कप्तानमा सुजल

काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि सुजल श्रेष्ठलाई कप्तान बनाएका छन् ।

कप्तानमा सुजल

नियमित कप्तान विराज महर्जन २३ सदस्यीय टिममा स्थान बनाउन असफल भएपछि सुजलले एक खेलका लागि नेपालको कप्तानी गर्ने अवसर पाएका हुन् ।


‘आशा थियो, पाएँ । यो मेरो लागि सम्मान हो,’ कप्तानको जिम्मेवारीबारे सुजलले शुक्रबार मलेसियातर्फ लाग्नुअघि भने, ‘तर मलाई मैदानमा खेल्ने टिमका ११ खेलाडी नै कप्तान हो जस्तो लाग्छ ।’ जोहर दारुलविरुद्ध सोमबार मलेसियामा हुने खेलबारे २७ वर्षीय उनले भने, ‘सबै खेलाडीले मिहिनेत गरेका छन् । त्यसैले विश्वकप छनोटको तयारी खेलमा राम्रै गर्ने आशा गरेका छौं ।’


गत वर्षको बंगबन्धु गोल्डकपमा प्यालेस्टाइनविरुद्ध १–० ले पराजित भएको खेलमा पनि उनले नीराजन खड्का (विराजबाहिर हुँदाका कप्तान) मैदानबाट बाहिरिएपछि ‘आर्मब्यान्ड’ लगाउने अवसर पाएका थिए । विंगर सुजलले मार्च ११ २०११ मा भुटानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । उनले एएफसी सोलिडारिटी कप २०१६ को फाइनलमा मकाउविरुद्ध १–० को जितमा निर्णायक गोल गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए ।


नयाँ कप्तानबारे प्रशिक्षक कालिनले भने, ‘सुजल कुशल खेलाडी हुन् । ट्रेनिङमा एकदमै मिहिनेत गर्छन् । अनुशासित छन् । उनी टिमका रोल मोडल नै हुन् । त्यसैले उनलाई जोहर दारुलविरुद्धको खेलमा कप्तान बनाइएको हो,’ उनले थपे, ‘मेरा लागि टिमका २३ खेलाडी नै कप्तान हुन् । यी सबै खेलाडीले कुनै दिन आर्मब्यान्ड लगाउने छन् ।’


पछिल्लोपल्ट विराज बेन्चमा छँदा उनले गोलकपिर किरण चेम्जोङलाई कप्तान बनाएका थिए । जापानी क्लबमा ट्रायल दिन पुगेकाले किरण मलेसिया यात्रामा सहभागी छैनन् । उनीसँगै इन्डोनेसियन लिग वान क्लब पर्सिजा जकार्तामा व्यस्त रहेका मिडफिल्डर रोहित चन्द विश्वकप छनोटमा मात्रै नेपाली टिममा फर्कने छन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?