आयोजना सफल, नतिजा कमजोर

कुशल तिमल्सिना

काठमाडौँ — नेपाल भलिबल संघले पहिलोपल्ट एसियालीस्तरको भलिबल प्रतियोगिता आयोजना गर्‍यो । एसियाका तल्लो वरीयताका टिम समेटेर आयोजना गरिँदै आएको एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको पाँचौं संस्करण नेपालमा आयोजना भएको हो ।

आयोजना सफल, नतिजा कमजोर

नतिजाका हिसाबमा खराब रहे पनि एसियालीस्तरको प्रतियोगिता असफल आयोजनाको दाबी गर्दै भलिबल संघ हौसिएको छ ।

एक साता चलेको प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानको टिम समावेश थिए । शनिबार फाइनलमा उज्वेकिस्तानलाई हराउँदै किर्गिस्तानले उपाधि जित्यो । घरेलु टोली नेपालको प्रदर्शन भने अहिलेसम्मकै कमजोर रह्यो । यसअघिका चारै संस्करणमा कम्तीमा सेमिफाइनलमा पुगेको नेपाल यसपल्ट पाँचौं भयो ।


प्रतियोगिता मात्र होइन नेपालले सेन्ट्रल जोनको साधारणसभा पनि आयोजना गरेको हो । डेढ वर्षअघि नेपालले यो जिम्मेवारी पाउँदा धेरै सदस्य राष्ट्रले शंका व्यक्त गरेका थिए । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दका अनुसार अहिले उनीहरू नै नेपालको आतिथ्य देखेर चकित बने ।


‘हामीले शंकाका बीच आयोजनाको अवसर पाएका थियौं,’ महासचिव चन्दले भने, ‘प्रतियोगिता मात्र होइन हामीले सेन्ट्रल जोनको कंग्रेस पनि सफल आयोजना गर्‍यौं । सेन्ट्रल जोनको इतिहासमै नेपालको जस्तो हस्पिटालिटी र व्यवस्थापन यसअघि देखिएको थिएन भनेर एभीसीकै प्रतिनिधिले भनेका छन् ।’


प्रतियोगिता सफल आयोजनाको दाबी भइरहँदा पूर्वाधारका कारणले भलिबल संघले बेहोरेको चुनौतीलाई बिर्सनु हुँदैन । सुरुमा राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा प्रतियोगिताको आयोजना गर्ने भनिएको थियो । पुनर्निर्माणको काम नसकिएका कारण त्रिभुवन आर्मी क्लबको कभर्डहलमा आयोजना गरियो । मुस्किलले ३ हजार दर्शक क्षमता रहेको सो स्थानमा नेपालको खेल भएको दिन दर्शक व्यवस्थापन गर्न हम्मे परेको थियो । सेन्ट्रल जोनको आयोजनासँगै भलिबल संघ यो निष्कर्षमा पुगेको छ कि आधुनिक संरचना हुने हो भने नेपाल एसियन च्याम्पियनसिपजस्तो प्रतियोगिता पनि आयोजना गर्न सक्षम छ ।


संघका महासचिव चन्दका अनुसार यसका लागि दुई आधार छन् । पहिलो : सेन्ट्रल जोनको आयोजनाका क्रममा पूर्वाधारबहेकको व्यवस्थापन अन्य अहिलेसम्मकै उत्कृष्ट रहेको प्रतिक्रिया आउनु, दोस्रो : नेपालमा भलिबलको लोकप्रियता । ‘हामीसँग आधुनिक वातानुकूलित कभर्डहल भएको खण्डमा एसियन च्याम्पियनसिप, क्लब च्याम्पियनसिपजस्ता प्रतियोगिता आयोजना गर्न सक्षम भएका छौं । यसले हाम्रो राष्ट्रिय टोलीका लागि पनि राम्रो एक्स्पोजर हुनेछ, भविष्यमा नेपाली खेलाडीलाई नै फाइदा हुनेछ,’ उनले थपे ।


सेन्ट्रल जोनको छैटौं संस्करण बंगलादेशमा र सातौं संस्करण माल्दिभ्समा आयोजना हुने उनले जानकारी दिए । यसै वर्षको नोभेम्बरमा बंगलादेशमा सेन्ट्रल जोन वुमन्स प्रतियोगिता पनि आयोजना हुनेछ । मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा त्यस प्रतियोगितामा सहभागिता जनाउने संघले जनाएको छ ।


घरमै आयोजना भएको प्रतियोगितामा ऐतिहासिक सफलता दिलाउने लक्ष्य टिमले लिएको थियो । तेस्रो संस्करणमा तेस्रो स्थान हासिल गर्दै नेपालले ४ दशकको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो एसियाली पदक जितेको थियो । त्योभन्दा ठूलो उपलब्धिको आशा संघले पनि गरेकै थियो । त्यसैका लागि विश्व भलिबल महासंघ (एफआईभी) को समन्वयमा नेदरल्यान्ड्सका प्रशिक्षक हान अविङले २ महिनादेखि नेपालको तयारीको नेतृत्व गरेका थिए । उनीसँगको तीनमहिने सम्झौता सेप्टेम्बर ५ मा सकिँदै छ ।


मुख्य प्रशिक्षकको भविष्य अनिश्चित भइरहँदा नेपाली टोली मंसिर १५ देखि २४ सम्म नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा व्यस्त हुनुपर्नेछ । भारत, पाकिस्तान र श्रीलंकाजस्ता बलिया टोलीविरुद्ध खेल्नुपर्ने यस प्रतियोगिता नेपालका लागि सेन्ट्रल जोनभन्दा ठूलो चुनौती हुनेछ । नतिजामुखी तयारीमा असफल देखिएका प्रशिक्षक हानको सम्झौता लम्ब्याउनेबारे भलिबल संघ इच्छुक देखिँदैन ।


‘हामीले उनलाई सेन्ट्रल जोनको नतिजा सुधार्नका लागि एफआईभीसँगको सहकार्यमा अनुबन्ध गरिएको थियो । हामीले अहिलेसम्मकै खराव नतिजा बेहोर्‍यौं । यसका कारणबारे हामी छिट्टै कार्यसमिति बैठकमा समीक्षा गर्नेछौं र प्रशिक्षकको भविष्यबारे निर्णय लिनेछौं,’ चन्दले भने ।


नेपालले समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससँग सोझो सेटमा पराजय बेहोरेको थियो भने पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानलाई ३–१ को सेटमा हराएको थियो । सम्झौताको अन्तिम समयमा पुग्दा प्रशिक्षक हानले आफू नेपाली टोलीसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको बताइसकेका छन् । बलिया टोलीविरुद्ध खेल्नुपर्ने १३ औं साग खेलकुदका लागि गर्नुपर्ने तयारीको खाका पनि उनले प्रस्तुत गरेका थिए । जसमा नेपाली खेलाडीमा पर्याप्त खेल अनुभवको आवश्यकता औंल्याइएको थियो । उनका अनुसार माल्दिभ्सविरुद्धको हार अनुभवहीनताकै परिणाम थियो ।


चन्दले टोलीको प्रदर्शन कमजोर देखिनुमा मनोवैज्ञानिक दबाबलाई मुख्य कारण मानेका छन् । ‘पहिलो खेलमा पराजित भएपछि जित्नैपर्ने अवस्थामा रहेको माल्दिभ्सविरुद्ध हाम्रा खेलाडी अनावश्यक दबाबमा देखिए । हलमा भरिभराउ समर्थकबीच उनीहरू हराएजस्ता देखिए,’ चन्दले भने, ‘प्रतियोगिताअघि मनोवैज्ञानिक प्रशिक्षण पनि दिनुपर्ने थियो कि भन्ने लागेको छ ।’

प्रकाशित : भाद्र ९, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?