कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डेब्युमा लुकाकुको गोल

एएफपी

मिलान — बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले डेब्युमा गोल गरेपछि इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा सोमबार राति लेसीलाई ४–० ले हरायो । यससँगै नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेले लिगमा शानदार सुरुआत पनि लिएका छन् ।

डेब्युमा लुकाकुको गोल

इन्टरले ७ करोड ३० लाख डलरमा लुकाकुलाई म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गरेको थियो । सान सिएरोमा भएको खेलमा लुकाकुको गोल टिमका लागि तेस्रो रह्यो । उनले बढुवा भएर माथिल्लो डिभिजन पुगेको लेसीका गोलरक्षक ग्याब्रियलको भुलमा सजिलै गोल गरे । त्यससँगै २६ वर्षीय लुकाकुले रंगशालामा उपस्थित ६५ हजार दर्शकको अभिवादन पनि स्विकारे । इन्टरले क्रोएसियाली खेलाडी मार्सेलो ब्रोजोभिचको गोलले २१ औं मिनेटमा अग्रता लिएको थियो ।


इन्टरमा छैटौं सिजन बिताइरहेका ब्रोजोभिचको क्लबका लागि यो १५ औं व्यक्तिगत गोल हो । लगत्तै सासौलोबाट ऋणमा आएका स्टेफानो सेनीले दोस्रो गोल थपे । लेसीले अन्तिम १५ मिनेटको खेल १० खेलाडीमा सीमित भएर खेलेको थियो । ब्राजिली खेलाडी डिएगो फारिस रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।


एन्टोनियो कान्डेरेभाले ८४ औं मिनेटमा चौथो गोल थपे । यो जितपछि इन्टरले उपाधि होडमा रहेका लगातार आठपल्टको डिफेन्डिङ च्याम्पियन युभेन्ट्स र गत सिजन दोस्रो रहेको नेपोलीसँगै सुरुआती सफलता चाखेको छ । यसअघि युभेन्ट्स र नेपोली दुवै सप्ताहन्तको खेलमा विजयी रहे ।


कोन्टेको आगमनपछि चिनियाँ लगानी रहेको इन्टरले सन् २०१० यता पहिलोपल्ट लिग जित्ने सम्भावना बोकेको छ । युभेन्ट्स र चेल्सीका पूर्व प्रशिक्षक कोन्टेले लुकानो स्पालेटीको स्थान लिएका हुन् । स्पालेटीको नेतृत्वमा इन्टर गत सिजन लिगको चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको थियो ।


कोन्टेले तीनपल्ट सिरी ‘ए’ र एकपल्ट इंग्लिस प्रिमियर लिग उपाधि जितेका छन् । खेलाडी छँदा लेसी नै कोन्टेको सुरुआती क्लब थियो । लेसी सात वर्षको अन्तरमा सिरी ‘ए’ मा उक्लेको हो । कोन्टेले पूर्व कप्तान माउरो इकार्डीलाई बेन्चमा पनि राखेनन् । अर्जेन्टिनी खेलाडीले इन्टर छाड्न अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?