कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनाइटेड रोकियो

(एएफपी)

वोल्भरह्याम्पटन — पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको छ । मोलिनक्स स्टेडियममा पोग्बाको पेनाल्टीलाई वोल्भसको गोलरक्षक रुई पेट्रिसियोले बचाएका थिए ।

युनाइटेड रोकियो

एन्थोनी मार्सियलको गोलमा ओले गनर सोल्सायरको टोलीले पहिलो हाफमा अग्रता लिएको थियो । खेल अधिकांश समय आफ्नो अधिनमा राख्यो । मार्सियलको प्रिमियर लिगमा यो दोस्रो गोल थियो । रुबेन नेभेसले उत्कृष्ट गोल गर्दै वोल्भसलाई ५५ औं मिनेटमा बराबरीमा ल्याए ।


पोग्बालाई पेनाल्टी हान्ने दिने निर्णय निकै कौतूहलपूर्ण थियो । ६९ औं मिनेटमा उनले पेनाल्टी गुमाउँदा युनाइटेडले त्यसको मूल्य चुकाउनुपर्‍यो । युनाइटेडबाट मार्कस रासफोर्डले पछिल्लो समय पेनाल्टी प्रहार गर्दै आएका थिए । गत साता युनाइटेडले चेल्सीमाथि ४–० को जित हात पार्दा पनि रासफोर्डले नै पेनाल्टीमा गोल गरेका थिए । गत सिजनमा उनले नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनमाथि पनि स्मरणीय पेनाल्टी गोल गरेका थिए ।


पोग्बाले गत सिजन सुरुयता प्रिमियर लिगमा चारपल्ट पेनाल्टी गोल गर्नबाट चुकाइसकेका छन् । जित हात पारेको भए युनाइटेड शीर्षस्थानमा जाने थियो । तर बराबरीको नतिजाले टोली चौथो स्थानमा खुम्चिएको छ । प्रिमियर लिग उपाधिका लागि सोल्सायरको टोलीले धेरै कार्य गर्न बाँकी रहेको देखाएको छ । सोल्सायरले वोल्भससँग उतारेको टोलीको औसत उमेर साढे २४ वर्षको थियो, जुन २०१६–१७ यताको सबैभन्दा कम उमेरको टोली हो ।


डानियल जेम्सले पहिलोपल्ट प्लेइङमा खेल्न पाए । सिजनको सुरुआतमा स्वान्सीबाट आएका २१ वर्षे जेम्सले चेल्सीविरुद्ध वैकल्पिक खेलाडीका रूपमा खेल्दै गोल गरेका थिए । चिलीका फरवार्ड एलेक्सिस सान्चेजलाई भने युनाइटेडले कुनै स्थान दिएको थिएन । उनलाई लोनमा लिन इन्टर मिलानले प्रयास गरिरहेको छ ।

प्रकाशित : भाद्र ४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?