कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सर्वाधिक राशिको भलिबल अन्तिम साता

काठमाडौँ — सर्वाधिक पुरस्कार राशि दाबी गरिएको राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । प्रगतिशील युवा नेपालले प्रकाश दाहालको स्मृतिमा आयोजना गर्ने प्रतियोगितामा तीन विभागीयसहित कम्तीमा १० टोलीको सहभागिता हुने जनाएको छ । 

आयोजक वरिष्ठ उपाध्यक्षसमेत रहेका भलिबलका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङले १० भन्दा बढी क्लबले मौखिक रूपमा भाग लिने स्वीकृति दिएको जनाएका छन् । राष्ट्रिय खेलाडीले पनि सहभागिता जनाउन सक्ने गरी भलिबल संघमा पत्राचार गरिएको उनले बताएका छन् । हालै सेन्ट्रल जोन भलिबल सम्पन्न भएपछि राष्ट्रिय खेलाडी आराममा छन् ।


भलिबलले मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद तयारीका लागि बन्द प्रशिक्षण सुरु गर्दै छ । प्रकाश स्मृति भलिबल भदौ २४ देखि २८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुनेछ । सहभागी संख्याका आधारमा प्रतियोगिता लम्बिन सक्ने संयोजक गुरुङले बताए ।


गोरखाका युवाहरूको सक्रियतामा स्थापित प्रगतिशील युवा नेपालले स्थापनापछिको पहिलो कार्यक्रमको रूपमा भलिबल प्रतियोगिता गर्न लागेको हो । संस्थाका अध्यक्ष दीपक थापाले प्रतियोगितालाई हरेक दुई वर्षमा गर्ने योजना बनाएको बताए ।


लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । जुन नेपालमा हुने भलिबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार हो ।


उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख र चौथो हुने टोलीले ५० हजार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई बजाज मोटरसाइकल दिइनेछ । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही १० हजार पाउनेछन् । एक टिमले तीन विदेशी खेलाडी राख्न पाइनेछ ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?