१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सान्त्वना खुसी

कुशल तिमल्सिना

काठमाडौँ — सुधारिएको प्रदर्शनसहित नेपालले पाँचौं एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानविरुद्ध सान्त्वना जित निकालेको छ । शुक्रबार त्रिभुवन आर्मीको कभर्डहलमा अफगानलाई ३–१ को सेटमा हराएपछि घरेलु टोली नेपालले पाँचौं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको हो । 

सान्त्वना खुसी

नेपालको परम्परागत समस्याका रूपमा रहेको ब्लक र डिफेन्स अफगानसँग उल्लेख्य सुधार देखियो । समूह चरणमा दुवै खेलमा सोझो सेटमा पराजित नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानमाथि हाबी भएको हो ।


अफगानलाई नेपालले दुई साताबीचमा तेस्रोपल्ट पराजित गरेको हो । प्रतियोगिताअघि दुई खेलको मैत्री शृंखला नेपालले जितेको थियो ।


यसअघिका दुवै खेलमा सबै सेट गुमाएको नेपालका लागि पहिलो सेट जित्नु नै आत्मविश्वास फर्काउने कडी बन्यो । नेपालले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा सुरुआती अग्रता लिएर पनि अन्तिमसम्म जोगाउन नसक्दा २३–२५ ले गुमायो । तेस्रो र चौथो सेटमा नेपालले त्यस्तो प्रदर्शन गर्‍यो, जुन प्रशिक्षक हान अविङले पहिलो खेलदेखि नै अपेक्षा गरेका थिए ।


प्रशिक्षक हानले हारेका दुई खेलको तुलनामा शुक्रबार सुरुआती सेटमा युवा खेलाडीलाई अवसर दिए । उनीहरू नै खेलमा निर्णायक प्रदर्शन गरे । अनुभवी धनबहादुर भट्ट र कुलबहादुर थापाको स्थानमा मिडिल ब्लकर दीपकराज जोशी, स्पाइकर राजेन्द्र विष्टले अवसर पाए । तेस्रो सेटमा नरेन्द्र गिरीलाई प्रतिस्थापन गरेका राजकुमार निरौलाले पनि अपोजिट पोजिसनबाट उत्कृष्ट प्रदर्शन गरे । दुर्गा खड्का र दीपकले अफगानी आक्रमणको डटेर ब्लक गरे ।


तेस्रो सेटमा सुरुआत प्रतिस्पर्धात्मक थियो । ५–३ को अग्रताबाट अघि बढेको नेपालले लगातार स्पाइक र ब्लकमा सफलता पायो । १२–१२ को बराबरीपछि नेपालले लगातार ६ अंक जोडेपछि सेटको जित निश्चितजस्तै भयो । नेपालले तेस्रो सेट २५–१८ ले जितेर २–१ को अग्रता बनायो । सेमिफाइनलमा पुग्न असफल भएपछि दबाबरहित देखिएको नेपालले चौथो सेटमा २६–२४ को जितका साग प्रतियोगितामा पहिलो जित र पाँचौं स्थान सुरक्षित गरेको हो ।


प्रतिस्पर्धात्मक निर्णायक सेटमा कुनै पनि समय नेपालले २ भन्दा बढी अंकको अग्रता लिन सकेको थिएन । कभर्डहलमा भरिभराउ घरेलु समर्थकको हुटिङबीच नेपाली खेलाडीले अफगानिस्तानलाई दबाबमा राख्न सफल रहे ।

यही प्रतियोगिताका लागि दुई महिनाअघि मुख्य प्रशिक्षकको जिम्मेबारी पाएका डच प्रशिक्षक हान नेपालको पहिलो र सान्त्वना जितबाट खुसी देखिए । ‘मैले यस्तै प्रदर्शन खोजेको थिएँ, अफगानिस्तानलाई हालै हामीले पराजित गरेका कारण पनि खेलाडीमा आत्मविश्वास देखियो,’ ५८ वर्षीय प्रशिक्षक हानले थपे, ‘अघिल्ला दुई खेलमा मेरा खेलाडीले केही दबाब झेले, अहिले दबाबमुक्त भएर खेल्दा उनीहरूले अफगानविरुद्ध आफ्नो स्वाभाविक खेल देखाए ।’


‘अघिल्ला दुई खेलमा हामीले आफ्नो आत्मविश्वास गुमाएका थियौं । यो जितले केहि हदसम्म कम गरेको छ । हामीले यस्तै खेल खेलिरहनुपर्छ । यति ठूलो प्रतियोगिता आयोजनाका लागि म नेपाल भलिबल संघप्रति अनुग्रहित छु,’ हानले भने ।


नेपाली खेलाडीमा अनावश्यक दबाबमा आउने र सेटमा पछि परेपछि खेल सकिएझै गरी निराश बन्ने शैलीबारे प्रशिक्षक हानले यसअघि पनि असन्तुष्टि जनाएका थिए । यस्तो मनोवैज्ञानिक समस्याको समाधानका लागि धेरैभन्दा धेरै एक्स्पोजर आवश्यक देखेका छन् ।


पहिलो जितपछि उनले यही कुरा दोहोर्‍याए । ‘धेरैभन्दा धेरै प्रतिस्पर्धात्मक खेल र नियमित अभ्यासबिना यस्ता प्रतियोगितामा सफलता हासिल गर्ने सपना देख्नु व्यर्थ हुन्छ,’ उनले भने, ‘हाम्रा खेलाडीमा क्षमता छ, उनीहरू राम्रो भलिबल खेल्न सक्छन्, उनीहरूसँग नभएको कुरा अनुभवमात्र हो । त्यसलाई अन्त्य गर्नुपर्छ । क्षमतावान खेलाडीलाई विदेशमा खेल्ने वातावरण मिलाउनुपर्छ । जाडो मौसममा धेरैभन्दा धेरै क्लब च्याम्पियनसिप आयोजना गर्ने र बर्खासमयमा नियमित प्रशिक्षणमा राख्ने हो भने समस्या समाधान हुन्छ ।’


प्रशिक्षक हानले किर्गिस्तानविरुद्धको पहिलो खेलमा ३–० को सेटमा पराजित भए पनि नेपालले अहिलेसम्मकै उत्कृष्ट भलिबल खेलेको दाबी गरे । ‘प्रशिक्षकको रूपमा मैले हेर्दा प्राविधिक पक्षमा हामीले सबैभन्दा राम्रो भलिबल खेलेको किर्गिस्तानविरुद्ध हो । हामीले त्यस खेल जित्न सकेनौं किनभने किर्गिस्तान हामीभन्दा धेरै माथिल्लो स्तरको टिम हो । त्यहाँका बालबालिकालाई १३–१४ वर्षको उमेरदेखि नै भलिबल सिकाइन्छ । उसले भोलि (शनिबार) उज्वेकिस्तानबिरुद्ध खेल्दैछ, त्यो खेल निकै नै प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भने ।


अफगानिस्तानका मुख्य प्रशिक्षक मोहम्मद युसुफ सदेकले आफ्नो टोलीले प्रतियोगिताकै सबैभन्दा खराब प्रदर्शन गरेको स्वीकारे । ‘यसअघि हामीले गत संस्करणको विजेता तुर्कमेनिस्तानसँग एक सेट जितेका थियौं, उपविजेता बंगलादेशलाई पराजित गर्‍यौं । यस खेलमा मैले फरक टेक्निक प्रयोग गरेको थिएँ । तर मेरा खेलाडीहरू पूर्ण असफल भए । सबैले आआफ्नो पोजिसनमा शतप्रतिशत खेल्न सकेनन्,’ प्रशिक्षक युसुफले भने ।


समग्र प्रतियोगिता आफूहरूका लागि उत्कृष्ट अनुभवको रूपमा रहेको भन्दै उनले नेपालको राष्ट्रिय खेल र यसको गरिमा कभर्डहलमा उपस्थित समर्थकले अझै उँचो पारेको बताए । प्रशिक्षक युसुफले अफगानिस्तानमा नियमित भलिबल प्रतियोगिता नहुने भएकाले आफ्नो टिमको स्तरोन्नतिका लागि कठिन भएको दुखेसो पनि पोखे ।


बंगलादेशलाई ३–० को सोभो सेटमा पराजित गरी तुर्कमेनिस्तान तेस्रो भएको छ । गत संस्करणको विजेता र उपविजेता यी टोली सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि खेलेका हुन् । जहाँ तुर्कमेनिस्तानले बंगलादेशविद्ध २५–१९, २५–२०, २५–१९ को सेटमा सहज जित निकालेको हो ।


चुनौती स्विकार्य छ : प्रशिक्षक हान

डच प्रशिक्षक हानको अनुबन्ध दुई सातापछि समाप्त हुँदै छ । तर नेपालले मंसिरमा घरमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंकाजस्ता एसियालीस्तरका उत्कृष्ट टोलीसँग खेल्नुपर्छ ।


उनी विश्व भलिबल महासंघ (एफआईभी) मार्फत नेपालको प्रशिक्षण सम्हालेका हानले अनुबन्ध थप गर्न आफू तयार रहेको संकेत गरेका छन् ।


‘मैले अन्तर्राष्ट्रिय भलिबल महासंघको प्रशिक्षकको हैसियतमा नेपालको प्रशिक्षण सम्हालेको हो । मेरा लागि यो निकै ठूलो अनुभव रह्यो । यहाँका खेलाडीहरू निकै उत्कृष्ट छन् । मैले आफूले जानेको धेरै कुरा बाँड्ने प्रयास गरें,’ उनले भने, ‘जहाँसम्म मेरो सम्झौताको कुरा छ । म नयाँ चुनौतीलाई सधैं खुला छु । यो नेपाल भलिबल संघ र एफआईभीले निर्णय गर्ने कुरा हो । मेरो सम्झौता सेप्टेम्बर ५ मा सकिँदै छ । त्यसपछि के गर्ने योजना बनेको छैन ।’


उनले ठूला प्रतियोगिताअघि नेपालले तयारीमा विशेष ध्यान दिनुपर्ने देखेका छन् । क्लबस्तरको प्रतियोगितामा खेलाडीलाई व्यस्त बनाउनुका साथै देशमा र विदेशमा पनि प्रशिक्षण तथा मैत्रीपूर्ण शृंखलामा सहभागी हुनैपर्ने उनको धारणा छ । ‘दक्षिण एसियामा भारत निकै बलियो टिम हो । यस प्रतियोगितामा हामी माल्दिभ्ससँग सोझो सेटमा पराजित भयौं । साग खेलकुदका लागि दुई साताको अभ्यास त्यसपछि २ वा ३ मैत्रीपूर्ण खेल, यस्तो क्रम निरन्तर गर्न सक्यौं भने माल्दिभ्सलाई हराउन कठिन हुँदैन, भारतलाई पनि कडा चुनौती दिन सक्छौं,’ उनले भने ।


नेपालमा भलिबल टिम र समर्थकबीच दूरी देखेको उनले बताए । समर्थक पनि टिमकै सदस्य भएको बताएका हानले भने, ‘नेपाली खेलाडीले आफ्नो खेलप्रति अधिक गर्व गर्नुपर्छ । जित सधैं रहँदैन, हारमा पनि खुसी हुन सक्नुपर्छ । समर्थक अतिरिक्त खेलाडीको भूमिकामा आफ्नो टिमको हौसला बढाइरहेका हुन्छन् । मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्धको दोस्रो खेल हामीले समर्थककै कारणले जित्न सफल भयौं । खेलाडी र समर्थकबीच केही दूरी छ त्यसलाई कम गर्नुपर्छ ।’

प्रकाशित : भाद्र ७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?