२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

विश्वकप फुटबल छनोट : नेपाली समर्थकको उत्साह बढ्दो

नारायण खड्का

(अस्ट्रेलिया) — सिड्नीका अनुज पराजुलीले नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोट खेलको टिकट बिक्री सुरु भएकै दिन खरिद गरे । स्थानीय फुटबल क्लबका खेलाडी उनीसँगै दुई दर्जन युवाले सोही दिन टिकट किनेका थिए । 

विश्वकप फुटबल छनोट : नेपाली समर्थकको उत्साह बढ्दो

करिब डेढ महिनापछि अस्ट्रेलियामा हुन लागेको विश्वकप छनोटप्रति अस्ट्रेलियामा रहेका नेपाली अत्यन्तै उत्साही देखिएका छन् । यहाँका नेपालीले खेलको समयमा होटल बुक गर्नेदेखि नेपाली झण्डासमेत संकलन गरिरहेका छन् । अक्टोबर १० तारिखमा राजधानी क्यानबेरामा हुन लागेको नेपाल र अस्ट्रेलियाको विश्वकप छनोट खेलका लागि स्टेडियममा नेपाली दर्शकका लागि अलग्गै सिटको ५ वटा ब्लक नै छुट्याइएको छ र त्यसमध्ये ४ ब्लकको टिकट बिक्री भइसकेको छ । स्टेडियमले नेपाली दर्शकका लागि टिमलाई सहयोग पुग्ने गरी मैदानछेउको तीन ब्लक र त्यसपछिको दुई ब्लक राखिदिएको छ । त्यसमध्ये ४ ब्लकको टिकट बिक्री भइसकेको हो भने बाँकी रहेको ब्लकका लागि ३५ डलर शुल्क सम्पूर्ण रूपमा ‘नेपाल समर्थक’ भनेर राखिएको हो ।

उक्त छनोट खेलको टिकट अगस्ट १३ तारिखदेखि नै खोलिएको थियो । २५ हजार दर्शक क्षमताको क्यानबेराको जीआईओ स्टेडियममा हुने उक्त खेलको करिब २५ प्रतिशत टिकट बिक्री भइसकेको छ । स्टेडियमबाट उपलब्ध जानकारीअनुसार न्युनतम १० डलरदेखि ८५ डलरसम्मका टिकट बिक्री खुला गरिएको छ ।

अस्ट्रेलियन–नेप्लिज फुटबल एसोसिएसनका अनुसार अहिलेसम्म ३ हजार बढी नेपाली दर्शकले अग्रिम टिकट खरिद गरिसकेका छन् भने यो संख्या १० हजारको हाराहारीमा पुग्ने विश्वास लिएको छ । संघले नेपालबाट आउने राष्ट्रिय टोलीलाई सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम तय गरेको छ । केही दिनअघि आयोजना गरिएको बैठकबाट नेपाली टोलीलाई अस्ट्रेलियामा आवश्यक सबै सुविधाहरू दिने निर्णय भएको निवर्तमान अध्यक्ष राजु मानन्धरले जानकारी गराए । उनले नेपाली टोली ६ दिनअघि नै अस्ट्रेलिया आउने भएकाले उनीहरूलाई अभ्यास गर्नका लागि मैदान खोजिने भएको छ । प्रतियोगिताअघि खेलाडी घाइते हुने सम्भावना रहेको भन्दै वार्मअप म्याचको साटो अभ्यासमा जोड दिइने भएको छ । यसैगरी नेपाली फुटबलको सर्वोच्च निकाय एन्फासँग समन्वय गरेर खेललाई अझ परिस्कृत गर्न आवश्यक कार्ययोजनासमेत बनाइने भएको छ ।

‘हामीले ३०–४० हजार डलर लाग्ने अनुमान गरेका छौं र उक्त रकम जुटाउनका लागि नेपाली राष्ट्रिय टोलीको जर्सी अस्ट्रेलियामा ल्याएर बिक्रीदेखि अन्य कार्यक्रम गर्ने योजना बनाएका छौं,’ संघका अध्यक्ष बिजेन बाटाजुले भने । उनले अहिले संघसँग १ हजार ३ सय बढी खेलाडी सदस्यका रूपमा जोडिएकाले नेपाली राष्ट्रिय टोलीलाई पुर्‍याउने सबै सहयोग जुटाउन आफूहरू तयार रहेको समेत जानकारी दिए ।

एनआरएन अस्ट्रेलियाले समेत नेपाली राष्ट्रिय टोलीलाई आवश्यक सहयोग पुर्‍याउने जनाएको छ । एनआरएन प्रवक्ता ज्ञानेन्द रेग्मीले नेपाली राष्ट्रिय टोलीलाई कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने छलफल चलिरहेको र यसबारे कार्यक्रम सार्वजनिक गरिने बताए ।

फुटबल फेडेरेसन अफ अस्ट्रेलिया (एफएफए) र क्यानबेरा सरकारले केही समय पहिल्यै प्रतियोगिताको तयारीबारे जानकारी गराइसकेको छ । अस्ट्रेलियाली टिमको यसपल्ट मार्क मिलिघनले कप्तानी गर्दैछन् भने अस्ट्रेलियाली टोलीका दुई स्टार खेलाडी टिम काहिल र मिले जेडिनाकलेसंन्यास लिइसकेका कारण उनीहरू नेपालसँगको खेलमा हुने छैनन् ।


प्रकाशित : भाद्र १२, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?