरहेका छन् । अहिले चलिरहेको जे ३ लिगमा फुजेदासहित १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

‘होम एन्ड अवे’ का आधारमा ९–१० महिनासम्म चल्ने लिगमा २० खेलको समाप्तिमा फुजेदा २ अंकको अग्रतासहित शीर्षस्थानमा छ । यसबाट शीर्ष दुई टिमको बढुवा हुने प्रावधान छ तर त्यसका लागि क्लबले व्यावसायिक फुटबलमा रंगशाला, एकेडेमी, व्यवस्थापनलगायतमा जापान फुटबल संघ (जेएफए) को सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्छ ।

नेपालका पूर्व स्ट्राइकर सन्तोष साहुखल र आया मियोसीको सहयोगमा जापान पुगे पनि किरण हाल भारतको आई लिग क्लब मिर्नवा पन्जाबसँगको सम्झौतामा छन् । मिर्नवासँगको सम्झौता सेप्टेम्बर (२०१९) देखि मे (२०२०) सम्म रहेको उल्लेख गर्दै उनले भने, ‘मलाई रिलिज (फुकुवा) गरिदिनका लागि मिर्नवालाई आग्रह गर्नेछु । उसले रिलिज दिने विश्वास छ ।’ उनी झन्डै दुई महिनाअघि मिर्नवासँग नयाँ सिजनका लागि अनुबन्धित भएका थिए ।

उनले सिजनको ‘दोस्रो हाफ’ मा पन्जाब पुगेर यस क्लबलाई पहिलोपल्ट आई लिग च्याम्पियन (सन् २०१८) बनाउन सहयोग गरेका थिए । त्यसअघि किरणले टीसी स्पोर्ट्ससँग माल्दिभ्सको धिवेही प्रिमियर लिग (२०१७–१८) को उपाधि पनि जितेका थिए । थ्र्रीस्टार क्लबसँग सहिद स्मारक ‘ए’ डिभिजन र राष्ट्रिय लिग जितेका उनी तीन देशको लिग ट्रफी चुम्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

किरणले फुजेदामा ट्रायल दिन जाँदा मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध गत सोमबार भएको खेल गुमाएका थिए । कुवेत र ताइपेईसँगको खेलका लागि मुख्य प्रशिक्षक योहान कालिनले बिहीबार घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टिममा फर्किएका किरणले भने, ‘दक्षिण एसिया र जापानी क्लबको प्रशिक्षणमा धेरै फरक रहेछ । त्यहाँ हेर्दै व्यावसायिक लाग्ने । खेलाडीहरू निकै तीव्र दौडने, खेल्ने र खेल सामग्री पनि उस्तै अब्बल हुँदोरहेछ । यहाँको सँग तुलना गर्दा त्यहाँको ट्रेनिङ निकै कडा रहेछ । हामी अलि सुस्त नै रहेछौं ।’

फुजेदामा कार्यरत ब्राजिलको गोलकिपिङ कोचबाट धेरै सिकेको उल्लेख गर्दै २९ वर्षीय किरणले भने, ‘त्यहाँ दैनिक दुई सेसनको ट्रेनिङले मेरो फिटनेस राम्रो भएको महसुस गरेको छु ।

राष्ट्रिय टिमको खेललाई पनि फाइदा पुर्‍याउने छ ।’ विराज महर्जन टिममा स्थान बनाउन असफल भएपछि सम्भावित कप्तानको प्रतिस्पर्धामा रहेका उनले विश्वकप छनोटबारे बोले, ‘तीन महिनायता निरन्तर भइरहेको ट्रेनिङमा सबैले राम्रो गरिरहेका छन् । त्यसैले कुवेत र ताइपेईविरुद्ध राम्रो नतिजाका लागि प्रतिस्पर्धा गर्नेछौं ।’

किरण र रोहित फर्किए

काठमाडौं (कास)– मुख्य प्रशिक्षक योहान कालिनले किरण चेम्जोङ र रोहित चन्दलाई समावेश गर्दै विश्वकप २०२२ छनोटमा कुवेत र चाइनिज ताइपेईविरुद्धको खेलका लागि बिहीबार २३ सदस्यीय नेपाली टिम घोषणा गरेका छन् ।

गोलकिपर किरण जापानको तेस्रो डिभिजन क्लबमा ‘ट्रायल’ दिन र पर्सिजा जकार्तामा आबद्ध मिडफिल्डर रोहित इन्डोनेसियन लिग वानमा व्यस्त भएकाले गत सोमबार भएको मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्धको खेलमा नेपाली टिममा अनुपस्थित थिए । विश्वकप छनोटको अन्तिम तयारीमा खेलिएको उक्त खेलमा नेपाली टिम १–० ले पराजित भएको थियो ।

किरण र रोहितको आगमनसँगै गोलकिपर एलन न्यौपाने र फरवार्ड विमल राना राष्ट्रिय टिमबाट बाहिरिएका छन् । तीन वर्षयता नेपालको कप्तानी गर्दै आएका डिफेन्डर विराज महर्जन मलेसिया यात्रा गरेको टिममै स्थान बनाउन असफल भएका थिए । उनी एक दशकअघि अन्तर्राष्ट्रय फुटबलमा डेब्यू गरेयता राष्ट्रिय टिममा छनोट हुन नसकेको यो नै पहिलो हो ।

एसियन कप २०२३ छनोटका रूपमा पनि रहेको यस विश्वकप छनोटको पहिलो खेल कुवेतविरुद्ध भदौ १९ मा जाबेर अल अहमद रंगशालामा खेल्दै छ । त्यसपछि नेपालले भदौ २४ मा चाइनिज ताइपेईको यात्रा गर्नेछ । छनोटको समूह ‘बी’ मा चार वर्षअघिको एसियाली च्याम्पियन अस्ट्रेलिया, जोर्डन, ताइपेई, कुवेत र नेपाल छन् ।

नेपाली टिम (कुवेत र चाइनिज ताइपेईविरुद्ध)

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, डिफेन्स : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल मिडफिल्ड : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द, फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?