कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौं म्याराथन पुसमा

काठमाडौँ — काठमाडौं म्याराथनको १३ औं संस्करण पुस ५ मा आयोजना हुने भएको छ । यसअघि निरत्नर दसैंको पूर्वसन्ध्यामा आयोजना गरिँदै आएकोमा यसपल्ट पुसमा गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।

मंसिर २२ को पूर्वनिर्धारित समयमा १३ औं दक्षिण एसियाली खेलकुद परेकाले दुई साता पछाडि सारिएको आयोजक प्रो स्पोर्ट्सले जानकारी दिएको छ ।


पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको काठमाडौं म्याराथन पर्यटनको अफ सिजनको समयमा पारेर पर्यटकीय गतिविधि बढाउने योजनाअनुसार मिति परिवर्तन गरिएको आयोजकका प्रमुख नीलेन्द्र श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमा बताए ।


यस संस्करणमा पुरुष र महिला म्याराथन, हाफ म्याराथन, ५ किलोमिटर खुला दौड, कर्पोरेट रिले, ५ किलोमिटर छात्र/छात्रा दौड र ३ किलोमिटर ह्विलचियर रेस समावेश गरिएको छ । म्याराथनको पुरस्कार राशि भने घोषणा गरिएको छैन ।


विदेशी खेलाडीको सहभागिता बढाउन सम्बन्धित देशको एजेन्टमार्फत प्रचार अभियान सुरु गरिसकिएको आयोजकले जानकारी दिएको छ । गत संस्करणमा ५ हजारले सहभागिता जनाएको काठमाडौं म्याराथनमा यसपल्ट सहभागिता अझै बढाउन फेमिली रन पनि समावेश गरिएको छ ।


‘विदेशमा सहरको नामबाट स्थापित म्याराथन प्रतियोगिताहरू धेरै छन्, सबै स्थापित भइसकेका छन् । हामीले पनि नेपालको पहिचानका लागि काठमाडौं म्याराथन सुरु गरेका थियौं,’ श्रेष्ठले भने, ‘सर्वसाधारणलाई खेलकुद र स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका लागि पनि काठमाडौं म्याराथन स्थापित ब्रान्ड बनिसकेको छ । तर मुख्य उद्देश्यमा आंशिक सफलतामात्र मिलेको छ ।’


उनले स्थानीय सरकारसँगको समन्वयमा प्रतियोगिता भव्य बनाउने प्रतिबद्धता जनाए । काठमाडौंको व्यस्त सडकमा आयोजना हुने म्याराथन धावकको सुरक्षाका लागि पनि विशेष योजना बनाउने बताए । पत्रकार सम्मेलनमा गत संस्करणकी विजेता कान्छीमाया कोजुले खेलाडीको सुरक्षाप्रति संवेदनशील हुन अनुरोध गरेकी थिइन् ।


म्याराथनका लागि एयरलाइन्स पार्टनरको रूपमा ड्रागन एयरसँग प्रायोजन सम्झौता भएको छ । ड्रागन एयरकी कन्ट्रीहेड जुनु मलेकु र प्रो स्पोर्टसकी वागमती राईबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार ड्रागन एयरले १० लाख मूल्य बराबरको एयर टिकट प्रायोजन गर्नेछ ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?