३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

इंग्ल्यान्ड ६७ मा अलआउट

एएफपी

लिड्स — अस्ट्रेलियाका जोस हेजलउडले ५ विकेट लिएपछि इंग्ल्यान्ड एसेज शृंखलाको तेस्रो टेस्टको दोस्रो दिन शुक्रबार ६७ रनमै अलआउट भएको छ । इंग्ल्यान्डलाई ५ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याउन यो टेस्ट जित्नैपर्नेछ ।

योर्कसायरको मुख्यालयमा अस्ट्रेलियालाई १ सय ७९ रनको मध्यम स्कोरमा अलआउट गरेपछि इंग्ल्यान्ड ब्याटिङमा आएको थियो । जोफ्रा आर्चरले ४५ रन खर्चेर ६ विकेट लिँदै बिहीबार अस्ट्रेलियालाई तहसनहस पारे । तर हेजलउडले ३० रन खर्चेर ५ विकेट लिएपछि इंग्ल्यान्डको इनिङ्स २८ ओभरभित्रै खुम्चियो र टोली पहिलो इनिङ्सका आधारमा १ सय १२ रनले पछाडि पर्‍यो ।


जो डेनलीको १२ रनमात्र इंग्ल्यान्डका खेलाडीले बनाएको दोहोरो स्कोर थियो । अस्ट्रेलियाका मार्नुस लाबुसचेन्नीले एक्लै बनाएको ७४ रनको स्कोरभन्दा इंग्ल्यान्डले ७ रन कम बनाएको हो । स्टार ब्याट्सम्यान स्टिभ स्मिथ घाइते भएपछि उनको स्थानमा आएका हुन् लाबुसचेन्नी ।


लाबुसचेन्नीले ओपनर डेविड वार्नर (११) सँग तेस्रो विकेटमा १ सय ११ रन जोडेका थिए । इंग्ल्यान्डका कुनै ब्याट्सम्यानले यो क्षमता देखाउन सकेनन् । अस्ट्रेलियाको सानदार बलिङसामु उनीहरू निरीहजस्तै देखिए ।


पछिल्लो समय केही स्कोर हेर्ने हो भने इंग्ल्यान्डको पतनमा ठूलो आश्चर्य नहुन सक्छ । इंग्ल्यान्ड २०१८ मा अकल्यान्डमा न्युजिल्यान्डसँग ५८, वेस्ट इन्डिजसँग २०१९ मा ब्रिजटाउनमा ७७ र गत महिना लर्डसमा आयरल्यान्डसँग ८५ रनमै अलआउट भएको थियो ।


इंग्ल्यान्डको अर्को चिन्ता विश्वकप विजयी ओपनर जेसन रोयप्रति छ । उनले शृंखलाको चार इनिङ्समा ४० रनमात्र बनाउन सकेका छन् । ९ रन बनाएका उनी हेजलउडको बलमा ड्राइभ गर्न खोज्दा वार्नरबाट पहिलो स्लिपमा क्याच भए । वार्नरले पहिलो स्लिपमा चार क्याच लिए ।


रुट क्रिजमा हुँदा योर्कसायरका घरेलु दर्शकको न्यानो अभिवादन पाए । इंग्ल्यान्डका उत्कृष्ट ब्याट्सम्यान दोस्रो बलमै आउट भए । उनी लगातार दोस्रो पटक शून्यमा आउट भएका हुन् । बराबरीमा सकिएको लर्डसको पहिलो टेस्टमा पनि उनले दोस्रो इनिङ्समा खाता खोल्न सकेका थिएन । त्योसँगै इंग्ल्यान्डको पतन सुरु भयो ।


अस्ट्रेलियाले दोस्रो दिन पछिल्लो स्थितिमा ४ विकेट गुमाई १३३ रन बनाएर २ सय ४५ रनको अग्रता लिएको छ ।

वर्षा बाधक

वर्षाले दोस्रो टेस्टको दोस्रो दिन पनि प्रभावित पारेको छ । त्यसमा ट्रेन्ट बोल्ट र टिम साउथीले न्युजिल्यान्डलाई केही आशा देखाएका छन् ।


दुवै तीव्र गतिका बलरले २–२ विकेट बाँडेपछि श्रीलंका भोजन समयको खेलमा १४४–६ को स्थितिमा थियो । त्यसपछि वर्षाले थप खेल हुन दिएन । कप्तान दिमुथ करुणारत्ने ६५ रन बनाई आउट भए । गलको पहिलो टेस्ट जितेर श्रीलंका शृंखलामा अगाडि छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?