युनाइटेडको हार, चेल्सीको जित

एएफपी

लन्डन — ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई ३–२ ले पराजित गर्‍यो । फ्रान्क लाम्पार्डले चेल्सी सम्हालेयता टोलीले पहिलो जित हात पारेको हो । लाम्पार्डको प्रशिक्षणमा चेल्सीले खेलेका तीनै खेल हारेको थियो । 

युनाइटेडको हार, चेल्सीको जित

लाम्पार्डले आफू आएपछि अब्राहमलाई विश्वास राख्दै आएका थिए । तर पछिल्ला तीनै खेलमा अब्राहमले गोल गर्न सकेका थिएनन् । २१ वर्षे अब्राहमको गोलमा चेल्सीले क्यारो रोडमा तेस्रो मिनेटमै अग्रता लियो ।


टड कान्टवेलले त्यसको तीन मिनेटपछि नै नर्विचलाई बराबरीमा ल्याए । मासोन माउन्टले १७ औं मिनेटमा पुनः चेल्सीलाई अग्रता दिलाए । टिमु पुकीले सिजनको तेस्रो खेलमा पाँचौं गोल गरेपछि नर्विच ३० औं मिनेटमा फेरि बराबरीमा आयो । अब्राहमले ६८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।


पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले पराजित चेल्सीलाई त्यसपछि लेस्टरले बराबरीमा रोकेको थियो । म्यानचेस्टर युनाइटेड भने ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएको छ । सन् १९८९ यता प्यालेसले पहिलोपल्ट युनाइटेडलाई उसैका मैदानमा पराजित गरेको हो । जोर्डन आयुबको गोलमा प्यालेसले ३२ औं मिनेटमा खाता खोल्यो ।


क्रिस्टल प्यालेसविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेपछि म्यानचेस्टर युनाइटेडका मार्कुस रसफोर्ड (रातो) । तस्बिर : एपी

डानियल जेम्सले ८९ औं मिनेटमा गोल गरेपछि युनाइटेडले पराजय टार्ने सम्भावना देखाएको थियो । प्याट्रिक भान आनहोल्टले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरी प्यालेसलाई पहिलो जित दिलाए । गत साता पनि युनाइटेडलाई वोल्भसले १–१ को बराबरीमा रोकेको थियो ।


वैकल्पिक हार्भे बार्न्सले सानदार गोल गरेपछि लेस्टरले सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको छ । जेमी भार्डीले पहिलो हाफमा लेस्टरको खाता खोलेका थिए । साउथह्याम्पटनले ब्राइटनलाई २–० ले र वेस्ट ह्यामले वाटफोर्डलाई ३–१ ले पराजित गरेको छ । शुक्रबार राति नवप्रवेशी एस्टन भिल्लाले एभरटनलाई २–० ले पराजित गरेको थियो ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?