२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

४ महिनामा १० प्रतियोगिता

प्रशिक्षक भन्छन्– ‘२०–२५ जनाले खेलेरमात्रै देशको फुटबल माथि जाँदैन । फुटबलको स्तर वृद्धि र विकासका लागि देशभर हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ । त्यसको लािग लामो अवधिको लिग नियमित हुनुपर्छ ।’
राजु घिसिङ

काठमाडौँ — सुरुका २३ वर्षमा तीन प्रतियोगितामै सीमित नेपाली राष्ट्रिय महिला फुटबल पछिल्लो दशक निकै व्यस्त बनेको छ । टोलीले नौ वर्षयता नौ प्रतियोगिता खेल्यो । मैत्रीपूर्ण खेलहरू थपिए ।

४ महिनामा १० प्रतियोगिता

यो वर्ष (सन् २०१९) मात्रै महिला टिमले तीन प्रतियोगिता खेलिसकेको छ । थप दुई प्रतियोगिता यसै वर्ष खेल्दैछ । सन् १९८६ को एसियन कपमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको महिला टिम सबैभन्दा बढी व्यस्त भएको यसैपालि हो ।

नेपालको महिला टिम मात्र होइन, पुरुष टिम पनि उत्तिकै व्यस्त छ । विश्वकप २०२२ छनोटको अन्तिम तयारीमा अभ्यासको लागि मलेसियन लिग सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध सोमबार प्रतिस्पर्धा गरेको राष्ट्रिय टिम र उमेर समूहको गरी नेपाली पुरुष टिमले चार महिनाभित्र सात वटा प्रतियोगिता खेल्दै छ ।

राष्ट्रिय टिम एसियन कप २०२३ छनोटको रूपमा पनि रहेको विश्वकप छनोटमै केन्द्रित छ । यू–१५/१६, यू–१८/१९ र यू–२३ टिम पनि मैदानमा ओर्लंदै छन् । यस व्यस्त तालिकाको पहिलो प्रतियोगिता हो, साफ यू–१६ च्याम्पियनसिप ।

साफ यू–१५ च्याम्पियनसिपमा दुईपल्ट फाइनल पुगेर पनि उपाधिविमुख भएको नेपाली टिमलाई दक्षिण एसियाली स्तरको उमेर समूहको फुटबल प्रतियोगितामा बलियै मानिन्छ । तर, वेस्ट बंगालस्थित कल्याणी रंगशालामा भइरहेको चौथो यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमै ठूलो झट्का बेहोर्‍यो ।

घरेलु टिम भारतविरुद्ध ५–० ले हार्‍यो, जुन नेपालका लागि लज्जास्पद नतिजा हो । पाँच देश सहभागी च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएर उपाधि आशा कायमै राखेको नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध मंगलबार र भुटानविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्दै छ । राउन्ड रोबिन लिगकममा शीर्ष दुईमा रहने टिमले उपाधिको लागि खेल्नेछन् ।

एएफसी यू–१६ च्याम्पियनसिपको तयारी पनि हो, साफ यू–१५ । प्रशिक्षक सुनील श्रेष्ठले सम्हालेको यस टिमकै खेलाडीले एएफसी छनोट खेल्नेछन्, जुन १४–२२ सेप्टेम्बरमा जोर्डनको जार्कामा हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाली युवा टिमले आयोजक जोर्डनसँगै ताजकिस्तान, श्रीलंका र कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो उमेर समूहमा नेपालले चौथोपल्ट एसियाली च्याम्पियनसिपमा छनोट हुने प्र्रयास गर्नेछ ।

साफ यू–१८ च्याम्पियनसिपको तेस्रो संस्करण नेपालले आयोजना गर्दै छ । हल्चोक मैदानमा २०–२९ सेप्टेम्बरमा हुने च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसाथ तयारी गरिरहेको छ । पाकिस्तानबाहेक दक्षिण एसियाका सबै (६) देश सहभागी साफ य–१८ मा नेपालले समूह चरणमा भुटान र माल्दिभ्सविरुद्ध खेल्ने । र, यो प्रतियोगिता पनि एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारी हो ।

एएफसी यू–१९ को छनोट नोभेम्बरमा इरानमा हुँदै छ । त्यसमा नेपालले इरानसँगै यूएई र किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले छनोट पार गरेर सन् २००४ मामात्रै यू–१९ को महादेशीय प्रतियोगिता खेलेको छ । त्यो सफलता एन्फा एकेडेमीको पहिलो ब्याचले दिलाएको थियो ।

नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोट दोस्रोपल्ट खेल्न लागेको हो । अक्टोबरमा इरानमा हुने छनोटमा नेपालले आयोजकसँगै उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्नेछ । त्यसका लागि पाँच दिने खुला छनोटमार्फत् ३७ खेलाडी चयन गरेर नियमित प्रशिक्षण गरिरहेको छ ।

नेपालले डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दैछ र यसको डिफेन्डिङ च्याम्पियन हो नेपाली टिम । सिनियर तीनलाई समावेश गरेर यू–२३ टिमले प्रतिस्पर्धा गर्ने सागमा यसपालि पनि नेपाल स्वाभाविक रूपमै स्वर्णको दाबेदार हो ।

महिलामा अवसर

सागमा पुरुष टिम यू–२३ हुने भए पनि महिलातर्फ भने राष्ट्रिय टिम नै मैदानमा ओर्लनेछ । त्यसैले १३ औं सागलाई महिला र पुरुषको प्रतिस्पर्धाको रूपमा बेग्लाबेग्लै हेर्ने हो भने चार महिनाभित्र नेपाली टिमले १० प्रतियोगिता खेल्दै छ । महिलातर्फ नेपाल पछिल्ला दुवै संस्करणको रजत पदक विजेता हो । घरेलु भूमिमा स्वर्ण जित्ने लक्ष्यसाथ तयारी भइरहेको महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए ।

महिला टिमले अर्को सातादेखि किर्गिस्तानको काराकोलमा हुने नाडेज्दा कप पनि खेल्दै छ, जुन १३ औं सागको तयारीको रूपमा रहेको छ । नाडेज्दा कपमा उज्वेकिस्तान, ताजकिस्तान, नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । ‘१३ औं सागअघि हामीभन्दा राम्रो टिमविरुद्ध खेल्न पाउनु महत्त्वपूर्ण हो । यसले हाम्रो कमी–कमजोरी पहिचान गरी त्यसलाई सागमा सच्याउन सहयोग पुग्ने छ,’ प्रशिक्षक खड्काले भने । महिलातर्फ उमेर समूहमा यू–१५ टिमले मात्रै यात्रा गर्दै छ ।

उसले भुटानमा सेप्टेम्बर दोस्रो साता थिम्पुमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्दैछ । यसको लागि एन्फाले ४२ खेलाडी छनोट गर्दै तयारी थालेको छ ।

विश्वकप छनोटमा नजर

चार महिनाभित्रका दस प्रतियोगितामध्ये सबैको ध्यान खिचेको छ विश्वकप छनोटले । नेपालले ५ सेप्टेम्बरमा कुवेतविरुद्ध जाबेर अल अहमद रंगशालामा प्रतिस्पर्धा गर्दै छनोट यात्रा सुरु गर्नेछ । नेपालले त्यसको पाँच दिनपछि नै कुवेत सिटीबाट ताइपेई नगर रंगशालामा पुगेर चाइनिज ताइपेईको सामना गर्नेछ ।

नेपालले सन् २०२० जुनसम्म हुने छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र ताइपेई, ‘होम एन्ड अवे’ को आधारमा प्रतिस्पर्धा गनेछ । यसमा ‘अन्डरडग’ को रूपमा रहेको नेपालले समूहको अन्तिम स्थानभन्दा माथि उक्लँदै एसियन कप २०२३ छनोटको अर्को चरणमा प्रवेश गर्ने प्रयास गर्नेछ ।

एक वर्षमा १४ प्रतियोगिता

चार महिनाभित्र हुने/भइरहेका १० प्रतियोगितालाई पनि जोड्दा नेपाली टिमले सन् २०१९ मा समग्रमा १५ प्रतियोगिता (१३ औं सागमा महिला र पुरुष फुटबललाई दुई प्रतियोगिता मानिएको) खेल्दै छ ।

यसमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले खेलेको एएफसी कप २०१९ लाई पनि समावेश गरिएको छ, जहाँ मनाङ जितविहिन (२ बराबर, ४ हार) सँगै समूह चरणबाट बाहिरिएको थियो । योहान कालिन नेतृत्वको राष्ट्रिय टिमले खेलेका चार मैत्रीपूर्ण खेल अलग पाटो हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपल्ट साफ महिला च्याम्पियनसिप आयोजना गरेको यसै बर्ष हो । विराटनगरमा भएको च्याम्पियनसिपमा नेपाली टिम फेरि फाइनल पुगेर रोकियो । नेपाललै उही पुरानै प्रतिद्वन्द्वी भारतले सिकार बनाएर लगातार पाँचौंपल्ट ट्रफी कब्जा गर्‍यो ।

महिला टिमले ओलम्पिक छनोटमा पहिालेपल्ट सहभागी हुँदै ऐतिहासिक दोस्रो चरण यात्रा पनि सन् २०१९ मै गर्‍यो । भारतविरुद्ध ऐतिहासिक जितसहित हिरो वुमेन्स गोल्डकप (भुवनेश्वर) मा उपविजेता भयो । युवा टिमले एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोटको दोस्रो चरण पनि यसैपालि खेल्यो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले जोर वर्षमा महिला र विजोर वर्षमा पुरुषको उमेर समूहको महादेशीय च्याम्पियनसिपको छनोट आयोजना गर्ने चलन छ । त्यसैले सन् २०१९ मा पुरुष टिमको प्रतियोगिता बढी देखिएको हो । सन् २०१८ मा महिला टिमका प्रतियोगिताको बाहुल्य रहेको थियो ।

गत वर्ष नेपाली टिमले खेलेका नौ प्रतियोगितामध्ये ओलम्पिक छनोट (पहिलो चरण), एएफसी यू–१९ च्याम्पियनसिप छनोट (पहिलो चरण), साफ यू–१८ च्याम्पियनसिप, साफ यू–१५ च्याम्पियनसिपमा महिला टिम भिडेका थिए । पुरुष टिमले एसियन कप छनोट, साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, एसियन गेम्स (यू २३), साफ यू–१५ च्याम्पियनसिप खेलेको थियो ।

‘नेपाली टिमले सबैभन्दा धेरै प्रतियोगिता खेलेको यसैपालि हो,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘हाम्रो स्तर वृृद्धिको लागि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका छौं । थुप्रै मैत्रीपूर्ण खेल र आमन्त्रण प्रतियोगितामा पनि निमन्त्रणा आइरहेका छन्, त्यस्ता प्रतिस्पर्धामा स्तर हेरेरमात्रै सहभागी हुनेछौं ।’ प्रतियोगिता बढेसँगै खर्च बढेको छ । केही प्रतियोगिताको खर्च अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले उपलब्ध गराउने र केहीमा एन्फा आफैंले बेहोर्नुपर्ने तुलाधरले बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा बढ्दो सहभागिताले मात्रै नेपाली फुटबलको विकास नहुने प्रशिक्षक मेघराज केसीले बताए । ‘उमेर समूहदेखि राष्ट्रिय टिमले धेरै खेलिरहेको छ । त्यसमा विचार गर्नुपर्ने घरेलु फुटबल के भइरहेको छ भन्ने हो,’ हाल थ्रीस्टार क्लब सम्हालिरहेका प्रशिक्षक केसीले भने, ‘ती २०–२५ जनाले खेलेरमात्रै देशको फुटबल माथि जाँदैन । स्तर वृद्धि र विकासका लागि देशभर हजारौं खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ । त्यसका लािग लामो अवधिको लिग नियमित हुनुपर्छ ।’


नेपाली टिमले चार महिनाभित्र खेल्ने प्रतियोगिता

पुरुष टिम

साफ यू–१५ च्याम्पियनसिप

२१–३१ अगस्ट, २०१९/वेस्ट बंगाल

विश्वकप २०२२ छनोट

५ सेप्टेम्बर, २०१९–४ जुन, २०२०

एएफसी यू–१६ च्याम्पियनसिप छनोट

१४–२२ सेप्टेम्बर, २०१९/जोर्डन

साफ यू–१८ च्याम्पियनसिप

२०–२९ सेप्टेम्बर, २०१९/काठमाडौं

एएफसी फुटसल च्याम्पियनसिप छनोट

२३–२५ अक्टोबर, २०१९/इरान

एएफसी यू–१९ च्याम्पियनसिप छनोट

६–१० नोभेम्बर, २०१९/इरान

१३ औं दक्षिण एसियाली खेलकुद (यू–२३)

१–१० डिसेम्बर, २०१९/काठमाडौं

महिला टिम

साफ यू–१५ महिला च्याम्पियनसिप

९–१५ सेप्टेम्बर, २०१९/भुटान

नाडेज्दा कप

६–१३ सेप्टेम्बर, २०१९/किर्गिस्तान

१३ औं दक्षिण एसियाली खेलकुद

१–१० डिसेम्बर, २०१९/पोखरा

प्रकाशित : भाद्र १०, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?