१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बार्सिलोनालाई ग्रिजमन नै पर्याप्त

एएफपी

बार्सिलोना — एन्टोइन ग्रिजमनले बार्सिलोना लियोनल मेसी र नेयमरबिना पनि खेल जित्न सक्छ भनेर प्रमाणित गरेपछि क्लबले आइतबार राति स्पेनी ला लिगामा रियल बेटिसलाई ५–२ ले हरायो ।

नोउ क्याम्पमा दोस्रो गोल गरेपछि ग्रिजमनले आत्मविश्वासपूर्ण खुसी मनाए र पूरा खेलको नायक उनी नै रहे ।


मेसी अझै पूरा फिटनेस प्राप्त गर्न संघर्षरत छन् । गत साता एथलेटिको बिलबाओविरुद्ध पराजित रहेपछि मेसीको अनुपस्थितिमा बाँकी खेलाडीको प्रदर्शनबारे प्रश्न उठेको थियो । ब्राजिली स्ट्राइकर नेयमार पेरिस सेन्ट जर्मेनबाट पुनः बार्सिलोना फर्किने चर्चा रहेको छ ।


बार्सिलोनाको जितमा कार्लोस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले पनि गोल गरे । बेटिसका लागि नबिल फेकिरले १५ औं मिनेटमा अग्रता दिलाए भने ७९ औं मिनेटमा गरेको गोल लेरोन मोरोनको नाममा रह्यो । यसबीचमा बार्सिलोनाले ५ गोल गरेको थियो ।


अंकतालिकामा बार्सिलोना एट्लेटिको म्याड्रिड पछाडि रहेको छ । एट्लेटिकोले आइतबारै अर्को खेलमा लेगानेसलाई १–० ले हरायो र आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । त्यसमा बेन्चबाट मैदानमा छिरेका भिटोलाले निर्णायक गोल गरेका थिए ।


टोटेनहम स्तब्ध

लन्डन– स्टिभ ब्रुसले टोटेनहममाथि इंग्लिस प्रिमियर लिगमा आफ्नो टिम न्युकासल युनाइटेडले आइतबार राति पाएको १–० को जित आलोचकको मुख बन्द गर्न पर्याप्त रहेको बताएका छन् । क्लब व्यवस्थापनको जिम्मा लिएयता ब्रुसको टिमले पाएको पहिलो लिग जितमा जोयलिन्टनले उत्कृष्ट गोल गरे । टिमको जिम्मा पाएयता लगातार आलोचनको सिकार रहेका ब्रुसका लागि यो अत्यावश्यक जित भएको छ ।


किशोरावस्थादेखि न्युकासलका समर्थक रहेका ब्रुसले टिम सम्हाल्ने दोस्रो डिभिजनको क्लब सेफिल्ड वेनस्डे छाडेका थिए । उनले यसक्रममा लोकप्रिय प्रशिक्षक राफेल बेनिटेजको स्थान लिएका थिए । टोटेनहमका लागि भने आफ्नो घरेलु मैदानमा बेहोरेको यो हार ठूलो धक्का रहेको छ ।


आइतबार रातिकै अर्को खेलमा वोल्भस र बर्नलीले १–१ को नतिजा निकोलेको छ । राउल जिमिनेजले पेनाल्टीबाट गोल गर्दै वोल्भसलाई हारबाट जोगाए । यसअघि बर्नलीले एस्ली बर्नसको गोलबाट अग्रता लिएको थियो ।


इटाली

मिलान– एसी मिलानले इटालीको सिरी ए मा आइतबार राति खराब सुरुआत लिएको छ । नयाँ ब्राजिली अनुबन्धित खेलाडी रोड्रिगो बोकाओले दोस्रो हाफमा निर्णायक गोल गरेपछि युडिनेसीले मिलानलाई १–० ले हरायो ।


गत सिजन पाँचौं स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिग गुमाएको मिलानमाथि युरोपा लिग खेल्न नपाउने गरेर प्रतिबन्ध पनि लगाएको छ । आइतबारकै अर्को प्रमुख खेलमा लाजियोले साम्पडोरियालाई ३–० ले हरायो ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?