३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लिभरपुललाई पछ्याउँदै सिटी

एएफपी

लन्डन — सर्जियो अगुइरोले गरेको दुई गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार बर्नमाउथलाई ३–१ ले पराजित गरी शीर्ष स्थानको लिभरपुलविरूद्ध दबाब कायमै राखेको छ । तीन खेलमा सिटीको यो दोस्रो विजय हो । अघिल्लो साता टोटनहमसँग २–२ को बराबरीमा रोकिएपछि सिटी शीर्ष स्थानको दौडमा पछि परेको थियो । 

लिभरपुललाई पछ्याउँदै सिटी

बर्नमाउथमा अर्जेन्टिनी स्ट्राइकर अगुइरोले १५ औं मिनेटमै सिटीको खाता खोले । उनले केभिन डी ब्रुनको क्रसमा गोल गरेका थिए । रहिम स्टर्लिङले ४३ औं मिनेटमा सिटीको अग्रतालाई दोब्बर बनाए । तीन प्रिमियर लिग खेलमा यो उनको पाँचौं गोल हो । मध्यान्तरको ठीक अगाडि ह्यारी विल्सनले २५ यार्ड टाढाबाट फ्रिकिकमा बर्नमाउथबाट गोल फर्काए । सिटीका रक्षकले विश्वासिलो प्रदर्शन गर्न नसके पनि अगुइरोले ६४ औं मिनेटमा गोल गर्दै सहज विजय दिलाए ।


३१ वर्षे अगुइरोको उच्च श्रेणीको फुटबलमा यो ४ सय गोल हो । सिटीसँग बर्नमाउथको प्रदर्शन गतिलो छैन । सिटीसँगको ९ खेलमा टोलीले २८ गोल खर्चिसकेको छ । यस पराजयपछि बर्नमाउथ १० औं स्थानमा झरेको छ । लिभरपुलभन्दा च्याम्पियन्स सिटी २ अंकले पछाडि छ ।


यसअघि लिरभपुलले लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्दै शनिबार राति आर्सनललाई ३–१ ले हरायो । त्यसमा मोहम्मद सलाहले जादुयी खेल प्रदर्शन गरे । योर्गन क्लोपको टिमलाई लगातार तेस्रो जित दिलाउन जोएल माटिपले पहिलो गोल गरे । त्यसमा सलाहले दुई गोल थपे । त्यसमध्ये तेस्रो गोलका लागि सलाहले उत्कृष्ट व्यक्तिगत प्रदर्शनको नमुना पनि पेस गरे । लिभरपुल तीनै खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा छ ।


यससँगै लिरभपुलले आर्सनलमाथि तीन अंकको अग्रता पनि खोल्यो । यसअघि आर्सनल पनि लगातार दुई खेल जितेर एनफिल्डमा भएको खेलमा उत्रेको थियो । तर कमजोर रक्षापंक्ति र दिशाहीन आक्रमणका कारण आर्सनल पराजित रहन बाध्य रह्यो । माटिपले ४१ औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको कर्नरबाट हेडबाट गोल गरे । डेबिड लुइजको भूलमा लिभरपुलले दोस्रो हाफको सुरुमै पेनाल्टीको अवसर पाए र त्यसमा सलाहले सजिलै गोल गरे ।


लिभरपुलका कप्तान जोर्डन हेन्डरसन शनिबार आर्सनलमाथि विजय हात पारेपछि । तस्बिर : एपी


उनको तेस्रो गोल ५९ औं मिनेटमा सम्भव भएको थियो, जति बेला लुइस र नाचो मोनरिललाई पन्छाएर बल अगाडि बढाएका इजिप्टका स्टार खेलाडीले सुन्दर गोल गरे । आर्सनलका लागि ८५ औं मिनेटमा लुकास टोरेराले एक गोल फर्काए तर यसले खेलमा कुनै परिवर्तन ल्याउन सकेन । ‘आज हाम्रो खेलमा सबै थियो, शक्ति, गति अनि खेल जित्ने लोभ । आर्सनलजस्तो बलियो टिमलाई हराउन यस्ता विशेषता चाहिन्छ नै,’ व्यवस्थापक क्लोपले प्रतिक्रिया दिए ।


स्पेन

म्याड्रिड– गेराथ बेल र जेम्स रोड्रिगुएजले दुई वर्षयता पहिलोपल्ट सँगै सुरुआत लिए पनि स्पेनी ला लिगामा शनिबार राति रियल म्याड्रिड रियल भालाडोलिडको हातबाट १–१ को बराबरीमा रोकिएको छ । सिजनको सुरुमा दुवै खेलाडीले क्लब छाड्ने निश्चित देखिएको थियो । तर प्रशिक्षक जिनेदिन जिदानले लगातार दोस्रो खेलमा कोही नयाँ खेलाडी अनुबन्धित खेलाडलाई सुरुदेखि मौका दिएनन् । रियलले करिम बेन्जेमाको गोलले ८२ औं मिनेटमा अग्रता लिएको थियो ।


रियल त्यति बेला जितबाट वञ्चित रहन बाध्य रह्यो, जति बेला सर्गी ग्वार्डिलाले ८८ औं मिनेटमा बराबरी गोल फर्काए र खेल बराबरीमा टुंगियो । बेल र जेम्स दुवैले घरेलु दर्शकको मन जित्ने खेल प्रदर्शन गरे । शनिबारका अन्य खेलमा लेभान्टेले भिल्लारियललाई २–१ र सेल्टा भिगोले भ्यालेन्सियालाई १–० ले हरायो । सेभिया लगातार दुई खेल जितेर ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ ।


इटाली

मिलान– कप्तान जर्जियो चिलिनीले गरेको निर्णायक गोल मदतले डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले शनिबार राति इटालीको सिरी एमा विजयी सुरुआत लिएको छ । उसले पार्मालाई १–० ले हरायो । क्लबका नयाँ प्रशिक्षक मउरिजो सारी भने निमोनियाका कारण खेलमा उपस्थित रहेनन् । अर्को खेलमा गत सिजनको उपविजेता नेपोलीले फियोरेन्टिनालाई ४–३ ले हरायो । त्यसमा कप्तान लोरेन्जो इन्सिग्नले दुई गरे । त्यसमध्ये ६७ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक रह्यो ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?