कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एभीसी सेन्ट्रल जोन भलिबल : नेपाल समूह चरणमै असफल

कुशल तिमल्सिना

काठमाडौँ — माल्दिभ्ससँग बुधबार ३–० को सोझो सेटमा पराजित भएपछि नेपाली भलिबल टोली घरमै आयोजित एभीसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक उपलब्धि हासिल गर्न असफल भएको छ ।

एभीसी सेन्ट्रल जोन भलिबल : नेपाल समूह चरणमै असफल

यसअघिका चारै संस्करणमा कम्तीमा चौथो भएको नेपाल यसपालि सेमिफाइनलमा पनि पुग्न सकेन । समूह ‘ए’ का दुवै खेलमा पराजित हुँदै नेपाल बाहिरिएको छ । सोमबार नेपालले किर्गिस्तानसँग पनि सोझो सेटमै हार बेहोरेको थियो ।


खचाखच भरिएको लगनखेलस्थित आर्मी क्लबको कभर्डहलमा नेपालले घरेलु माहोलको सदुपयोग गर्न सकेन । टोली अनावश्यक दबाबमा देखियो । परम्परागत समस्याको रूपमा रहेको ब्लक र डिफेन्समा नेपालको प्रदर्शन झनै खस्किएको थियो । कप्तान इम रानामगरले पनि टिम सन्तुलन हुन नसक्नु नै हारको मुख्य कारणको रूपमा औंल्याए । उनले भने, ‘आज हाम्रो दिन थिएन, हामी हाम्रै कारणले पराजित भयौं ।’


पहिलो सेट २५–२२ ले सुम्पँदा कुनै पनि समयमा नेपालले अग्रता लिन सकेन । तर, दोस्रो सेटमा नेपालले सुरुआत राम्रो गरेको थियो । समर्थकको उत्साहमा चलायमान बनेको नेपालले कुनै समय ९–६ स्कोरको अग्रता लिएको थियो । धनबहादुर भट्ट र हरि अधिकारीले लगातार स्पाइकमा गल्ती गरेपछि माल्दिभ्सले अन्तर छोटयायो । अग्रता उल्टाउन सफल माल्दिभ्स दोस्रो टेक्निकल टाइमआउटसम्म १३–१६ ले अगाडि बढ्यो । दोस्रो सेट माल्दिभ्सले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।


तेस्रो सेटसम्म पुग्दा नेपालको हातबाट खेल फुत्किसकेको थियो । नेपाली खेलाडीहरूले स–साना गल्ती गर्न थालेका थिए भने प्रशिक्षक हान अविङले कप्तान इम रानामगर र लिब्रो ईश्वर थापाबाहेक नियमित सेटका चार खेलाडी परिवर्तन गरिदिए । डेब्यू प्रतियोगिता खेलिरहेका टेकराज अवस्थीले पहिलो अवसर पाए । राजकुमार निरौला र दीपकराज जोशीले पहिलो खेल खेले । नेपालले तेस्रो सेटमा झनै खस्किएको प्रदर्शनसहित २५–१४ ले खेल सुम्पियो ।


धनबहादुरले खेलभर स्पाइकमार्फत ७ अंक जोडे । राजेन्द्र ६ स्पाइक र ब्लक १ बाट अंक जोडे । माल्दिभ्सका इस्लाम साजिदले सर्वाधिक १८ स्पाइक अंक जोडेका थिए । मिडिल ब्लकरद्वय दीपकराज जोशी र हरि अधिकारीले २–२ ब्लक अंक जोडेका थिए ।

‘पहिलो र दोस्रो सेटमा हामीले राम्रो भलिबल खेल्यौं, पहिलो सेटमा माल्दिभ्स हामीभन्दा केही राम्रो थियो । दोस्रो सेटमा हामीले ८–४ को अग्रता बनाएका थियौं । तर केही अनावश्यक गल्तीका कारण सेट हाम्रो हातबाट गुम्यो,’ नेपालका मुख्य प्रशिक्षक हानले भने, ‘तेस्रो सेटमा हामीले विल्कुलै फरक खेल खेल्यौं । भलिबलमा खेल सकिन ३ सेट हार्नुपर्छ । यदि २ सेटमा पछि परेको स्थितिमा पनि जितको सम्भावना हुन्छ । तर खेलाडीहरू मनोवैज्ञानिक रूपमा कमजोर भए, निराश देखिए । कप्तान इम र राजेन्द्र (विष्ट) को दुर्भाग्यशाली सब्स्टिच्युटले हाम्रो टिममै आघात पर्‍यो । यस्तो हुनुहुँदैनथ्यो ।’


माल्दिभ्ससँग स्पाइक रोक्दै नेपाली खेलाडी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रशिक्षक हानले नेपाली टोलीको ब्लकमा सन्तुष्टि व्यक्त गरे । ‘ब्लक पोजिसन ठीकठाक नै हो । तर हाम्रो कौशल पर्याप्त थिएन । हामीले त्यसमा धेरै सुधार गर्नुपर्नेछ, धेरै अभ्यास गर्नुपर्छ । हामीले एकपल्ट ब्लक गर्न सक्छौं भने लगातार गर्न सक्नुपथ्र्यो,’ हानले भने, ‘हामीले अर्को अप्रिय पाठ सिक्यौं । हामीले यस्ता खेलहरू धेरै खेल्नुपर्छ । सम्भवत: हामीले शुक्रबार अर्को खेल खेल्नेछौं, घरेलु समर्थकमाझ त्यो खेलमा पनि धेरै सिक्न पाइनेछ ।’


दुई महिनायता नेपाली टिमको प्रशिक्षण सम्हालेका डच प्रशिक्षक हानले युवा खेलाडीलाई अधिक अवसर दिएका थिए । किर्गिस्तानविरुद्ध सुरुआती सेटमा खेलेका अनुभवी स्पाइकर कुलबहादुर थापाको स्थानमा डेब्यू प्रतियोगिता खेलेका राजेन्द्र विष्टलाई ल्याइएको थियो । सम्भवत: प्रशिक्षक हानले युवा जोस प्रयोग गर्न खोजेका थिए । पहिलो सेटमा राजेन्द्रले औसत प्रदर्शन गरे । त्यसपछिका दुई सेटमा उनी कमजोर देखिए ।


कुलबहादुर, राजकुमार निरौलालगायतका अनुभवी खेलाडीलाई समेटेर सेट तयार गर्न पाएको भए नतिजा अर्कै हुन्थ्यो कि ? कप्तान इम भन्छन्, ‘हाम्रा युवा खेलाडीको क्षमता नजर अन्दाज गर्न खोजेको होइन, तर यति ठूलो प्रतियोगिताका लागि अनुभव धेरै आवश्यक हुन्छ, मैले प्रशिक्षकसँग पहिल्यै यसबारे कुरा गरेको पनि थिएँ ।’


प्रतियोगिता सुरु हुनुअघि नेपालले फाइनलमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको थियो । लगातार दुई खेलमा देखिएको आफ्नो स्तरपछि नेपाली टोली नराम्ररी झस्किएको छ । कप्तान इमले दुई महिनाको तयारीमा टोलीले सके जति प्रदर्शन गरेको दाबी गरे ।


‘यो प्रतियोगिता नेपालमै आयोजना हुन्छ भनेर सन् २०१७ मै निश्चित भइसकेको थियो । तर हामीले दुई महिनाको मात्र तयारी गर्‍यौं, मैत्रीपूर्ण खेल खेल्न पाएनौं, छोटो समयमा हामीले जति तयारी गर्‍यौं त्यति प्रदर्शन गर्‍यौं,’ हारपछि निराश कप्तान इमले थपे, ‘मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद नेपालमै हुँदै छ । त्यसका लागि अहिलेदेखि नै स्तरीय तयारी गर्न पायौं भने माल्दिभ्सलाई हराउन सक्छौं ।’ उनले वर्तमान विदेशी प्रशिक्षकको भविष्यबारे नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्ले निर्णय लिनुपर्ने बताए । भलिबल संघले यही प्रतियोगिताका लागि डच प्रशिक्षक हानलाई अनुबन्ध गरेको थियो ।


सेमिफाइनल समीकरण पूरा

बुधबार उज्वेकिस्तानले अफगानिस्तानविरुद्ध ३–० र तुर्कनेमिस्तानले बंगलादेशविरुद्ध ३–१ को सेटमा जित निकाल्दै समूह ‘बी’ बाट क्रमश: विजेता र उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । समूह ‘ए’ बाट किर्गिस्तान समूह विजेता र माल्दिभ्स उपविजेता भएर सेमिफाइनल पुगे । बिहीबार किर्गिस्तान र तुर्कमेनिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्स सेमिफाइनल भिड्ने छन् । उज्वेकिस्तानले २५–२३, २९–२७, २९–२७ र तुर्कमेनिस्तानले २५–२२, २५–१६, २७–२९, २५–१६ को सेटमा जित पाएका थिए ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?