कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विमलको आशा

माल्दिभ्सको अनुभवबाट नेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा सहयोग पुर्‍याउने विमल घर्तीमगरको आशा
राजु घिसिङ

काठमाडौँ — विमल घर्तीमगर ६ वर्षअघि काठमाडौं भएको साफ च्याम्पियनसिपबाट उदाएका थिए । बंगलादेशविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका उनले दोस्रो खेलमै अन्त्यतिर मैदानमा प्रवेश गर्दै पाकिस्तानविरुद्ध बराबरीका लागि सनसनीपूर्ण गोल गरे, जसले उनलाई चर्चित बनाइदियो ।

विमलको आशा

त्यति बेला १५ वर्षे किशोर उनी सबैभन्दा बढी एक्सपोजर पाएका नेपाली फुटबलर हुन् ।


एन्फा एकेडेमीमा हुर्किएका विमलले साफ (सन् २०१३) लगत्तै नेदरल्यान्ड्सको शीर्ष डिभिजन क्लब टेन्टेमा ट्रायल दिँदै युरोपको आफ्नो परीक्षण सुरु गरेका थिए । उनी बेल्जियमको माथिल्लो डिभिजन क्लब एन्डरलेचमा ट्रेनिङ गर्न पुगे । त्यहाँसहित बेल्जियमकै गेंक र ब्रुगमा ट्रायल दिए ।


फ्रान्सको लिग वान क्लब ट्रोयसमा विमलले अनन्त तामाङ र अञ्जन विष्टसँगै ट्रायल दिए । स्पेनी एमेच्योर क्लब मार्बेला युनाइटेडमा पनि प्रशिक्षण गरे । त्यसपछि अर्को विदेश यात्राको रूपमा कोलकाताको मोहन बगानबाट आई लिग खेल्न पुगे । तर उनले भारतीय फुटबलमा गतिलो छाप छाड्न सकेनन् ।


स्वदेशमा सुदूरपश्चिमबाट राष्ट्रिय लिग र च्यासल युवा क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका विमल गत मे महिनामा फेरि विदेशी लिगमा पुगे । यसपल्ट उनको गन्तव्य बन्यो माल्दिभ्स । उनी एक वर्षका लागि टीसी स्पोर्ट्स क्लबमा अनुबन्धित भए, जहाँ नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङले दुई सिजन खेलिसकेका छन् । माल्दिभ्सको धिवेही प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन हो टीसी स्पोर्ट्स । उसलाई पहिलोपल्ट माल्दिभ्सको लिग च्याम्पियन बनाउन किरणको पनि महत्त्वपूर्ण योगदान रहेको थियो ।


धिवेही प्रिमियर लिगमा ९ क्लब सहभागी छन् । यो सिजन (सन् २०१९) को सात खेलसम्म टीसी स्पोर्ट्स १२ अंकसहित चौथो स्थानमा रहेको छ । ‘मैले चार खेल खेलेको छु र त्यसमा दुई गोल गरे,’ २३ वर्षीय विमलले भने । उनी विश्वकप २०२२ छनोटको तयारीमा राष्ट्रिय टिममा सहभागी हुनका लागि १० दिनअघि स्वदेश फर्किएका थिए । विश्वकप छनोटको तयारीमा नेपालले मलेसियन सुपर लिग क्लब जोहर दारुल ता’जिमविरुद्ध सोमबार मलेसियामा प्रतिस्पर्धा गर्दै छ । विमल २३ खेलाडीको टिमसँगै शुक्रबार मलेसिया प्रस्थान गरे ।


लिगमा निलान्दोविरुद्ध १–० को जितमा गोल गर्दै म्यान अफ द म्याच चुनिएका विमलले अर्को गोल इगल्सविरुद्ध १–१ भएको खेलमा गरेका थिए । ‘त्यहाँ (माल्दिभ्स) को फुटबल हाम्रोभन्दा राम्रो रहेछ,’ उनले सुनाए, ‘लिग राम्रो रहेछ । विदेशी खेलाडी पनि स्तरीय छन् । यस्तो लिगमा पाएको अवसरले मेरो करिअरलाई राम्रो गर्न सहयोग पुर्‍याउने विश्वास छ ।’


माल्दिभ्सका भेट्रान फरवार्ड अली अस्फाकको टिम ग्रिन स्ट्रिटविरुद्ध २–२ मा टुंगिएको खेलमा पनि मैदानमा रहेका विमलले त्यहाँको अनुभवले राष्ट्रिय टिममा आफ्नो भूमिकालाई पनि सहज बनाउने बताए ।


‘होम एन्ड अवे’ का आधारमा भएको फोकाइदोविरुद्ध च्यारिटी खेलमा पनि दुई गोल गरेका विमलले भने, ‘माल्दिभ्स पुगेको साढे २ महिना भयो । राम्रै अनुभव भयो ।’ स्वदेशमा फरवार्डको भूमिका खेल्दै आएका उनलाई टीसी स्पोर्ट्समा भने प्रशिक्षक मोहम्मद अतिफले त्यो जिम्मेवारी दिएका छैनन् । ‘एक्लो फरवार्डको रूपमा स्पेनी खेलाडीलाई खेलाइरहेका छन्,’ विमलले भने, ‘मलाई कहिले विंगर र कहिले मिडफिल्डरका रूपमा खेलाइरहेका छन् । त्यसैमा राम्रो गर्ने प्रयास गरिरहेको छु ।’


उनी साउदी अरेबियाको रियादमा दुई साताको ‘क्याम्प’ पछि मालेमा एक खेल खेलेर स्वदेश फकिएका हुन्। विश्वकप छनोटमा कुवेत (१९ भदौ) र चाइनिज ताइपेई (२४ भदौ) मा प्रतिस्पर्धा गरेपछि क्लबको जिम्मेवारी निर्वाह गर्न माल्दिभ्स फर्किने छन् ।


उनी मलेसिया र चाइनिज ताइपेईविरुद्ध भएका मैत्रीपूर्ण खेलमा नेपाली टिममा थिएनन् । ‘त्यस बेला घाइते थिए ।

ह्यामस्ट्रिङ भएको थियो । त्यसैले फिट थिइनँ,’ उनले भने, ‘अहिले फिट छु । प्रदर्शन राम्रै गर्छुजस्तो लाग्छ । टिमको नतिजा पनि राम्रै आउँछ जस्तो लाग्छ ।’ उनले राष्ट्रिय टिमबाट ८ गोल गरेका छन् ।


उनी बंगबन्धु गोल्डकप, सोलिडारिटी कपको उपाधि र यू–२३ टिमको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता टिमका महत्त्वपूर्ण सदस्य हुन् । उनले नेपाली टिमको अग्रपंक्ति सम्हाल्दै मैदानमा ओर्लन युवा फरवार्ड अभिषेक रिजाल र विमल राना तथा नवयुग श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।


‘विमल राम्रो खेलाडी’


याेहान कालिन

मुख्य प्रशिक्षक, नेपाल


विमल राम्रो खेलाडी हुन् । उनले राम्रै लिग खेलिरहेका छन् । फिट छन् । ट्रेनिङमा निकै मिहिनेत गरिरहेका छन् । उनी कुशल फरवार्ड हुन् । शारीरिक रूपमा बलिया छन् । उनले टिममा राम्रो प्रभाव पार्न सक्छन् ।


उनको उपस्थिति टिमका लागि राम्रो पक्ष हो । उनी अझै युवा खेलाडी हुन् । उनको स्तरलाई अहिलेभन्दा माथिल्लो तहमा पुर्‍याउन सहयोग गर्नुपर्छ । त्यसका लागि उनी आफैं पनि मिहिनेत गरिरहेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?