च्याम्पियन्स लिग ड्र : लिभरपुलको समूहमा नेपोली

एएफपी

मोनाको — युरोपियन च्याम्पियन्स लिगमा साबिक विजेता लिभरपुलले समूह चरणमा पुनः नेपोलीको सामना गर्नुपर्ने भएको छ । मोनाकोमा बिहीबार गरिएको ‘ड्र’ अनुसार बार्सिलोनाले कठिन समूहमा परेको छ ।

यूईएफए वर्ष खेलाडी भएका लिभरपुलका  भर्जिल भान डाइक । तस्बिर : एपी

योर्गन क्लोपको लिभरपुलले समूह ‘ई’ मा नेपोलीका साथै अस्ट्रियन च्याम्पियन साल्जबर्ग र बेल्जियन च्याम्पियनगेन्कसँग खेल्नेछ ।
समूह ‘एफ’ मा रहेको बार्सिलोनाले बोरुसिया डर्टमन्ड, इन्टर मिलान र स्लाभिया प्रागसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड एकै समूहमा परेका छन् ।

समूह ‘ए’ को अर्को दुई टोलीमा क्लब ब्रुग र गालाटासरे छन् । समूह ‘बी’ मा बायर्न म्युनिख, टोटेनहम, ओलम्पियाकोज र रेडस्टार बेलग्रेड तथा समूह ‘सी’ मा म्यानचेस्टर सिटी, साख्तर डोनेस्क, डिनामो जाग्रेब र एटलान्टा छन् । त्यस्तै समूह ‘डी’ मा युभेन्ट्स, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन र लोकोमोटिभ मस्को, समूह ‘जी’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बेन्फिका, लियोन र आरबी लिपजिङ तथा समूह ‘एच’ मा चेल्सी, अयाक्स,भ्यालेन्सिया र लिले छन् ।

लिभरपुललाई छैटौंपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका सेन्टर ब्याक भर्जिल भान डाइक यूईएफए वर्षको पुरुष फुटबलर भएका छन् । उनले बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् । महिलातर्फ लुकी ब्रोन्जले यो उपाधि हात पारिन् ।

उनले लियोनलाई महिला च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् भने विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनल पुर्‍याएकी थिइन् ।

नेदरल्यान्ड्सका कप्तान भान डाइकले युरोपको वर्षको उत्कृष्ट रक्षकको उपाधि पनि पाए । त्यस्तै लिभरपुलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक, अयाक्सका फ्रान्क डी जोङ उत्कृष्ट मिडफिल्डर र बार्सिलोनाका मेसी उत्कृष्ट फरवार्डमाचुनिएका थिए ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली यू–१९ विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा बादुरालिआ क्रिकेट क्लबलाई डकवर्थ लुइस पद्धतिमा ८५ रनले पराजित गरेको छ ।

कोलम्बोमा सिंहालिज स्पोर्ट्स क्लबसँगको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटलेपराजित भएको थियो ।

सरे क्रिकेट मैदानमा बिहीबार टस जितेको नेपाल ४६.४ ओभरमा २ सय ६ रनमा अलआउट भयो । नेपालको ब्याटिङका क्रममा वर्षाले प्रभावित खेलमा बादुरालिआलाई ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य दिइयो । तर टोली २३.१ ओभरमा८४ रनमै अलआउट भयो ।

पवन सर्राफलाई पहिलो ओभरमै गुमाएको नेपाल यू–१९ बाट रित गौतमले ७६ रन बनाए । १ सय २६ बल खेलेका उनले ४ चौका प्रहार गरे । हरिबहादुर चौहानले ७८ बलमा ५६ रन बनाउनेक्रममा २ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा २४, भीम सार्की १०, कप्तान रोहित पौडेल ३, खडकबहादुर बोहरा २ रनमा आउट भए । बादुरालिआका मालिन्दा करुणारत्ने, अभिष्का लकसन र थिलिना चामाथले २–२ विकेट लिए ।

बादुरालिआबाट थेभिन्दु डिकवेलेले ३१ र लकसनले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सागर ढकालले ५.१ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । पवन र कमलसिंह ऐरीले २–२ तथा कुशल मल्लले १ विकेट लिए ।श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म हुने यू–१९ एसिया कपको तयारीक्रममा रहेको नेपालले शुक्रबार यही मैदानमा चिलावमारियन्ससँग खेल्नेछ ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्