कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एसियन एमेच्योर चेस काठमाडौंमा

काठमाडौँ — एसियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ राजधानीस्थित पार्क भिलेज बूढानीलकण्ठमा हुने भएको छ । कात्तिक २२ देखि २९ सम्म हुने च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) सँग आबद्ध एसियाका ५० देशका च्याम्पियनले प्रतिस्पर्धा गर्न पाउने छन् ।

‘फिडे रेटिङ २१०० मुनिका एसियाका हरेक देशका च्याम्पियन एमेच्योर खेलाडीले एसियन च्याम्पियनसिप खेल्न पाउँछन् । महिला र पुरुषमा एक–एक प्रतिनिधि हुन्छन् भने खुला रूपमा पनि सहभागी हुन पाइन्छ,’ नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले भने, ‘एसियामा नेपालको भौगोलिक अवस्थिति र सौन्दर्यले पनि चेस खेलाडीलाई यसपालि आकर्षित गरेको छ । समान स्तरका खेलाडीहरू सहभागी हुने भएकाले प्रतिस्पर्धाकै लागि पनि थुप्रैले इच्छा देखाएका छन् । त्यसैले पुरुषतर्फ करिब १५० र महिलामा ५० खेलाडी आउने अपेक्षा गरेका छौं ।’


नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले संयुक्त रूपमा आयोजना गर्ने एसियन एमेच्योर च्याम्पियनसिपमा पुरुष र महिलाका विजेताले विश्व एमेच्योर चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । गत वर्ष चीनको झेङजोउमा भएको च्याम्पियनसिपमा ११ देशका ७२ खेलाडी सहभागी थिए भने सन् २०१७ मा थाइल्यान्डको च्याङमाईको भएको संस्करणमा पुरुषतर्फ २४ देशका ९५ खेलाडी र महिलामा १० देशका ३३ जनाले प्रतिस्पर्धा गरेका थिए ।


उपाध्यक्ष खाइजुका अनुसार एसियन एमेच्योर चेस च्याम्पियनसिपमा १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइनेछ, जुन नेपालमा आयोजना भएका चेस प्रतियोगिताकै सबैभन्दा ठूलो पुरस्कार हुनेछ । करिब एक करोड रुपैयाँ खर्च लाग्ने बताइएको प्रतियोगितामा एसियाली चेस महासंघले १० हजार डलर उपलब्ध गराउने जनाइएको छ । सहभागी हुने देशको संख्या र पुरस्कारको आधारमा नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो चेस प्रतियोगिताको रूपमा एसियन एमेच्योर च्याम्पियनसिप हुने पनि उपाध्यक्ष खाइजुले दाबी गरे ।


नेपालमा पहिलोपल्ट अन्तर्राष्ट्रिय चेस प्रतियोगिता सन् २००३ मा भएको थियो । मखन चेसले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र बेलारुसका ९१ खेलाडीले २ लाख रुपैयाँ पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । फिडेको औपचारिक प्रतियोगिता नेपालमा हुन लागेको यो पाँचौं अवसर हो । दक्षिण एसियाली एमेच्योर चेस च्याम्पियनसिप (२०१४), एसियन जोनल ३.२ प्रतियोगिता (२०१५ र २०१७), काठमाडौं ओपन ग्रान्ड मास्टर (२०१८) नेपालमा सञ्चालित फिडेको औपचारिक प्रतियोगिता हुन् ।


१० लाख रुपैयाँ पुरस्कारको काठमाडौं ओपन ग्रान्ड मास्टरमा १२ देशका १ सय ६१ खेलाडी सहभागी थिए । तीन लाख ५० हजार पुरस्कारको दक्षिण एसियाली एमेच्योर चेस च्याम्पियनसिपमा ६ देशका १ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सीमित खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने एसियन जोनल ३.२ को दुवै संस्करणमा ५ लाख पुरस्कार राखिएको थियो ।


पहिलोपल्ट (२०१५) चार देशका ३३ खेलाडी थिए भने दोस्रो (२०१७) मा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दुवैका विजेताले विश्व च्याम्पियनसिप खेल्ने मौका पाएका थिए ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?